काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने प्रतिबद्धता जनाएकी छन्। उनले टीकापुर घटनाको सत्यतथ्य सार्वजनिक गरी न्यायोचित ढङ्गबाट समाधान खोजिनुपर्ने बताउँदै थारू समुदायका जायज माग र मुद्दा सम्बोधनका लागि सरकार गम्भीर रहेको स्पष्ट पारिन्।
थारू कल्याणकारिणी सभाले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले थारू समुदायका अधिकार, पहिचान र न्यायका सवाल सरकारभित्रैबाट उठाउँदै आएको बताइन्। उनले आगामी दिनमा पनि थारू समुदायका जायज माग र मुद्दाका पक्षमा निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्।
थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गतेलाई टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको निकास’ तथा ‘नेपालको संविधानको अन्तरवस्तुमा थारू समुदायको साझा सवाल र संशोधनको आवश्यकता’ विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा मन्त्री चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक पहल गर्ने बताइन्। उनले थारू समुदायका माग तथा मुद्दालाई न्यायोचित रूपमा सम्बोधन गर्न सरकार गम्भीर रहेको र यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन आफूले भूमिका निर्वाह गर्ने उल्लेख गरिन्।




