२०८३ श्रावण १०

बारामा नदीमा डुबेर तीन वर्षीया बालिकाको मृत्यु

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ की तीन वर्षीया बालिकाको नदीमा डुबेर मृत्यु भएको छ। सोमबार दिउँसो जीतपुरसिमरा–७ पहाडी टोलस्थित सरिसवा नदीमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–३ निवासी अलि हुसेनकी तीन वर्षीया छोरी फुलतारा खातुन रहेकी छन्।

प्रहरीका अनुसार बालिका आफ्नी आमा सलियान खातुनसँग आफन्तको घरमा गएकी थिइन्। सोही क्रममा घर नजिकै रहेको सरिसवा नदी किनारमा खेल्ने क्रममा उनी अचानक नदीमा डुबेकी हुन्।

घटना थाहा पाएपछि आमा सलियानले तत्काल नदीबाट बालिकाको उद्धार गरी जीतपुरसिमरा नगर अस्पताल पुर्‍याएकी थिइन्। तर अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।