२०८३ श्रावण १३

कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ गैडवा चोकमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार ना ५ ख २३६४ नम्बरको ट्रकले सडक किनारमा साइकल मर्मत गरिरहेका व्यक्तिहरूलाई ठक्कर दिँदा दुई सर्वसाधारण र एक बालकको मृत्यु भएको हो।

दुर्घटनामा महाराजगञ्ज नगरपालिका–३ गनवरियाका ७० वर्षीय घोल्लर कुर्मी, ४५ वर्षीय विजय कुमार गुप्ता र सोही स्थानका १२ वर्षीय बालक आनन्द कश्यपको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएका तीनै जनाको शव जिल्ला अस्पताल तौलिहवामा राखिएको छ। घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Read More

मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिम भूभागमा सरदरभन्दा केही उत्तरतर्फ रहेकाले देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस, बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली छ। बागमतीका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी प्रदेश: पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ।

मधेस प्रदेश: प्रदेशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ।

बागमती प्रदेश: पहाडी जिल्लाका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन विभागले सुझाव दिएको छ। तराई क्षेत्रमा पनि केही स्थानमा वर्षा हुने सम्भावना छ।

गण्डकी प्रदेश: प्रदेशका अधिकांश पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले यात्रा तथा सडक आवागमनमा सतर्कता आवश्यक रहेको विभागले जनाएको छ।

लुम्बिनी प्रदेश: पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने केही स्थानमा भारी वर्षा हुन सक्छ। तराईका केही क्षेत्रमा पनि वर्षा हुने अनुमान गरिएको छ।

कर्णाली प्रदेश: प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले पहिरो तथा बाढीको जोखिमप्रति सचेत रहन विभागले आग्रह गरेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

सुदूरपश्चिम प्रदेश: प्रदेशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी क्षेत्रका केही स्थान तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ।

महाशाखाका अनुसार आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा जारी रहने तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ। लगातार वर्षाका कारण पहिरो, गेग्रान बहाव, आकस्मिक बाढी तथा नदी–खोलाको जलसतह बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

Read More

विश्व बाघ दिवस आज: नेपालले सार्वजनिक गर्दै नयाँ बाघ गणनाको नतिजा

काठमाडौं। विश्व बाघ दिवसका अवसरमा नेपालले आज पछिल्लो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गर्दैछ। कृषि, वन तथा वातावरण मन्त्रालयले मन्त्री गीता चौधरीको उपस्थितिमा बाघको अद्यावधिक संख्या सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ।

नेपालमा हरेक चार वर्षमा बाघ गणना गर्ने परम्परा छ। सन् २०२२ को राष्ट्रिय गणनाअनुसार देशभर ३५५ वटा पाटेबाघ रहेका थिए। त्यतिबेला सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा गणना गरिएको थियो।

संरक्षण क्षेत्रको विस्तार, बासस्थानमा सुधार र आहारा प्रजातिको वृद्धि भएकाले यसपटक बाघको संख्या अझ बढ्ने अपेक्षा गरिएको छ। नेपालले सन् २०१० मा १२१ वटा रहेको बाघको संख्या बढाएर सन् २०२२ मा ३५५ पुर्‍याउँदै विश्वमै सफल बाघ संरक्षणको उदाहरण प्रस्तुत गरेको छ।

हाल नेपालमा बाघ तराईका पाँच राष्ट्रिय निकुञ्ज–चितवन, बर्दिया, पर्सा, बाँके र शुक्लाफाँटा तथा तिनका आसपासका वन क्षेत्रमा पाइन्छ। सरकारले तीन महिनासम्म स्वचालित क्यामेरा र वैज्ञानिक विधिबाट पछिल्लो राष्ट्रिय सर्वेक्षण सम्पन्न गरेको हो।

यद्यपि बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्व, बासस्थान व्यवस्थापन र समस्याग्रस्त बाघको संरक्षण चुनौतीका रूपमा देखिएका छन्। हाल देशभर १६ समस्याग्रस्त बाघ विभिन्न इन्क्लोजरमा राखिएका छन्। तिनको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले चितवनको देवनगरमा ‘टाइगर सेन्चुरी’ निर्माणको योजना अघि बढाएको छ।

विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई २९ मा मनाइन्छ। बाघ संरक्षणको आवश्यकता र प्राकृतिक बासस्थान जोगाउने उद्देश्यका साथ सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनपछि यो दिवस मनाउन थालिएको हो।

