काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाले सामूहिक खेती पद्धतिलाई प्रवर्द्धन गर्दै कृषि उत्पादन विस्तार गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यसलाई प्राथमिकताका साथ समावेश गरिएको उपमहानगरपालिकाले जनाएको छ।
योजनाअनुसार नगर क्षेत्रभित्र करिब २०० बिघा जमिनमा ड्रागन फ्रुट र मेवाजस्ता फलफूल खेतीमा लगानी विस्तार गरिनेछ। कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, सिँचाइ विस्तार, उन्नत बीउ तथा उचित मलको प्रयोगलाई प्राथमिकता दिँदै उत्पादन र उत्पादकत्व वृद्धि तथा लागत घटाउने लक्ष्य राखिएको छ।
नगरप्रमुख मीनाकुमारी लामाका अनुसार किसान सूचीकरणमार्फत सम्पूर्ण कृषकको तथ्याङ्क सङ्कलन गरिनेछ। त्यसपछि ‘कृषि तथा पशुजन्य वस्तुको उत्पादन, कृषकको पहिचान’ भन्ने मूल नाराका आधारमा कृषकको वर्गीकरण गरी परिचयपत्र वितरण गरिने योजना छ।
युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न ‘जेनजी’ लक्षित उत्पादन तथा आयआर्जन कार्यक्रम सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। साथै, नमूना क्षेत्र निर्धारण गरी विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्दै जैविक खेती प्रवर्द्धन गरिनेछ।
तरकारी तथा फलफूल उत्पादन विस्तारका लागि कृषक समूह र कृषि सहकारीमार्फत अम्बा, मेवा, लिची, केरा, ड्रागन फ्रुट र एभोकाडो लगायतका बालीको क्षेत्र विस्तार गरिनेछ। यसका लागि ‘बारीदेखि बजारसम्म’ अवधारणा लागू गरिने नगरपालिकाले जनाएको छ।
त्यस्तै, महिला किसानलाई प्रोत्साहन गर्न ‘इज्जतको कमाइ कोष’ मार्फत विशेष कार्यक्रम सञ्चालन गरिने योजना समेत समावेश गरिएको छ।




