काठमाडौं । बिहीबार कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र यात्रुको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर आज बिहान ८ः०० बजेदेखि पुनः परिचालन भएका छन् ।
बिहान ८ः०० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी करिब ११ः३० बजे चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ दैलेखको साङ्गेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो ।
बिहीबार पाँच घण्टासम्म गोताखोरले खोजी गरे पनि यात्रु तथा गाडी फेला नपरेपछि आज पुनः खोजी कार्य सुरु गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिए ।
उनका अनुसार जलसतह मात्र बढेको छैन, नदीको बहावसमेत अत्यन्त तीव्र छ र पानी धमिलो भएकाले खोजी कार्य चुनौतीपूर्ण बनेको छ । घटनास्थलसम्म सिधै पुग्ने बाटो नभएकाले अछाम जिल्लातर्फबाट समेत खोजी गर्नुपरेको उनले बताए ।
उनले भने, “घटनास्थलमा अचेत अवस्थामा भिरमा अड्किएका एक पुरुषको उद्धार गरी अस्पताल पुर्याउने क्रममा मृत्यु भएको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।”
खोजी कार्यमा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना परिचालन गरिएको छ ।
प्रहरीका अनुसार सुर्खेत बसपार्कबाट बिहान ८ः०० बजे छुटेको गाडीमा चालक, सहचालकसहित दैलेखको डुङ्गेश्वरबाट चढेका यात्रु गरी करिब सात जना सवार रहेका थिए ।
गाडी करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको र उक्त स्थान प्रहरी चौकी दैलेखबाट करिब तीन किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा रहेको छ ।



