२०८३ असार १२

मौसम पूर्वानुमान :देशभर आंशिक बदली, पहाडी क्षेत्रमा वर्षा र तराईमा तातो हावाको सम्भावना

काठमाडौं। हाल कोशी, मधेस र बागमती प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ भने गण्डकीका केही र लुम्बिनीको पूर्वी भेगमा पनि यसको प्रभाव देखिएको छ। अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ। बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

कोशी प्रदेशको तराई, मधेस प्रदेश तथा बागमती र गण्डकीका तराईका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ। यता, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावा चल्ने तथा बागमती र गण्डकीका तराईमा तापक्रम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति पनि कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा बदलीसँगै मेघगर्जन, चट्याङ र मध्यम वर्षाको सम्भावना रहनेछ। कोशीको तराई र मधेस प्रदेशका केही स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। महाशाखाले मौसमसम्बन्धी अद्यावधिक सूचनामा नियमित ध्यान दिन सर्वसाधारणलाई अनुरोध गरेको छ।