काठमाडौँ । मधेस प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत विनियोजन विधेयकमाथि छलफल यही असार १७ गतेदेखि सुरु हुने भएको छ। विषयगत मन्त्रालयका विभिन्न शीर्षकहरूमा केन्द्रित रहेर बजेटमाथि विस्तृत छलफल गरिने तयारी गरिएको छ।
प्रदेशसभाको अधिवेशन पनि सोही दिनका लागि आह्वान गर्ने तयारी भइरहेको सभामुख रामअशिष यादवले जानकारी दिएका छन्। उनका अनुसार विनियोजन विधेयकमाथिको छलफललाई व्यवस्थित रूपमा अघि बढाउन अधिवेशन आह्वान गर्न लागिएको हो।
यसअघि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल रु ४१ अर्ब १३ करोड ८६ लाखको बजेट सार्वजनिक गरिसकेको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको स्पष्ट पारेका थिए।
प्रदेश सरकारले प्रस्तुत गरेको बजेटले उत्पादनमुखी अर्थतन्त्र, सामाजिक क्षेत्रको सुदृढीकरण र रोजगारी सिर्जनामा योगदान पुर्याउने अपेक्षा गरिएको छ। छलफलपछि मन्त्रालयगत कार्यक्रमहरूमा आवश्यक परिमार्जन र कार्यान्वयनका दिशा तय हुने बताइएको छ।




