काठमाडौं । नेपाल र जर्मनीबीचको विकास साझेदारीलाई निरन्तरता दिँदै जर्मनीले आगामी दुई वर्षका लागि ३.७६ करोड युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग उपलब्ध गराउने भएको छ।
मंगलबार सम्पन्न नेपाल–जर्मनी द्विपक्षीय विकास सहकार्य वार्तामा उक्त सहयोग रकमको घोषणा गरिएको हो। दुवै पक्षले ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रलाई आगामी सहकार्यका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने सहमति गरेका छन्।
जर्मन राजदूतावासका अनुसार यो सहयोग कार्यक्रम नवीकरणीय ऊर्जा प्रवर्द्धन, विद्युत् वितरण प्रणाली सुदृढीकरण, हरित तथा उत्थानशील कृषि, राजस्व सुधार, पूर्वाधार विकास, लैंगिक समानता, दिगो आर्थिक वृद्धि र वित्तीय पहुँच विस्तारजस्ता क्षेत्रमा केन्द्रित रहनेछ।
वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्माले गरेका थिए। जर्मन पक्षको नेतृत्व जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी संघीय मन्त्रालय (बीएमजेड) को दक्षिण एसिया महाशाखाकी प्रमुख बार्बरा शेफरले गरेकी थिइन्।
दुवै देशले विकास सहकार्यलाई थप प्रभावकारी बनाउँदै दीर्घकालीन तथा समावेशी विकास लक्ष्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।




