२०८३ भाद्र २

चितवनमा विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण अनिवार्य

काठमाडौं । चितवनमा विद्यार्थी बोक्ने विद्यालयका सवारीसाधनलाई सुरक्षित र व्यवस्थित बनाउन गति नियन्त्रण उपकरण जडान अनिवार्य गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा बसेको समन्वय बैठकले विद्यालयका सवारीसाधनको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर कायम गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार विद्यालयका सबै सवारीसाधनमा १५ दिनभित्र उपयुक्त गति नियन्त्रण प्रविधि जडान गर्नुपर्नेछ। यसको अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले गर्नेछन्। तोकिएको समयभित्र उपकरण जडान नगर्ने सवारीसाधन सञ्चालनमा रोक लगाइने प्रशासनले जनाएको छ।

बैठकले विद्यालयका सवारीसाधनको नियमित यान्त्रिक परीक्षण, चालक तथा सहचालकको नियमित अनुशिक्षण र मादक पदार्थ सेवन नियन्त्रणलाई पनि प्राथमिकता दिएको छ। विद्यालयले चालकलाई जिम्मेवारी दिनुअघि दैनिक मापसे परीक्षण गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ।

विद्यालय सवारीसाधनको सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि गरिएको बैठकमा जिल्ला सुरक्षा निकाय, शिक्षा कार्यालय, स्थानीय तहका शिक्षा शाखा, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि र प्राविधिक क्षेत्रका सरोकारवालाको सहभागिता थियो।