२०८३ श्रावण १२

वन कार्यालय प्रमुख १२ हजार घुससहित पक्राउ

काठमाडौं । सिरहाको सबडिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादव घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा यादवलाई नियन्त्रणमा लिएको हो। उद्योगका लागि ल्याइएको काठको जाँच गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा उनले रकम मागेको आरोप छ।

अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले यादवलाई सिरहाको कर्जन्हा नगरपालिका–४ स्थित मिर्चौया–बन्दीपुर सडकखण्डबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ।

खानतलासी गर्दा उनको साथबाट घुस रकमसहित स्रोत नखुलेको थप १ लाख ३३ हजार १२० रुपैयाँ र एक थान मोबाइल बरामद भएको छ। बरामद रकमसहित जम्मा १ लाख ४५ हजार १२० रुपैयाँ फेला परेको अख्तियारले जनाएको छ।

यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।