काठमाडौं। राहदानी बनाउन सेवाग्राहीले भोग्दै आएको लामो लाइन र समय अभावको समस्या समाधान गर्न राहदानी विभागले विद्युतीय राहदानी (e-Passport) सेवा दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ।
विभागले बिहीबारदेखि लागू हुने गरी आगामी साउन २२ गतेसम्म विशेष व्यवस्था गरेको जनाएको छ। सेवाग्राहीलाई छिटो र सहज सेवा उपलब्ध गराउने उद्देश्यले दैनिक सेवालाई दुई चरणमा विभाजन गरिएको हो।
विभागका अनुसार पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ।
यस व्यवस्थाले कर्मचारी, विद्यार्थी तथा टाढाबाट आउने सेवाग्राहीलाई आफ्नो अनुकूल समयमा राहदानीसम्बन्धी काम गर्न सहज हुने अपेक्षा गरिएको छ।
त्यस्तै, नियमित कार्यदिनमा आउन नसक्ने सेवाग्राहीलाई लक्षित गर्दै शनिबार तथा अन्य सार्वजनिक बिदाका दिनमा पनि विभाग खुला रहने भएको छ। बिदाका दिन बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सेवा उपलब्ध गराइने विभागले जनाएको छ।
विभागको यो निर्णयले राहदानी सेवामा देखिएको चाप घटाउनुका साथै सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।





