काठमाडौं । पहिरो, बाढी तथा भूकम्पजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेका पश्चिम नेपालका स्थानीय तह र समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ गरिएको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जोखिमयुक्त क्षेत्रलाई लक्षित गर्दै परियोजना सञ्चालनमा ल्याइएको हो।
युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित यस परियोजनामा पिपल इन निड (पिन), आत्मनिर्भर सेवा केन्द्र, सेभ द चिल्ड्रेन इन्टरनेशनल तथा स्कट विल्सन नेपालको साझेदारी रहेको छ। यसअघि सञ्चालनमा रहेको ‘प्रतिबद्ध–३’ परियोजना सम्पन्न भएसँगै यसको निरन्तरताका रूपमा ‘प्रतिबद्ध–४’ सुरु गरिएको हो।
सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘प्रतिबद्ध–३ समापन तथा प्रतिबद्ध–४ शुभारम्भ’ कार्यक्रममा परियोजनाको कार्ययोजना, प्राथमिकता र अपेक्षित उपलब्धिबारे जानकारी दिइएको थियो। पिन कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीका अनुसार ‘प्रतिबद्ध–३’ परियोजना सन् २०२४ देखि २०२६ सम्म बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहमा कार्यान्वयन गरिएको थियो। रु ३० करोड ५७ लाखभन्दा बढी बजेटमा सञ्चालित उक्त परियोजनाले विपद् व्यवस्थापन, समुदायको क्षमता विकास तथा पूर्वतयारीका क्षेत्रमा उल्लेखनीय अनुभव र सिकाइ हासिल गरेको जनाइएको छ।
नयाँ परियोजनाअन्तर्गत सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाका केदारस्युँ र थलारा गाउँपालिका, कर्णाली प्रदेशको जाजरकोटस्थित बारेकोट गाउँपालिका र नलगाड नगरपालिका तथा लुम्बिनी प्रदेशको प्यूठान जिल्लाका सरुमारानी र माण्डवी गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिनेछ। परियोजनाका व्यवस्थापक शालिकराम घिमिरेका अनुसार रु १५ करोड ८४ लाखभन्दा बढी बजेटमा सञ्चालन हुने यस परियोजनाले बहुप्रकोप पूर्वतयारी, जोखिम न्यूनीकरण तथा समुदाय–आधारित विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका निमित्त प्रमुख सचिव विपीन आचार्यले कर्णालीजस्तो भौगोलिक रूपमा संवेदनशील क्षेत्रमा यस्ता परियोजनाको निरन्तरताले विपद् पूर्वतयारी, प्रतिकार्य, राहत तथा पुनःस्थापनाका प्रयासलाई थप प्रभावकारी बनाउने बताए। उनले विपद् जोखिमसम्बन्धी तथ्याङ्क व्यवस्थापन र समुदायस्तरमा तयारी अभिवृद्धिमा समेत परियोजनाले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
प्रदेश सचिव लक्ष्मीकुमार विकले सामुदायिक विपद् व्यवस्थापन समितिलाई वडा तहसँग थप प्रभावकारी रूपमा जोड्नुपर्ने आवश्यकता औँल्याए। उनले बाढी, पहिरो लगायतका विपद्का सूचना एकीकृत रूपमा प्राप्त गर्न सकिने आधुनिक संयन्त्र विकास गर्न सुझाव दिए।
शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख उत्तम गौतमले ‘प्रतिबद्ध’ परियोजनाले जाजरकोटका बारेकोट र नलगाड क्षेत्रका समुदायमा सकारात्मक प्रभाव पारेको उल्लेख गरे। उनका अनुसार परियोजनाले स्थानीय क्षमताको विकास, बायोइन्जिनियरिङ प्रवर्द्धन तथा समुदाय–केन्द्रित विपद् व्यवस्थापनका क्षेत्रमा प्रभावकारी अभ्यास स्थापित गरेको छ।
पिपल इन निडका नेपालस्थित देशीय निर्देशक सिमोन डी भिसेन्जले पश्चिम नेपालका उच्च जोखिमयुक्त क्षेत्रमा समुदायलाई सुरक्षित बनाउन परियोजनाले दीर्घकालीन दृष्टिकोणका साथ काम गरिरहेको बताए। उनले विपद् सचेतना, अस्थायी आवास व्यवस्थापन, क्षमता अभिवृद्धि, बहुप्रकोप पूर्वतयारी तथा सामाजिक सहभागितामा आधारित कार्यक्रममार्फत स्थानीय समुदायको उत्थानशीलता सुदृढ गरिने जानकारी दिए।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले हालसम्मका उपलब्धि, सिकाइ र चुनौतीहरूको समीक्षा गर्दै सफल अभ्यासहरूको दस्तावेजीकरण, विस्तार तथा दिगोपन सुनिश्चित गर्नु आगामी चरणको प्रमुख आवश्यकता रहेको निष्कर्ष निकालेका थिए।




