काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप मा सञ्चालन हुने एक्स्पोमा चारपांग्रे, दुईपांग्रे तथा व्यावसायिक सवारीसाधनका ४९ ब्रान्ड सहभागी हुने आयोजकले जनाएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा नाइमा अध्यक्ष रीतु सिंह वैद्य ले एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै यसलाई नेपालको सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताइन्। उनका अनुसार एक्स्पोले सवारीसाधनको प्रदर्शनीमा मात्र सीमित नभई आधुनिक, दिगो र सर्वसुलभ यातायात प्रणालीको प्रवर्द्धन गर्ने साझा प्लेटफर्मका रूपमा भूमिका खेल्नेछ।
आयोजकका अनुसार प्रदर्शनीका लागि ४९ वटा स्टल पारदर्शी चिठ्ठा प्रक्रियामार्फत बाँडफाँट गरिएको छ। तीमध्ये २६ वटा स्टल चारपांग्रे सवारी ब्रान्ड र २३ वटा स्टल दुईपांग्रे तथा व्यावसायिक सवारी ब्रान्ड का लागि छुट्याइएको छ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो योजना समितिका अध्यक्ष गौरव शारदा का अनुसार टाटा, किया, डेन्जा, आमोडा, एमजी लगायतका चर्चित अटोमोबाइल ब्रान्डहरूले प्रदर्शनीमा आफ्ना नवीनतम उत्पादन र प्रविधि प्रदर्शन गर्नेछन्।
प्रदर्शनीमा अत्याधुनिक सवारीसाधन, विद्युतीय तथा स्मार्ट मोबिलिटी समाधान, नयाँ प्रविधि र नवप्रवर्तन प्रस्तुत गरिनेछ। साथै विभिन्न कम्पनीहरूले नयाँ उत्पादन सार्वजनिक गर्ने, अत्याधुनिक प्रविधिको प्रत्यक्ष प्रदर्शन गर्ने तथा अटोमोबाइल र मोबिलिटी क्षेत्रसँग सम्बन्धित ज्ञानमूलक सत्र सञ्चालन गर्ने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ।
नाइमाका अनुसार एक्स्पोले नेपालमा आधुनिक मोबिलिटी प्रविधिको विस्तार, अटोमोबाइल उद्योगको प्रवर्द्धन र उपभोक्तालाई नवीनतम प्रविधिसँग प्रत्यक्ष रूपमा परिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।




