काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका चार वटा संसदीय समितिको बैठक आज बस्दैछ। अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिले विभिन्न विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।
अर्थ समितिको बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ। बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल हुने कार्यसूची रहेको छ। छलफलमा अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव, कानुन मन्त्रालयका सचिव तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधिको सहभागिता रहनेछ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ। समितिले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि विषय विज्ञ, संस्कृति मन्त्रालय, आदिवासी जनजाति आयोग र यूनेस्को नेपालका प्रतिनिधिसँग छलफल गर्नेछ।
कृषि तथा प्राकृतिक स्रोत समितिले दुई वटा बैठक आयोजना गर्दैछ। बिहान ९ः३० बजे हुने पहिलो बैठकमा वन तथा वातावरण मन्त्रालयको कार्यप्रगति, आगामी योजना तथा वन–पर्यावरण क्षेत्रसँग सम्बन्धित गतिविधिबारे समीक्षा गरिनेछ।
यस्तै, दिउँसो १२ बजे बस्ने दोस्रो बैठकमा रासायनिक मलको खरिद, आयात, मौज्दात, वितरण अवस्था र आगामी आपूर्ति रणनीतिबारे छलफल हुनेछ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ। उक्त बैठकमा राष्ट्रिय समावेशी आयोगको कामकारबाही र हालसम्मको प्रगतिका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।




