२०८३ आश्विन १७

उडानका क्रममा सहपाइलटको आक्रमण, चालक दलले जोगाए १७४ यात्रु

काठमाडौँ । दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा सहपाइलटले क्याप्टेनमाथि आक्रमण गरेपछि उडानमा गम्भीर संकट उत्पन्न भएको छ। विमानमा चालक दलका सदस्यसहित १७४ जना सवार थिए।

उडानका क्रममा सहपाइलटले क्याप्टेन स्मित मच्छरमाथि धारिलो हतियार प्रहार गरेपछि विमानको उचाइ तीव्र रूपमा घटेको बताइएको छ। घाइते अवस्थामा पनि क्याप्टेनले ककपिटको ढोका खोल्न सकेपछि विमानमा रहेका अफ–ड्युटी पाइलट, चालक दलका सदस्य तथा यात्रुले आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए।

घटनापछि विमानले आपत्कालीन सङ्केत जारी गरेको थियो। त्यसपछि साउदी अरबको ताबुकस्थित प्रिन्स सुल्तान बिन अब्दुलअजिज विमानस्थलमा विमानको आपत्कालीन अवतरण गराइएको जनाइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मच्छर भारतको मुम्बईका अनुभवी व्यावसायिक पाइलट हुन्। उनले स्पाइसजेटबाट उडान करिअर सुरु गरेका थिए भने सन् २०२२ देखि फ्लाईदुबईमा कार्यरत छन्। उनीसँग बोइङ ७३७ सिरिजका विमानमा करिब ९ हजार ७५० घण्टाको उडान अनुभव रहेको बताइएको छ।

घटनामा घाइते क्याप्टेनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ। आक्रमणको कारणबारे सम्बन्धित सुरक्षा निकायले अनुसन्धान गरिरहेको छ। घटनालाई सम्भावित सुरक्षा जोखिमका रूपमा समेत जाँच भइरहेको बताइएको छ।