Read More

गुरु पूर्णिमा आज: गुरुको सम्मान र व्यास जयन्ती विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गुरु पूर्णिमा श्रद्धा र सम्मानका साथ मनाइँदै छ। ज्ञान, शिक्षा र संस्कार प्रदान गर्ने गुरुहरूप्रति कृतज्ञता व्यक्त गर्ने परम्पराअनुसार विद्यालय, गुरुकुल तथा विभिन्न संघसंस्थाले विशेष कार्यक्रम आयोजना गरेका छन्।

हिन्दू परम्पराअनुसार गुरुले अज्ञानको अन्धकार हटाएर ज्ञानको प्रकाश फैलाउने भएकाले गुरुको स्थान अत्यन्त उच्च मानिन्छ। शास्त्रहरूमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरसरह सम्मान गरिएको छ भने “आचार्यदेवो भव” भन्ने मान्यताले पनि गुरुको महत्त्वलाई स्पष्ट पार्छ।

गुरु पूर्णिमाकै दिन महर्षि वेदव्यासको जन्मजयन्ती अर्थात् व्यास जयन्ती पनि मनाइन्छ। वेदव्यासले वेदलाई चार भागमा विभाजन गर्नुका साथै १८ पुराण, १८ उपपुराण तथा महाभारतको रचना गरेको विश्वास गरिन्छ। उनका ग्रन्थहरूले परोपकार, मानवता र नैतिक जीवनको सन्देश दिएको धार्मिक विश्वास छ।

यस अवसरमा देशभरका धार्मिक तथा शैक्षिक संस्थाले गुरुको सम्मानमा विशेष कार्यक्रम आयोजना गरेका छन्। नेपाल महर्षि वैदिक फाउन्डेसनले पनि चम्पादेवीस्थित ब्रह्मानन्द सरस्वती ग्राममा गुरु पूर्णिमा विशेष समारोह आयोजना गरेको जनाएको छ।

Read More

आजको राशिफल

२०८३ साउन १३ गते (२९ जुलाई २०२६), बुधवार, आषाढ शुक्लपक्ष पूर्णिमा तिथि (१९ः२९ बजेपछि प्रतिपदा), उत्तराषाढा नक्षत्र (१६ः११ बजेपछि श्रवण), चन्द्रराशि – मकर।

आज ग्रह–नक्षत्रको प्रभावले आत्मविश्वास, उपलब्धि, जिम्मेवारी र दीर्घकालीन योजनालाई विशेष महत्त्व दिएको छ। धेरै राशिका लागि व्यापार, पेशा, शिक्षा तथा आर्थिक क्षेत्रमा सकारात्मक अवसर देखिएका छन् भने केही राशिले खर्च, स्वास्थ्य, पारिवारिक सम्बन्ध तथा भावनात्मक निर्णयमा विशेष सावधानी अपनाउनुपर्ने संकेत रहेको छ। निरन्तर मेहनत, धैर्य र विवेकका साथ अघि बढे रोकिएका काम सम्पन्न हुनेछन् र नयाँ अवसरको सदुपयोग गर्न सकिनेछ। आफ्नो राशिअनुसारको भविष्यफल पढेर आजको दिनलाई अझ सफल र प्रभावकारी बनाउनुहोस्।

मेष (Aries)

चु, चे, चो, ला, लि, लु, ले, लो,

सफलताले आत्मविश्वास बढाउने दिन रहेको छ। नयाँ काम सुरु गर्ने तथा दीर्घकालीन लाभ हुने योजनामा अघि बढ्न अनुकूल समय छ। प्रभावशाली व्यक्तिसँगको भेटघाटले नयाँ अवसर दिलाउन सक्छ। मेहनतअनुसार सम्मान, प्रतिष्ठा तथा आर्थिक लाभ प्राप्त हुने सम्भावना बलियो रहेको छ। आफ्नो क्षमता प्रदर्शन गर्दै धेरैको विश्वास जित्न सकिनेछ।

वृष (Taurus)

, , , , वा, वि, वु, वे, वो

सामाजिक तथा व्यावसायिक क्षेत्रमा जिम्मेवारी बढ्नेछ। राम्रो कामको प्रशंसा प्राप्त हुने र समुदायको हितमा योगदान दिने अवसर मिल्नेछ। टाढिएका साथीभाइसँग पुनः सम्बन्ध सुमधुर बन्ने सम्भावना छ। भाग्यको साथले नयाँ अवसर प्राप्त हुनेछ भने अरूको सहयोग गर्दा आफ्नै फाइदा हुने संकेत देखिएको छ।

मिथुन (Gemini)

का, कि, कु, , , , के, को, हा

कामको जिम्मेवारी बढ्ने भएकाले धैर्य र संयम आवश्यक रहनेछ। पुराना समस्या दोहोरिन सक्ने भएकाले हल्ला वा अफवाहको पछि नलाग्नु उपयुक्त हुनेछ। तत्काल ठूलो लाभ नदेखिए पनि समस्या समाधानतर्फ सकारात्मक प्रगति हुनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोस् र अनावश्यक खर्च नियन्त्रण गरेर आर्थिक सन्तुलन कायम राख्नु राम्रो हुनेछ।

कर्कट (Cancer)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मनोरञ्जन र व्यक्तिगत इच्छामा बढी समय खर्च हुँदा काममा ढिलाइ हुन सक्छ। पारिवारिक सम्बन्धमा केही असमझदारी देखिन सक्ने भएकाले संयमित व्यवहार गर्नु उपयुक्त हुनेछ। यात्रा तथा पेशागत गतिविधिबाट लाभ मिल्ने सम्भावना छ। अध्ययन तथा सिर्जनात्मक क्षेत्रमा भने सकारात्मक प्रगति हुने संकेत देखिएको छ।

सिंह (Leo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रतिस्पर्धामा सफलता प्राप्त हुने र रोकिएका काम सम्पन्न हुने दिन रहेको छ। व्यापार तथा आर्थिक गतिविधिबाट उल्लेखनीय लाभ मिल्ने सम्भावना छ। आत्मविश्वास र मेहनतका कारण लक्ष्य सजिलै हासिल गर्न सकिनेछ। नयाँ योजना सुरु गर्ने तथा दीर्घकालीन फाइदा हुने कार्यमा अघि बढ्न अनुकूल समय रहेको छ।

कन्या (Virgo)

टो, पा, पि, पु, , , , पे, पो

साहस र आत्मविश्वासले लक्ष्य प्राप्त गर्न सहयोग गर्नेछ। अध्ययन तथा बौद्धिक क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त हुने सम्भावना छ। व्यापारमा सामान्य लाभ भए पनि कृषि तथा पशुपालनबाट राम्रो प्रतिफल मिल्ने संकेत देखिएको छ। परिवार, सन्तान वा शुभचिन्तकको सहयोगले महत्त्वपूर्ण योजना सफल बन्नेछ।

तुला (Libra)

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

विगतका कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ। साझेदारी तथा सम्झौतामा केही चुनौती आउन सक्ने भएकाले निर्णय गर्दा सावधानी अपनाउनु उपयुक्त हुनेछ। ईर्ष्यालु व्यक्तिहरूले अवरोध सिर्जना गर्न सक्ने भएकाले आफ्ना योजना गोप्य राख्नु राम्रो हुनेछ। धैर्य र व्यवहारिक सोचले कठिन परिस्थिति सहज रूपमा पार गर्न सकिनेछ।

बृश्चिक (Scorpio)

तो, ना, नि, नु, ने, नो, या, यि, यु

सहयोगीहरूको साथले रोकिएका काम सम्पन्न हुने र नयाँ योजना सुरु गर्ने अवसर प्राप्त हुनेछ। उद्योग, व्यापार तथा आर्थिक क्षेत्रमा उल्लेखनीय लाभ हुने सम्भावना देखिएको छ। प्रतिस्पर्धीमाथि विजय प्राप्त हुने तथा मेहनतको उचित प्रतिफल मिल्नेछ। महत्त्वाकांक्षी योजनाहरू क्रमशः सफल बन्दै जाने संकेत देखिएको छ।

धनु (Sagittarius)

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

शिक्षा, ज्ञान तथा बौद्धिक क्षेत्रमा उल्लेखनीय प्रगति हुने दिन रहेको छ। आम्दानीका नयाँ स्रोत विस्तार हुने र दीर्घकालीन लाभ दिने सम्झौता गर्ने अवसर मिल्नेछ। नयाँ काम सुरु गर्ने तथा सम्मान प्राप्त गर्ने सम्भावना बलियो देखिएको छ। प्रभावशाली अभिव्यक्तिका कारण सामाजिक तथा आर्थिक क्षेत्रमा पनि सफलता मिल्नेछ।

मकर (Capricorn)

भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो, गा, गि

परिवार तथा साथीभाइसँग रमाइलो समय बित्नेछ। पुराना सफलताले नयाँ उत्साह थप्नेछ भने नयाँ कामको प्रस्ताव प्राप्त हुन सक्छ। टाढिएका परिवारजनसँग पुनर्मिलन हुने सम्भावना छ। जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने अवसर प्राप्त हुनेछ। व्यक्तित्वमा आकर्षण बढ्ने र समाजबाट सम्मान प्राप्त हुने संकेत देखिएको छ।

कुम्भ (Aquarius)

गु, गे, गो, सा, सि, सु, से, सो,

आर्थिक व्यवस्थापनमा विशेष सावधानी अपनाउनु आवश्यक देखिन्छ। केही लाभका लागि तत्काल केही त्याग गर्नुपर्ने अवस्था आउन सक्छ। व्यवसायमा थप लगानी आवश्यक पर्न सक्छ भने ऋण वा सरसापटमार्फत आर्थिक व्यवस्थापन गर्नुपर्ने सम्भावना छ। आफ्ना मानिससँग दूरी बढ्न सक्ने भएकाले सम्बन्धमा धैर्य र समझदारी अपनाउनु उपयुक्त हुनेछ।

मीन (Pisces)

दि, दु, , , , दे, दो, चा, चि

आम्दानीमा वृद्धि हुने र व्यापार तथा पेशागत क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त हुने सम्भावना छ। मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ भने आवश्यक स्रोत–साधन सहज रूपमा जुट्नेछन्। रोकिएका काम सम्पन्न हुने र नयाँ जिम्मेवारी प्राप्त हुने संकेत देखिएको छ। दीर्घकालीन लाभ हुने योजना सुरु गर्न तथा नयाँ आयस्रोत खोज्न अनुकूल समय रहेको छ।

Read More

नारायणी अस्पतालका ६८ चिकित्सकद्वारा सामूहिक राजीनामा

काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालका ६८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका चिकित्सकमाथि भएको आक्रमण र वार्ताका क्रममा प्रशासनबाट भएको दुर्व्यवहारको विरोध गर्दै उनीहरूले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाएका हुन्।

गत साउन ८ गते अस्पतालका चिकित्सक डा. प्रमोद राममाथि भएको आक्रमण तथा अस्पताल परिसरमा भएको तोडफोडपछि चिकित्सकहरूले आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलन गर्दै आएका थिए।

अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार स्वास्थ्य मन्त्रालयको आग्रहमा समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा वार्तामा सहभागी हुन पुगेका चिकित्सकहरूमाथि दुर्व्यवहार भएको थियो। उनका अनुसार प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट अपशब्द प्रयोग हुनुका साथै चिकित्सकहरूलाई करिब एक घण्टा नियन्त्रणमा राखिएको थियो।

प्रशासनबाट भएको व्यवहारपछि सुरक्षित र सम्मानजनक रूपमा काम गर्ने वातावरण नरहेको निष्कर्ष निकाल्दै चिकित्सकहरूले सामूहिक राजीनामाको निर्णय लिएको जनाइएको छ।

यसै घटनाको विरोधमा नेपाल चिकित्सक सङ्घले पनि मंगलबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ। सङ्घले चिकित्सकको सुरक्षा र कार्यस्थलको वातावरण सुनिश्चित गर्न माग गरेको छ।

Read More

त्रिवि व्यवस्थापन संकायको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको परीक्षाको प्रश्नपत्र गोपनीयता भंग गरेको आरोपमा नेपाल प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार शिक्षा ऐन, २०२८ अन्तर्गत अनुसन्धान भइरहेको घटनामा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

सीआईबीका अनुसार २०८३ साउन ८ गते त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको ‘एमजीटी ५१५ : संगठनात्मक व्यवहार’ विषयको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहमा सार्वजनिक भएको थियो। त्यसपछि प्रश्नपत्रको गोपनीयता भंग भएको विषयमा प्रहरीले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा सीआईबीले विभिन्न स्थानबाट थप दुई जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र रहेका छन्। उनलाई साउन १० गते काठमाडौं महानगरपालिका–१३ ताहाचलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

त्यस्तै, बारा लिपनीमाल–१ घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्दै आएका ३१ वर्षीय अब्दुल सानि हाकिमलाई साउन ११ गते वीरगञ्ज महानगरपालिका–८ बाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि अदालतबाट अनुमति लिएर थप अनुसन्धान भइरहेको छ। घटनामा संलग्न अन्य व्यक्तिको पहिचान र कानुनी प्रक्रिया अघि बढाउने काम भइरहेको ब्युरोले जनाएको छ।

Read More

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौंन । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा मंगलबार उनको निधन भएको हो।

