२०८३ श्रावण १६

तराईका संवेदनशील क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो, उच्च अधिकारीसहित प्रहरी टोली परिचालन

काठमाडौं । तराई–मधेसका केही जिल्लामा पछिल्लो समय देखिएको साम्प्रदायिक तनाव र हिंसात्मक गतिविधिलाई ध्यानमा राख्दै सुरक्षा निकायहरूले आफ्नो उपस्थिति थप बलियो बनाएका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले शान्ति सुरक्षा कायम गर्न तथा सम्भावित जोखिम नियन्त्रण गर्न उच्च तहका अधिकारीहरूको नेतृत्वमा थप सुरक्षा टोली प्रभावित क्षेत्रमा परिचालन गरेका हुन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले कर्फ्यु लागू भएका क्षेत्र तथा आसपासका संवेदनशील जिल्लामा सुरक्षा व्यवस्थापनका लागि वरिष्ठ प्रहरी अधिकारीहरूलाई प्रत्यक्ष रूपमा खटाइएको जानकारी दिएका छन्।

उनका अनुसार अवस्था थप जटिल बन्न नदिन जोखिमयुक्त क्षेत्रमा वरिष्ठ अधिकृतहरूले नै सुरक्षा समन्वय, अनुगमन र कमान्ड सम्हाल्नेछन्। कर्फ्यु प्रभावित क्षेत्रसँगै छिमेकी संवेदनशील स्थानहरूमा समेत सुरक्षा निगरानी बढाइएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलले पनि तराईका विभिन्न जिल्लामा उच्च अधिकृतको नेतृत्वमा टोली परिचालन गरेको छ। सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन प्रभावित क्षेत्रहरूमा थप जनशक्ति पठाइएको र छिमेकी जिल्लाबाट रिजर्भ फोर्ससमेत परिचालन गरिएको बताइएको छ।

सुनसरी, सिरहा, धनुषा, पर्सा र सप्तरीलगायतका जिल्लामा सम्भावित अप्रिय घटना रोक्न सुरक्षा गस्ती, निगरानी र जनशक्ति परिचालनलाई तीव्र बनाइएको छ। सुरक्षा निकायहरूले सामाजिक सद्भावमा असर पार्ने गतिविधि नियन्त्रण गर्ने तथा नागरिकको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले सतर्कता बढाएका छन्।