२०८३ श्रावण २९

शेरबहादुर देउवा आज स्वदेश फर्किँदै, विमानस्थलमा भव्य स्वागतको तयारी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदैछन्। हङकङबाट उनी आज नेपाल आउन लागेका हुन्। जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा घाइते भएपछि उपचारका लागि सिंगापुर पुगेका देउवा त्यसपछि हङकङ पुगेका थिए।

देउवा स्वदेश फर्किने भएपछि कांग्रेसको इतर पक्षले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको भव्य स्वागत गर्ने तयारी गरेको छ। स्वागतका लागि कांग्रेसका नेता तथा कार्यकर्ताहरू बिहान १० बजेदेखि विमानस्थलमा भेला हुने कार्यक्रम रहेको छ।

देउवालाई स्वागत गर्न सात हजारभन्दा बढी नेता तथा कार्यकर्ता सहभागी हुने तयारी गरिएको छ। उनको गृह जिल्लासहित विभिन्न स्थानबाट समेत नेता तथा कार्यकर्ता काठमाडौं आएका छन्। राष्ट्रिय भेला आयोजक समितिका प्रचारप्रसार संयोजक मीन विश्वकर्माका अनुसार देउवाको स्वागतका लागि ३२ वटै आयोजक समितिले आवश्यक व्यवस्थापन गरिरहेका छन्।

स्वागत कार्यक्रमको संयोजनका लागि विशेषगरी तरुण दल र विद्यार्थी संगठन परिचालन समितिलाई जिम्मेवारी दिइएको छ। सांस्कृतिक समितिले विभिन्न झाँकीसहितको प्रस्तुति गर्ने तयारी गरेको जनाइएको छ।

देउवा दिउँसो १२ः२५ बजे थाइ एयरलाइन्सको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।

यसैबीच, देउवा दम्पती सिंगापुरमा रहेका बेला उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी रोक्न माग गर्दै देउवा वारेसमार्फत सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतले देउवा दम्पतीलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

Read More

पत्रकार किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार किशोर श्रेष्ठको घर तथा कार्यालयमा खानतलासी गरेको छ।

प्रहरीले श्रेष्ठलाई बुधबार ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको थियो। प्रहरी स्रोतका अनुसार पक्राउपछि राति करिब १ बजे उनको घरमा खानतलासी गरिएको हो। खानतलासीका क्रममा प्रहरीले घरबाट ल्यापटप र मोबाइल नियन्त्रणमा लिएको जनाएको छ।

बिहीबार बिहान प्रहरीले ललितपुरको झम्सीखेलस्थित ठाडोढुंगामा रहेको श्रेष्ठको जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको छ। पछिल्लो जानकारीअनुसार प्रहरी टोली कार्यालयमै रहेको छ।

श्रेष्ठलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। उनलाई आज अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

Read More

रोल्पा पहिरो : १० जना अझै बेपत्ता, उद्धार कार्य प्रभावित

काठमाडौं। रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा पहिरोमा परेर १० जना अझै बेपत्ता रहेका छन्। अविरल वर्षापछि बुधबार साँझ आएको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब आधा दर्जन घर तथा गोठ पुरिएपछि बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परेका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई प्रहरी तथा स्थानीयवासीको सहयोगमा उद्धार गरिएको छ। दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

लगातार वर्षा भइरहेकाले घटनास्थलमा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। जोखिमपूर्ण भू–भाग र प्रतिकूल मौसमका कारण बेपत्ताको खोजी तथा पुरिएका संरचनाबाट उद्धार गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थल जिल्ला सदरमुकामदेखि करिब २६ कोष उत्तरपूर्वमा पर्छ। प्रहरीले बेपत्ताको खोजीलाई तीव्रता दिँदै घटनास्थलको क्षति तथा अवस्थाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।

Read More

निजी क्षेत्रलाई सहयोग र प्रवर्द्धन गर्न सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं। नेपाली कांग्रेसले निजी क्षेत्रलाई सहयोग र प्रवर्द्धन गर्दै अर्थतन्त्र सुधारका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले अर्थतन्त्र सुधारका लागि सरकारले अघि बढाउने सकारात्मक कदममा पार्टीको सहयोग रहने बताए।

