२०८३ भाद्र ८

विपद् प्रभावितलाई तत्काल राहत र पुनःस्थापनाको व्यवस्था गर्न कर्णाली सरकारसँग प्रदेशसभा सदस्यको माग

काठमाडौं । कर्णाली प्रदेशसभा सदस्यहरूले प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत, पुनःस्थापना र आवश्यक सहयोग उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रदेशसभाको बिहीबार बसेको बैठकको विशेष समयमा नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले हुम्लाको नेप्का, कालिकोटको दाहाँ र जाजरकोटको रिसाङलगायत क्षेत्रमा प्राकृतिक विपद्बाट ठूलो क्षति भएको बताए। उनले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराएर सरकारको उपस्थितिको अनुभूति गराउन आग्रह गरे।

कर्णालीको विकट भूगोल, कमजोर सडक पूर्वाधार, नदी–नाला र भिरालो भूभागका कारण प्रदेश प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै शाहीले विपद् प्रभावितलाई समयमै उचित राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरे।

पूर्वमुख्यमन्त्री एवं प्रदेशसभा सदस्य राजकुमार शर्माले प्रदेशसभा सदस्यहरूले उठाएका विषयलाई दलगत दृष्टिकोणबाट नभई अध्ययन र तथ्यका आधारमा सम्बोधन गर्न सरकारलाई आग्रह गरे। उनले संघीयताको बलियो आधारका रूपमा प्रदेशलाई विकास गर्न प्रदेश सरकारलाई स्वायत्त रूपमा काम गर्ने वातावरण आवश्यक रहेको बताए।

प्रदेशसभा सदस्य सुरेश अधिकारीले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सरकारी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए। दक्षिणा शाहीले कालिकोटको खाँडाचक्र नगरपालिका–६, दाहाँस्थित इम्रीमा बाढी तथा पहिरोका कारण गाईवस्तु, अन्नपात र घरमा क्षति पुगेकाले प्रभावितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्।

बैठकमा कल्याणी खड्काले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित र अधिकार संरक्षणसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताइन्।

त्यस्तै, प्रदेशसभा सदस्यहरू उर्मिला विश्वकर्मा, वेदराज सिंह र देवेन्द्र शाहीले जाजरकोट, कालिकोट, हुम्ला र रुकुमपश्चिममा पहिरोका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।

सभामुख नन्दा गुरुङले विशेष समयमा प्रदेशसभा सदस्यहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीलाई सात दिनभित्र जवाफ दिन रुलिङ गरेकी छन्।