काठमाडौं । सरकारले भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा अत्यावश्यकबाहेकको खोज तथा उद्धार कार्य तत्कालका लागि स्थगित गर्दै पुनर्निर्माण र पुनर्स्थापनालाई प्राथमिकता दिने निर्णय गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले प्रभावित क्षेत्रमा बाँकी अत्यावश्यक उद्धारका कामसँगै पुनर्निर्माण अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
बैठकले प्रभावित क्षेत्रका ५०४ योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ।
लागत अनुमान र प्राथमिकता निर्धारण हुन बाँकी आयोजनाको विवरण प्राप्त भएपछि थप बजेटका लागि सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ।
परिषद्ले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, खोज, उद्धार र राहतमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक, स्वयंसेवक, निजी क्षेत्र र सञ्चारकर्मी तथा सहयोगी दातृराष्ट्र र विकास साझेदारप्रति धन्यवाद व्यक्त गरेको छ।




