२०८३ भदौ १७ गते (२ सेप्टेम्बर २०२६) बुधवार, भाद्र कृष्णपक्ष षष्ठी तिथि परेको छ। आज भरणी नक्षत्र र चन्द्रमा मेष राशिमा रहेको छ। ग्रह–नक्षत्रको प्रभावले आज विभिन्न राशिका जातकहरूको दैनिक जीवनमा काम, व्यापार, आर्थिक पक्ष, पारिवारिक सम्बन्ध, प्रेम, स्वास्थ्य तथा यात्रालगायतका विषयमा फरक–फरक प्रभाव पर्ने देखिन्छ। कसैका लागि नयाँ अवसर र उपलब्धिको ढोका खुल्नेछ भने केही राशिले काममा ढिलासुस्ती, स्वास्थ्य तथा आर्थिक पक्षमा सावधानी अपनाउनुपर्ने अवस्था आउन सक्छ। आजको दिनमा आफ्नो क्षमता र परिस्थितिलाई बुझेर अघि बढ्दा सकारात्मक परिणाम हासिल गर्न सकिनेछ।
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। आत्मविश्वास र आँटले अघि बढ्दा काम बन्नुका साथै मनग्य धन आर्जन गर्ने अवसर मिल्नेछ। लामो समयदेखि विछोडिएका परिवारजनसँग भेटघाट हुने तथा रमाइलो जमघटमा सहभागी हुने अवसर प्राप्त हुन सक्छ। स्वादिष्ट भोजन तथा मनोरञ्जनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको सम्बन्ध अझ कसिलो बन्नेछ। साथै, विगतका कमीकमजोरी पहिचान गरी सुधार गर्ने राम्रो अवसर पनि प्राप्त हुनेछ।
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन्। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। केही खर्च लागे पनि नयाँ काममा लगानी गर्ने समय छ। मिहिनेतले प्रतिस्पर्धीहरू पछि पर्नेछन्। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काममा अलि टाढाका साथीभाइले सहयोग जुटाउनेछन्।
का, कि, कु, घ, ङ, छ, के, को, हा
नयाँ काम प्रारम्भ हुनेछ। गरेको कामले राम्रै लाभ दिलाउनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुने समय छ। आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा गर्न सहज हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विभिन्न अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन तथा पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ।
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थितिवश फाइदा नहुने काममा अलमल हुन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउने प्रयास गर्नेछन्। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। आफ्नो क्षेत्रमा समेत कमजोर साबित हुन सकिने भएकाले निर्णय गर्दा विशेष सावधानी अपनाउनुहोला।
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिवश काममा अलमल हुनेछ। लाभांश बाहिरिनाले समस्या पर्न सक्छ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। मेहनत र सावधानीले उपलब्धि जोगाउन सफल भइनेछ।
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले थप उत्साह जगाउनेछ। विभिन्न सहयोग तथा उपहार प्राप्त हुनेछन्। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। स्वास्थ्यमा भने ध्यान पुर्याउनुहोला। फुर्सद मिल्नुका साथै यात्रा गर्ने साइत पनि जुर्न सक्छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुने समय छ।
तो, ना, नि, नु, ने, नो, या, यि, यु
रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा गुमेको अधिकार स्थापित गर्न सकिनेछ। सानै प्रयत्नले लक्ष्यमा पुग्न सकिनेछ। भौतिक साधन जुट्नेछन् र दिगो काम सुरु हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ।
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
समयमा काम नगर्ने बानीले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काम थाल्न नसकिने अवस्था आउन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा भने जगाउनेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। सन्तानको साथले काम बन्नेछ।
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरीमा सुधार ल्याउन सकिनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। पहिले टाढिएका आफन्त नजिकिन सक्छन्। असल व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्ना काममा अरूको मुख ताक्ने बानीले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि त्यसको प्रतिफल हात पार्न केही समय लाग्न सक्छ।
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग तथा व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि तथा पेसा–व्यवसायमा प्रशस्त धन आर्जन गर्ने मौका छ। प्रतिस्पर्धाले समेत फाइदा दिलाउनेछ।
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
काममा राम्रो सुरुवात हुनेछ तर अन्त्यमा सोचेजस्तो नतिजा नआउन सक्छ। धेरै बोल्दा गोपनीयता बाहिरिन सक्ने भएकाले बोलीमा विशेष सावधानी अपनाउनुहोला। केही अवसर प्राप्त हुनेछन् तर काम पूरा गर्न समय लाग्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। शुभचिन्तकहरूको साथ भने पाइनेछ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा चिताएको काम बन्न सक्छ।




