२०८३ श्रावण १४

पाकिस्तानमा मनसुनजन्य विपद् : एक महिनामा १०९ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा जारी मनसुन वर्षा र त्यसबाट उत्पन्न बाढी तथा अन्य घटनाका कारण पछिल्लो एक महिनामा कम्तीमा १०९ जनाको मृत्यु भएको छ। मौसमविद्हरूले आगामी दिनमा पनि देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना औँल्याएपछि सरकारले विपद् व्यवस्थापनको तयारीलाई तीव्र बनाएको छ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार जुन २६ यता मनसुनसँग सम्बन्धित घटनामा १०९ जनाको ज्यान गएको हो। तीमध्ये धेरैको मृत्यु घर तथा संरचना भत्किँदा भएको जनाइएको छ। मृत्यु हुनेमध्ये ठूलो संख्या अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तका नागरिक रहेका छन्।

सम्भावित बाढीको जोखिम भएका क्षेत्रको तयारीबारे समीक्षा गरेपछि विपद् व्यवस्थापन अधिकारीहरूले प्रभावित हुन सक्ने समुदायलाई समयमै सूचना दिने, नदी किनारका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा आवश्यक परे पूर्वसावधानीका रूपमा स्थानान्तरण गर्ने योजनामाथि छलफल गरेका छन्।

गत साता सांस्कृतिक सहर लाहोरसहित पाकिस्तानका विभिन्न क्षेत्रमा भएको लगातार वर्षाका कारण धेरै क्षेत्र डुबानमा परेका थिए। सडकमा पानी जम्दा जनजीवन प्रभावित भएको थियो भने सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरूले सरकारको विपद् तयारी र उद्धार व्यवस्थापनमाथि प्रश्न उठाएका थिए।

अधिकारीहरूले पाकिस्तानमा सन् २०२२ मा आएको जस्तै ठूलो बाढीको जोखिम अझै कायम रहेको चेतावनी दिएका छन्। सन् २०२२ को विनाशकारी बाढीले देशको करिब एक तिहाइ भूभाग प्रभावित बनाएको थियो। उक्त विपद्मा एक हजार ७३७ जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस विस्थापित भएका थिए।