२०८३ श्रावण १०

दीपक भट्ट र सुलभ अग्रवाल धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्ने आदेश दिएको छ।

न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार थुनछेक आदेश जारी गर्दै बिमासम्बन्धी कसुरमा अग्रवालसँग दुई करोड रुपैयाँ र भट्टसँग डेढ करोड रुपैयाँ धरौटी माग गरेको हो।

त्यस्तै, धितोपत्रसम्बन्धी कसुरमा अदालतले अग्रवालसँग डेढ करोड रुपैयाँ तथा भट्टसँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ।

जिल्ला अदालत काठमाडौँले करिब एक सातासम्म चलेको निरन्तर सुनुवाइपछि बिहीबार थुनछेक आदेश जारी गरेको हो।

यसैबीच, हिमालयन रिइन्स्योरेन्सको संस्थापक शेयर बिक्रीसम्बन्धी अर्को मुद्दामा सुलभ अग्रवालसँग अदालतले दुई करोड ३० लाख रुपैयाँ धरौटी माग गरेको छ।