काठमाडौं। निर्देशक सौरभ चौधरीको नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएकी छन्। उनीसँगै चलचित्रको कलाकार टोली थप विस्तार भएको छ।
यसअघि सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय बराल चलचित्रमा जोडिइसकेका छन्। अञ्जनाको प्रवेशसँगै चलचित्रको कलाकार लाइनअप थप बलियो बनेको निर्माण पक्षले जनाएको छ।
निर्देशक चौधरीका अनुसार कथाको माग र दर्शकको रुचिलाई ध्यानमा राख्दै कलाकार छनोट गरिएको हो। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्र मल्टिस्टार एक्सन ड्रामा रहने बताइएको छ।
चलचित्रको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका छन्। निर्देशक चौधरीले यसपटक अघिल्ला चलचित्रको तुलनामा ठूलो क्यानभासमा काम गर्ने तयारी गरेका छन्। निर्माण पक्षले यसलाई नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र बनाउने लक्ष्य राखेको जनाएको छ।
चलचित्रको छायांकन आगामी साताबाट सुरु हुने तयारी छ। निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा छायांकन गरिनेछ।
चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव हुन्। को–प्रोड्युसरमा विश्वास बस्नेत (बेन) तथा कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन्।
मानकृष्ण महर्जन डीओपी र श्री श्रेष्ठ एक्सन निर्देशकका रूपमा रहने चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल, पब्लिसिटी पार्टनर टौवा स्टुडियो र वितरक डीसीएन रहेका छन्।



