२०८३ भाद्र १

करार कर्मचारीको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका सबै निकायमा कार्यरत करार कर्मचारीको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

मन्त्रालयले हाल कार्यरतमध्ये फाजिलमा पर्न सक्ने करार कर्मचारीको विवरण प्राथमिकताका साथ तत्काल पठाउन सम्बन्धित निकायलाई आग्रह गरेको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त पत्रका आधारमा विवरण संकलन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको प्रशासन तथा मानव संसाधन व्यवस्थापन शाखाले परिपत्र जारी गर्दै सम्बन्धित निकायलाई माग गरिएको विवरण सफ्ट कपीमा तयार गरी मन्त्रालयको आधिकारिक इमेलमार्फत पठाउन भनेको छ।

विवरण पठाउन निश्चित समयसीमा तोकिएको छैन। तर फाजिलमा पर्न सक्ने कर्मचारीको विवरण भने यथाशीघ्र उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ।