२०८३ श्रावण १

सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, उपत्यका र काभ्रेमा निगरानी जारी

काठमाडौँ । नेपालका सात जिल्लामा बर्डफ्लु रोग नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा देखिएको बर्डफ्लु संक्रमण नियन्त्रणमा आएको हो।

पन्छीमा लाग्ने उच्च मृत्युदरयुक्त सङ्क्रामक रोगका रूपमा चिनिने बर्डफ्लु पछिल्लो समय ११ जिल्लामा फैलिएको थियो। विभागका अनुसार हाल काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने रोग नियन्त्रणका लागि थप निगरानी र व्यवस्थापनका काम जारी छन्।

रोग नियन्त्रणका क्रममा विभागले प्राविधिक टोली परिचालन गरी सङ्क्रमित क्षेत्रका पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको जनाएको छ।

पशु सेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार सङ्क्रमण नियन्त्रणका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै आवश्यक जनशक्ति परिचालन गरिएको छ। बर्डफ्लु देखा परेका क्षेत्रमा जोखिम न्यूनीकरणका लागि नियमित अनुगमन र नियन्त्रणका उपाय अवलम्बन गरिएको उनले बताए।

यसैगरी, पशु क्वारेन्टाइन कार्यालयहरूले उच्च सतर्कता अपनाउँदै गस्ती परिचालन गरी अवैध रूपमा भित्र्याइएका पन्छी नष्ट गरेका थिए। संक्रमण नियन्त्रणको अवस्था सुधार भएपछि पन्छी तथा पन्छीजन्य सामग्रीको ओसारपसारमा लगाइएको कडाइ क्रमशः खुकुलो बनाइएको विभागले जनाएको छ।

विभागका अनुसार बर्डफ्लु नियन्त्रणका लागि रोग देखिएका क्षेत्रमा तत्काल पहिचान, नमुना परीक्षण, संक्रमित पन्छीको व्यवस्थापन तथा जैविक सुरक्षाका उपायलाई प्राथमिकतामा राखिएको छ।

विशेषज्ञहरूका अनुसार बर्डफ्लु नियन्त्रणका लागि किसान, व्यवसायी तथा सम्बन्धित निकायले जैविक सुरक्षा मापदण्ड पालना गर्नु आवश्यक हुन्छ। संक्रमणको सम्भावना देखिएमा तत्काल सम्बन्धित पशु सेवा निकायलाई जानकारी गराउन विभागले आग्रह गर्दै आएको छ।