काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन र वातावरणसम्बन्धी विषयलाई सरकारले राष्ट्रिय प्राथमिकताको एजेन्डाका रूपमा अघि बढाउनुपर्ने बताएकी छिन्।
अति कम विकसित मुलुकहरूको मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन जानुअघि मन्त्रालयमा आयोजित विज्ञहरूसँगको छलफलमा मन्त्री चौधरीले जलवायु परिवर्तनको मुद्दालाई नेपालको अधिकार र दाबीका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढंगले उठाउनुपर्नेमा जोड दिइन्।
नेपालले विश्वसामु जलवायु न्यायलाई अधिकारका रूपमा स्थापित गर्न नसकेसम्म जलवायु सङ्कटबाट हुने क्षति र त्यसले निम्त्याउने समस्यालाई राष्ट्रिय प्राथमिकतामा राख्न कठिन हुने उनको भनाइ थियो।
विश्वको सर्वोच्च शिखर सगरमाथासहित महत्त्वपूर्ण हिमाली क्षेत्र नेपालमा रहेकाले जलवायु परिवर्तनबाट प्रभावित हिमाली क्षेत्रका मुद्दालाई विश्वस्तरमा स्थापित गर्न आवश्यक रहेको मन्त्री चौधरीले बताइन्।
उनले जलवायु परिवर्तनको विषयलाई एक–दुईवटा कार्यक्रम वा अन्तर्राष्ट्रिय सम्मेलनमा मात्र सीमित गर्न नहुनेमा जोड दिइन्। यो चुनौती समाधान गर्न सरकारको एकल प्रयास पर्याप्त नहुने भन्दै उनले नागरिक समाज, विज्ञ, सञ्चारमाध्यम र सम्बन्धित सबै सरोकारवालाबीच सहकार्य र समन्वय आवश्यक रहेको बताइन्।




