२०८३ असार १२

श्रीमतीको हत्या अभियोगमा पर्वतका जीतबहादुर विकलाई २६ वर्ष कैद सजाय

काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई जिल्ला अदालत पर्वतले २६ वर्ष कैद सजाय सुनाएको छ।

जिल्ला अदालत पर्वतका न्यायाधीश वासुदेव पौडेलको इजलासले उनलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २५ वर्ष जन्मकैद र पटके अपराधको आधारमा थप १ वर्ष कैद सजाय निर्धारण गरेको हो।

अदालतका अनुसार विकले विसं २०८२ कात्तिक २५ गते आफ्नी श्रीमती सीता विकमाथि कुटपिट गरी ज्यान लिएका थिए। घटनापछि गरिएको अनुसन्धान, प्रमाण र साक्षीहरूको बयानका आधारमा उनलाई दोषी ठहर गरिएको अदालतले जनाएको छ।

मुद्दाको विवरणअनुसार विक यसअघि जबर्जस्ती करणी मुद्दामा पक्राउ परी जिल्ला कारागार पर्वतमा थुनामा रहेका थिए। सो मुद्दामा तोकिएको धरौटी रकम तिर्न नसक्दा उनी थुनामै रहेका थिए। पछि उनकी श्रीमती सीता विकले नै कात्तिक २४ गते धरौटी बुझाएर उनलाई कारागारबाट छुटाएकी थिइन्।

कारागारबाट छुटेको एक दिनपछि नै उनले श्रीमतीमाथि कुटपिट गरी हत्या गरेको आरोप लागेको हो। घटनापछि मृतककी बुहारी शर्मिला विकले जिल्ला प्रहरी कार्यालय पर्वतमा किटानी जाहेरी दिएकी थिइन्।

जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो भने सरकारी वकिलको कार्यालयले संकलित प्रमाणका आधारमा अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो।