२०८३ आश्विन १६

मलेसियाले २७५ म्यानपावरमार्फत मात्र नेपाली श्रमिक लैजाने अडान कायमै राख्यो

काठमाडौँ । मलेसियाले नेपालबाट श्रमिक लैजान छनोट गरिएका २७५ म्यानपावर कम्पनीलाई मात्र अनुमति दिने आफ्नो निर्णय यथावत् राखेको छ। मलेसियाली पक्षले यही सूचीअनुसार श्रमिक पठाउने प्रक्रिया अघि बढाउन नेपाल सरकारलाई आग्रह गरेको जनाइएको छ।

निर्णय कार्यान्वयन भए नेपालमा इजाजतप्राप्त ८ सयभन्दा बढी अन्य म्यानपावर कम्पनी मलेसियाली श्रम बजारबाट बाहिरिनेछन्। यसले सीमित कम्पनीमार्फत मात्रै श्रमिक पठाउनुपर्ने अवस्था सिर्जना हुने र श्रमिकमाथि थप आर्थिक भार पर्न सक्ने व्यवसायीहरूको चिन्ता छ।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन संवाद गर्दै नेपालका सबै वैधानिक म्यानपावर कम्पनीलाई समान अवसर उपलब्ध गराउन आग्रह गरेका थिए।

तर, मलेसियाले आफ्नो गृह तथा श्रम मन्त्रालयले तय गरेको मापदण्ड र २७५ कम्पनीको सूचीलाई नै निरन्तरता दिएको छ। वैदेशिक रोजगार विभागले खुला प्रतिस्पर्धाका लागि गरेको आग्रहलाई पनि मलेसियाली पक्षले स्वीकार नगरेको जनाइएको छ।

मलेसियाको पछिल्लो अडानसँगै नेपालबाट त्यहाँ श्रमिक पठाउने प्रक्रिया अब तोकिएका २७५ म्यानपावर कम्पनीमार्फत मात्र अघि बढ्ने अवस्था बनेको छ।