श्रेष्ठ पछिल्लो समय पेटसम्बन्धी स्वास्थ्य समस्याबाट पीडित थिए। उपचारकै क्रममा उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि अस्पतालमै निधन भएको जनाइएको छ।

नेपाली कांग्रेसका अनुसार श्रेष्ठको पार्थिव शरीरमा बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने व्यवस्था मिलाइएको छ। त्यसपछि शवयात्रासहित उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

कांग्रेसले श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले पुर्‍याएको योगदानको स्मरण गरेको छ।

Read More

विद्यालय दिवा खाजा कार्यक्रमको वार्षिक प्रतिवेदन सार्वजनिक, ३० लाख बालबालिका लाभान्वित

काठमाडौं। विद्यालय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन–२०२५ सार्वजनिक गरिएको छ। खाद्य सुरक्षा, पोषण, शिक्षा, जलवायु उत्थानशीलता र सामाजिक सुरक्षालाई सुदृढ बनाउने विषय समेटिएको प्रतिवेदन नेपाल सरकार र संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले आज आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरेको हो।

प्रतिवेदन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्ट, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बेलबहादुर राना मगर, नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्का, अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बोम, शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा तथा डब्लुएफपीका नेपालका देशीय निर्देशक रियाज लोधीलगायतको उपस्थितिमा सार्वजनिक गरिएको थियो।

प्रतिवेदनमा नेपालमा पाँच दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको विद्यालय दिवा खाजा कार्यक्रमको उपलब्धि र यात्रालाई समेटिएको छ। सन् १९६७ मा सुरु भएको यो कार्यक्रम हाल देशका सबै ७७ जिल्लामा सञ्चालनमा रहेको छ र करिब ३० लाख बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन्। कार्यक्रमले विद्यालय भर्नादर, विद्यार्थीको नियमित उपस्थितिका साथै सिकाइ उपलब्धिमा सकारात्मक सुधार ल्याएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार समुदाय र सहकारीमार्फत स्थानीय साना किसानसँग विद्यालयलाई जोडेर घरेलु खाजा उपलब्ध गराउने अभ्यासले विद्यार्थीको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्‍याएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. भट्टले बालबालिकामा लगानी गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै शिक्षा, पोषण, कृषि र स्थानीय आर्थिक विकासलाई एकीकृत रूपमा अघि बढाउन विकास साझेदारको भूमिका महत्त्वपूर्ण रहेको बताए।

फिनल्याण्डका राजदूत पेट्री पुहाक्काले दिवा खाजा कार्यक्रमले बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउनुका साथै सामूहिक सहकार्यको उदाहरण प्रस्तुत गरेको बताए। अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बोमले उक्त कार्यक्रममा नेपालसँग आफ्नो देशको सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बेलबहादुर राना मगरले कार्यक्रमका कारण बालबालिकामा पुड्कोपन, ख्याउटेपन र रक्तअल्पता घट्नुका साथै सिकाइ निरन्तरतामा सुधार आएको बताए। डब्लुएफपीका देशीय निर्देशक रियाज लोधीले नेपाल सरकार, विकास साझेदार र समुदायसँगको सहकार्यमार्फत खाद्य सुरक्षा र पोषण सुधार गर्दै मानव पुँजी विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नीति निर्माता, विकास साझेदार, विज्ञ तथा सरोकारवालाबीच विद्यालय दिवा खाजा कार्यक्रमको प्रभाव र भविष्यका रणनीतिबारे छलफलसमेत भएको थियो।

Read More

मुग्लिन नजिकको सुक्खा पहिरो पन्छाइयो, नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिन नजिक सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

इच्छाकामना गाउँपालिका–५ स्थित खहरे खोलामा आज बिहान करिब ८ः३० बजे माथिबाट ढुङ्गासहित सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने कार्य सम्पन्न भएपछि आज दिउँसो १ः१५ बजेदेखि सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।

यसअघि बिहान ११ः१५ बजेदेखि सडक एकतर्फी खुलाएर एम्बुलेन्स तथा मोटरसाइकललाई आवागमन गर्न दिइएको थियो। पहिरो हटाउन नारायणगढबाट लोडर, स्काभेटर र ब्याकहो तथा मुग्लिनबाट समेत लोडर परिचालन गरिएको थियो।

प्रहरीका अनुसार करिब ४० मिटर माथिबाट खसेको पहिरो पूर्ण रूपमा पन्छाइएपछि सडकमा रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ अघि बढिसकेका छन्।

Read More