चालिसेले देशको आर्थिक विकास, उत्पादन वृद्धि, राजस्व सङ्कलन तथा रोजगारी सिर्जनामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए। निजी क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएकाले त्यसलाई कमजोर बनाउने कुनै पनि नीति लिन नहुने कांग्रेसको धारणा रहेको उनले बताए।

कांग्रेसले निजी क्षेत्रलाई नियन्त्रण गर्ने खालका कानुनी व्यवस्था सुधार गर्नुपर्नेमा समेत जोड दिएको छ। निजी क्षेत्रको लगानी र व्यावसायिक गतिविधिलाई सहज बनाउने वातावरण तयार गर्न सरकार जिम्मेवार हुनुपर्ने पार्टीको निष्कर्ष छ।

लगानीकर्ताको मनोबल बढाउन, पुँजी पलायन रोक्न तथा स्वदेशी र विदेशी लगानी आकर्षित गर्न सरकारले स्पष्ट, स्थिर र दीर्घकालीन आर्थिक नीति ल्याउनुपर्ने कांग्रेसले माग गरेको छ।

सभापति गगनकुमार थापाको सभापतित्वमा साउन २४ गतेदेखि पार्टी केन्द्रीय कार्यालय ललितपुरमा जारी बैठकमा आज २८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन्। छलफल जारी रहेकाले केन्द्रीय कार्यसमितिको बैठक आज पुनः बस्ने कांग्रेसले जनाएको छ।

Read More

रोल्पामा पहिरोले घर र गोठ पुरिँदा दुई जनाको मृत्यु

काठमाडौं। अविरल वर्षापछि गएको पहिरोले घर र गोठ पुरिँदा रोल्पाको थबाङ गाउँपालिका–५, बोटलबारामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ–५ बोटलबाराकी १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६० वर्षीय कमलबहादुर पुन मगर रहेका छन्। पहिरोमा परी घाइते हुनेमा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर रहेका छन्।

प्रहरीका अनुसार साउन २७ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा घरसहित गोठ पुरिएका थिए। घटनाको जानकारी पाएपछि प्रहरीले राति घटनास्थलमा टोली पठाएको थियो।

प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरोमा पुरिएका घाइतेलाई उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको छ। दुवै घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार पहिरोका कारण करिब छवटा घर तथा गोठमा क्षति पुगेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Read More

आज पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् सचिवालयका अनुसार आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ। अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्न लागेको हो।

बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ। यस्तै, बिहान १०ः०० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ मा परेका संशोधनहरूमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरिनेछ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ। बैठकमा ‘जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धमा’ छलफल हुने कार्यक्रम छ।

पूर्वाधार विकास समितिको बैठक बिहान १०ः०० बजे बस्नेछ। बैठकमा खानेपानी आपूर्ति कार्ययोजनाको प्रतिवेदनमाथि छलफल गरिनेछ।

यस्तै, बिहान ११ः०० बजे बस्ने महिला तथा सामाजिक विकास समितिको बैठकमा राष्ट्रिय दलित आयोगको कामकारबाही तथा प्रगतिका विषयमा छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

Read More

राष्ट्रियसभा बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्नेछ। आजको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुने सम्भावित कार्यसूची रहेको छ।

विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुने

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

राष्ट्रियसभाको बैठकमा उक्त प्रस्ताव पेस भएसँगै आन्तरिक वायुसेवासँग सम्बन्धित दायित्व तथा व्यवस्थाका विषयमा छलफल अघि बढ्नेछ। बैठकको सम्भावित कार्यसूचीअनुसार मन्त्री पौडेलले विधेयकलाई छलफलका लागि सभासमक्ष प्रस्तुत गर्नेछन्।

Read More

मौसम पूर्वानुमान

काठमाडौं । देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानको आसपासमा रहेको छ। यसका कारण देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रही विभिन्न प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

हाल हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली देखिएको छ। त्यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

कोशी प्रदेश: आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। केही स्थानमा मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना छ। तराई क्षेत्रमा भने आंशिक बदली रहने र थोरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने विभागले जनाएको छ। रातिको समयमा पनि हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना छ।

मधेस प्रदेश: दिउँसो प्रदेशभर आंशिक बदली रहनेछ। केही स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने सम्भावना छ। राति पनि मौसममा सामान्य बदली रहने र एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

बागमती प्रदेश: दिउँसो हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने केही स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुनसक्नेछ। तराई क्षेत्रमा थोरै स्थानमा वर्षाको सम्भावना छ। राति हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा वा हिमपात हुनसक्ने विभागले जनाएको छ।

गण्डकी प्रदेश: दिउँसो हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहने र केही स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुने सम्भावना छ। तराई भूभागका थोरै स्थानमा पनि मध्यमसम्म वर्षा हुनसक्नेछ। राति हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेश: दिउँसो हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ र केही स्थानमा मध्यमसम्म वर्षा हुनसक्नेछ। तराईका थोरै स्थानमा पनि मध्यमसम्म वर्षाको सम्भावना छ। राति प्रदेशका हिमाली तथा पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने विभागले जनाएको छ।

कर्णाली प्रदेश: दिउँसो हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। केही स्थानमा मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना छ। राति पनि हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा वा हिमपात हुनसक्ने पूर्वानुमान छ।

सुदूरपश्चिम प्रदेश: दिउँसो हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने र थोरै स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुनसक्नेछ। तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने एक–दुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। राति हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा वा हिमपात हुनसक्नेछ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

भारी वर्षा हुनसक्ने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले पूर्वसावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

Read More

आजको राशिफल

२०८३ साउन २८ गते (१३ अगस्ट २०२६), बिहीवार : आज श्रावण शुक्लपक्ष प्रतिपदा तिथि परेको छ। आजको दिन अश्लेषा नक्षत्र रहेकोमा बिहान ७ः४१ बजेपछि मघा नक्षत्र सुरु हुनेछ। त्यस्तै, चन्द्रराशि कर्कट रहेकोमा ७ः४१ बजेपछि चन्द्रमा सिंह राशिमा प्रवेश गर्नेछ। नक्षत्र र चन्द्रराशिमा हुने यस परिवर्तनले दिनभरका विभिन्न राशिका व्यक्तिको सोच, व्यवहार, कामकाज, अध्ययन, आर्थिक गतिविधि तथा सम्बन्धमा फरक प्रभाव पार्न सक्छ। कसैका लागि नयाँ अवसर र उपलब्धिको बाटो खुल्नेछ भने केही राशिले निर्णय गर्दा संयम र सावधानी अपनाउनुपर्ने देखिन्छ। आजको दिन मेहनत, बुद्धिको उचित प्रयोग र परिस्थितिअनुसार अघि बढ्नेहरूका लागि सकारात्मक परिणाम प्राप्त हुने संकेत छन्।

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बुद्धि र विवेकको उचित प्रयोग गर्दा लक्ष्य हासिल गर्न सफल भइनेछ। नयाँ फाइदाका स्रोत पहिल्याउने अवसर मिल्नेछ भने अध्ययनमा पनि राम्रो उपलब्धि हात लाग्नेछ। बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नुका साथै प्रतिष्ठित काम सम्पादन गर्ने मौका प्राप्त हुनेछ। सेवामूलक तथा सामाजिक काममा सहभागी हुने अवसर मिल्न सक्छ। लामो समयदेखि प्रतीक्षा गरिएको नतिजा सकारात्मक रहनेछ। गुरुजन र सन्तानबाट प्राप्त सहयोग लाभदायी बन्नेछ। तत्कालभन्दा भविष्यमा राम्रो प्रतिफल दिने कामको सुरुवात गर्न सकिने समय छ।

वृष – Taurus

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

विभिन्न अवसर प्राप्त भए पनि परिस्थिति आफूले सोचेअनुसार पूर्ण रूपमा अनुकूल नहुन सक्छ। हतारमा निर्णय गर्दा भइरहेको कामसमेत बिग्रन सक्ने भएकाले संयम अपनाउनुहोला। आफ्ना कमजोरीमाथि अरूले टिप्पणी गर्न सक्छन्। शुभचिन्तकहरूको भावना र सुझावलाई ध्यान दिएर अघि बढ्नु लाभदायी हुनेछ। रोकिएका काम दोहोर्‍याएर प्रयास गर्दा पूरा हुने सम्भावना छ। साथीभाइको सहयोग जुट्दा आत्मविश्वास र उत्साह बढ्नेछ। विशेषगरी महत्त्वपूर्ण काममा निर्णय लिनुअघि पर्याप्त सोचविचार गर्नु उचित हुनेछ।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, हा

प्रयत्न र आत्मविश्वासका साथ अघि बढ्दा ठूला कामसमेत सफलतापूर्वक सम्पादन गर्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हात पार्ने अवसर मिल्नेछ। आवश्यक स्रोत–साधन जुट्नाले आफ्नो मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ। आम्दानी तथा लाभांश बढ्नाले दैनिकीमा सकारात्मक परिवर्तन आउने संकेत छ। लामो समयदेखि रोकिएका काम बन्नेछन् र नयाँ काम सुरु गर्ने अनुकूल समय छ। उद्योग तथा व्यापारमा विशेष फाइदा हुन सक्छ। शत्रु तथा प्रतिस्पर्धीलाई आफ्नो क्षमता र रणनीतिका आधारमा पछि पार्न सकिनेछ।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अध्ययनमा प्रगति हुनुका साथै लामो समयदेखि चिताएको काम पूरा गर्ने अवसर मिल्नेछ। विगतमा भएका कमजोरी पहिचान गरी त्यसलाई सुधार्ने राम्रो मौका प्राप्त हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने लेखन, सिर्जनात्मक अभिव्यक्ति तथा सञ्चारसम्बन्धी काममा निखार आउने समय छ। निरन्तर मेहनतले समाजमा सम्मानित स्थान दिलाउन सक्छ। मान–सम्मान र प्रतिष्ठा प्राप्त हुने सम्भावना छ। आम्दानीका स्रोत विस्तार हुनुका साथै भविष्यमा दिगो फाइदा दिने काममा सम्झौता वा लगानी गर्ने अवसर मिल्नेछ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सहयोगी व्यक्तिहरू प्रशस्तै भेटिनेछन् र उनीहरूको साथले नयाँ काम अघि बढाउन सहज हुनेछ। सिर्जनात्मक तथा रचनात्मक कार्य सुरु गर्न अनुकूल समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजन तथा मनोरञ्जनको अवसर मिल्न सक्छ। विगतका सफलताले थप काम गर्न आत्मविश्वास र हौसला प्रदान गर्नेछ। नयाँ काम वा जिम्मेवारीको प्रस्ताव आउन सक्छ। आर्थिक रूपमा राम्रो आम्दानी गर्ने अवसर मिल्नेछ। विगतमा भएका कमजोरी सुधार्दै अघि बढ्न सकिनेछ। लामो समयदेखि टाढिएका वा विछोडिएका आफन्तसँग भेटघाट हुने सम्भावना छ।

कन्या – Virgo

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

अचानक हुने खर्चका कारण आर्थिक अभाव महसुस हुन सक्छ। परिस्थितिवश आफन्त तथा प्रियजनबाट केही समय टाढिनुपर्ने अवस्था आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने आवश्यकता पर्न सक्छ भने अवसर प्राप्त गर्न केही दौडधुप पनि गर्नुपर्नेछ। टाढा रहेका साथीभाइसँग सम्पर्क बढ्नेछ। विदेश भ्रमण वा विदेशसम्बन्धी कामका लागि प्रयत्न गर्ने समय छ। तत्कालको फाइदाको लोभमा पर्दा धनमालसम्बन्धी नोक्सानी हुन सक्ने भएकाले सावधानी अपनाउनुहोला। कुनै काम बीचमै रोकिन सक्छ, त्यसलाई पूरा गर्न पुनः प्रयास गर्नुपर्नेछ।

तुला – Libra

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

मेहनतको राम्रो परिणाम प्राप्त हुने दिन छ। भविष्यमा दिगो फाइदा दिने काम सुरु गर्न सकिनेछ। आयआर्जनका नयाँ स्रोत थपिनुका साथै लामो समयदेखि प्रतीक्षा गरिएको नतिजाले उत्साह बढाउनेछ। व्यापार व्यवसायमा लाभांश बढ्नाले मन प्रसन्न हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। बचत वा सञ्चित धनलाई उचित लगानीका रूपमा प्रयोग गर्दा लाभ प्राप्त हुन सक्छ। अध्ययन तथा ज्ञानवृद्धिका क्षेत्रमा नयाँ कुरा सिक्ने र आफूलाई थप सक्षम बनाउने अवसर मिल्नेछ।

वृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

मेहनत र परिश्रम बढी गर्नुपर्ने भए पनि समग्रमा समय फलदायी रहनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ भने सहयोग गर्ने व्यक्तिहरूको संख्या पनि बढ्नेछ। रचनात्मक कामबाट राम्रो फाइदा लिन सकिनेछ। विगतमा प्राप्त सफलताले थप उपलब्धि हासिल गर्न हौसला प्रदान गर्नेछ। विशिष्ट तथा प्रभावशाली व्यक्तिहरूसँग मित्रता र सम्बन्ध विस्तार हुने सम्भावना छ। आफ्नो कार्यक्षेत्रमा प्रभाव र प्रभुत्व बढाउन सकिनेछ। निरन्तर मिहिनेतले समाजमा स्थापित हुन मद्दत गर्नेछ। चुनौतीहरूलाई आत्मविश्वासका साथ सामना गरेर लाभ उठाउने अवसर छ।

धनु – Sagittarius

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

परिस्थिति क्रमशः अनुकूल बन्दै जानेछ र सोचेअनुसार काम अघि बढाउन सकिनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म, पूजा तथा सेवामूलक कार्यतर्फ आकर्षित गराउनेछ। आफ्नो मेहनतको उचित फल प्राप्त हुनेछ। साथीभाइबाट राम्रो सहयोग जुट्ने भएकाले महत्त्वपूर्ण काममा सहजता आउनेछ। रचनात्मक तथा सिर्जनात्मक कार्यमा लाग्न अनुकूल समय छ। आवश्यक भौतिक साधन जुट्नेछन्। नोकरी तथा व्यवसायमा विशेष लाभ प्राप्त हुन सक्छ। भविष्यका लागि नयाँ कामको आधार तयार गर्ने र महत्त्वपूर्ण योजनाको जग बसाउने अवसर मिल्नेछ।

मकर – Capricorn

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

अस्वस्थता वा शारीरिक कमजोरीका कारण केही असहजता महसुस हुन सक्छ। हतारमा वा उचित सोचविचार नगरी गरिएको निर्णयले समस्या निम्त्याउन सक्छ। बलजफ्ती गरेर काम अघि बढाउँदा उल्टै कठिनाइ बढ्न सक्ने भएकाले परिस्थितिअनुसार अघि बढ्नुहोला। विभिन्न कारणले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउन सक्छ। अध्ययनमा पछि पर्ने सम्भावना छ भने व्यापारमा पनि सोचेजस्तो फाइदा नउठ्न सक्छ। नतिजा सुधार्न केही काम दोहोर्‍याएर गर्नुपर्ने हुन सक्छ। बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ने अवस्था आउन सक्ने भएकाले धैर्य र सावधानी आवश्यक छ।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

विभिन्न अवसरले पछ्याउनेछन् र कामको सिलसिलामा प्रभावशाली तथा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्ने सम्भावना छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। आफ्नो लक्ष्यप्रति केन्द्रित भएर प्रयत्न गर्दा सफलता हासिल गर्न सहज हुनेछ। नोकरी तथा व्यवसायमा संलग्न व्यक्तिका लागि दिन लाभदायी रहनेछ। आवश्यक भौतिक साधन तथा सामग्री जुट्नेछन्। तारिफयोग्य काम गर्न सक्दा धेरैको मन जित्न सकिनेछ। आफूलाई रुचि लागेका विषय तथा क्षेत्रमा लगानी बढाउने अवसर पनि प्राप्त हुन सक्छ।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

मिहिनेती व्यक्तिका लागि आजको समय उत्साहजनक र उपलब्धिमूलक रहनेछ। प्रतिस्पर्धामा सफलता हात लाग्नेछ भने विरोध वा द्वेष राख्नेहरू कमजोर बन्नेछन्। आफ्नो पराक्रम र क्षमताका आधारमा अधिकार स्थापित गर्न सकिनेछ। चुनौतीपूर्ण परिस्थितिलाई समेत आत्मविश्वासका साथ पार गर्दै काम सफल बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रु तथा प्रतिस्पर्धीमाथि विजय प्राप्त गर्ने अवसर मिल्नेछ। व्यापारलगायत आर्थिक लाभ हुने कामको सुरुवात गर्न सकिनेछ। महत्त्वाकांक्षी योजना तथा नयाँ कार्यको शुभारम्भका लागि पनि समय अनुकूल देखिन्छ।

Read More