२०८३ भाद्र २

साउने सङ्क्रान्ति

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका साथ मनाइँदैछ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाउने परम्परा रहिआएको छ। आजैदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले दक्षिणायन सुरु हुने विश्वास छ। वैदिक सनातन परम्परामा माघ १ गतेदेखि सुरु हुने उत्तरायण र साउन १ गतेदेखि सुरु हुने दक्षिणायनलाई विशेष महत्वका साथ मनाइन्छ।

नेपाल कृषिप्रधान देश भएकाले अधिकांश मानिस असार महिनाभर रोपाइँलगायत कृषिकर्ममा व्यस्त हुन्छन्। यही क्रममा हिलोमैलोका कारण लाग्न सक्ने छालासम्बन्धी रोगबाट बच्ने विश्वासका साथ साउने सङ्क्रान्तिका दिन ‘लुतो फाल्ने’ परम्परा प्रचलित रहेको संस्कृतिविद् प्रा. डा. देवमणि भट्टराई बताउनुहुन्छ।

परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा र नासपातीलगायत औषधीय गुण भएका वनस्पति प्रयोग गरी कण्डारक नामक राक्षसको पूजा गर्ने र अगुल्टो फाल्ने चलन छ। लुतो फाल्ने क्रममा आआफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने तथा ढोका बन्द गर्ने प्रचलन पनि नेपाली समाजमा विद्यमान छ।

साउन महिनालाई भगवान् शिवको विशेष पूजा–आराधनाको महिना मानिन्छ। यस अवधिमा महिलाले हरियो चुरा तथा हरियो वस्त्र धारण गरेर प्रकृतिसँगको निकटता झल्काउने परम्परा रहेको छ। साउन महिना भगवान् शिवलाई समर्पित भएकाले पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।