काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले गरिब तथा सीमान्तकृत समुदायलाई लक्षित सामाजिक सुरक्षा र कल्याणकारी कार्यक्रमहरूको बजेटमा कुनै कटौती नगरेको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले अघिल्ला सरकारले सञ्चालन गरेका यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइएको र आवश्यक स्थानमा थप सुदृढ बनाउने प्रयास गरिएको बताए।
विपक्षी सांसदहरूको आलोचनाप्रति प्रतिक्रिया दिँदै मन्त्री वाग्लेले सरकारले कुनै पनि लोककल्याणकारी कार्यक्रम बन्द वा कमजोर नपारेको दाबी गरे। बरु, ती कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने दिशामा काम भइरहेको उनको भनाइ थियो।
उनले सरकारले सामाजिक सुरक्षासम्बन्धी प्रतिबद्धतालाई कायम राख्दै लक्षित वर्गको हितलाई प्राथमिकतामा राखेको समेत उल्लेख गरे।




