काठमाडौं । कावासोती नगरपालिका–८ स्थित खरकट्टा जङ्गल क्षेत्रमा पूर्व–पश्चिम राजमार्गमा अज्ञात सवारीसाधनको ठक्करबाट एक युवकको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार गए राति नम्बर नखुलेको सवारीले हुप्सेकोट गाउँपालिका–५ निवासी २३ वर्षीय तिलबहादुर राना मगरलाई ठक्कर दिएको थियो।
दुर्घटनापछि गम्भीर घाइते अवस्थामा रहेका उनलाई ट्राफिक प्रहरीको सहयोगमा उद्धार गरी तत्कालै मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचारका लागि पुर्याइएको थियो। टाउको र निधारमा गम्भीर चोट लागेका उनलाई पछि थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको थियो।
उपचारकै क्रममा बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।
दुर्घटनामा संलग्न सवारीसाधन अझै पहिचान हुन नसकेको र चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



