काठमाडौं । लामो समयदेखि स्थगित नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ। निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले भदौ ३१ गतेदेखि उक्त रुटमा पुनः नियमित उडान सुरु गर्न लागेको जनाएको छ।
बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार यात्रुको माग बढ्दै गएपछि सेवा पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो। नेपालगञ्ज हुँदै भारतको उत्तर प्रदेश क्षेत्रलाई पोखरासँग सिधा जोड्ने भएकाले यो उडान धार्मिक तथा पर्यटन यात्रुका लागि महत्वपूर्ण मानिएको छ।
गत जेठ ५ गतेदेखि उक्त रुटको उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु तथा इन्धन खर्च तुलनात्मक रूपमा बढी हुनुका कारण सेवा रोकिएको शाहले बताए। पछिल्लो समय धार्मिक पर्यटकको आवागमन बढ्नुका साथै यात्रुको मागसमेत वृद्धि भएपछि उडान पुनः सञ्चालन गर्न लागिएको उनले जानकारी दिए।
बुद्ध एयरका अनुसार नेपालगञ्ज–पोखरा रुटमा अब आइतबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान हुनेछ। कम्पनीले यात्रुका लागि बुकिङसमेत खुला गरिसकेको जनाएको छ।
हवाई सेवा पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन्। पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्ज हुँदै पश्चिम नेपाल र भारतका नागरिकलाई पोखरासँग सिधा जोड्ने भएकाले यो उडान पर्यटन व्यवसायका लागि महत्वपूर्ण रहेको बताए।
उनका अनुसार उडान पुनः सञ्चालन भएपछि पोखरालगायतका पर्यटकीय क्षेत्रबाट बाँकेको बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिकस्थलमा आवतजावत गर्न सहज हुनेछ। त्यस्तै, बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा तथा मुस्ताङ पुग्न पनि हवाई सम्पर्क सहज हुने उनले बताए।
स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि नेपालगञ्ज–पोखरा रुटमा सातामा तीन दिन नियमित उडान सुरु गरिएको थियो। सेवा पुनः सञ्चालनसँगै पश्चिम नेपाल र पोखराबीचको पर्यटन तथा व्यावसायिक आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।




