२०८३ भाद्र १०

जापानमा जनसङ्ख्या सङ्कट गहिरिँदै, ४७७ नगरपालिकामा १० प्रतिशतभन्दा बढी गिरावट

काठमाडौं । जापानमा जनसङ्ख्या घट्ने क्रम तीव्र बन्दै गएको छ। सन् २०२० देखि २०२५ को अवधिमा देशका ४७७ नगरपालिकामा जनसङ्ख्या १० प्रतिशतभन्दा बढीले घटेको जापानी समाचार संस्था क्योदो न्युजले जनाएको छ। यो सङ्ख्या देशका कुल नगरपालिकाको एक चौथाइभन्दा बढी हो।

तथ्याङ्कअनुसार सन् २०१५–२०२० मा १० प्रतिशतभन्दा बढी जनसङ्ख्या घटेका नगरपालिका २४७ थिए। पछिल्लो पाँच वर्षमा यो सङ्ख्या झण्डै दोब्बर बनेको हो।

सबैभन्दा ठूलो गिरावट इशिकावा प्रिफेक्चरको सुजु सहरमा देखिएको छ, जहाँ सन् २०२४ को शक्तिशाली भूकम्पपछि जनसङ्ख्या ३४ प्रतिशतले घटेको छ। इवाते, अकिता र कोची प्रिफेक्चरका धेरै नगरपालिकामा पनि १० प्रतिशतभन्दा बढी जनसङ्ख्या घटेको पाइएको छ।

सन् २०२० को राष्ट्रिय जनगणना र सन् २०२५ को प्रारम्भिक जनगणनाका आधारमा गरिएको विश्लेषणले अधिकांश क्षेत्रमा जनसङ्ख्या घट्ने प्रवृत्ति निरन्तर रहेको देखाएको छ। विशेषज्ञहरूले यसले सार्वजनिक सेवा, स्थानीय अर्थतन्त्र र सामुदायिक संरचनामा दीर्घकालीन असर पार्ने चेतावनी दिँदै समस्या समाधानका लागि प्रभावकारी जनसाङ्ख्यिक नीति आवश्यक रहेको बताएका छन्।