२०८३ असार १२

रास्वपा केन्द्रीय समिति निर्वाचनमा मतगणना अघि विवाद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति निर्वाचन सम्पन्न भए पनि मतगणना प्रक्रिया विवादका कारण प्रभावित भएको छ। विशेषगरी प्रवास कमिटीका प्रतिनिधिहरूको मतदान विधिलाई लिएर पार्टीभित्र मतभेद देखिएको हो।

पार्टीको विधानअनुसार प्रवास कमिटीमा रहेका महाधिवेशन प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदान गर्न सक्ने व्यवस्था छ। सो कमिटीमा १६३ जना मतदानयोग्य प्रतिनिधि रहेको जनाइएको छ। तर प्रदेश नेतृत्वले उक्त प्रणालीप्रति असन्तुष्टि जनाउँदै आपत्ति उठाएको छ।

सातै प्रदेशका सभापतिहरूले प्रवास कमिटीको मतदान प्रक्रियाबारे प्रश्न उठाएपछि निर्वाचन सम्पन्न भए पनि मतगणना तत्काल सुरु हुन नसकेको निर्वाचन व्यवस्थापनमा संलग्न स्रोतले जनाएको छ।

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत पहिलो चरणमा ९९ सदस्यीय केन्द्रीय समितिका लागि मतदान भएको थियो। निर्वाचनमा कुल २ हजार ९५९ प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गरेका छन्।