२०८३ असार ३

चिया उद्योग संकटप्रति सरकारको बेवास्ता भएको कांग्रेस सांसद निश्कल राईको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निश्कल राईले चिया किसान र उद्योगहरूको समस्याप्रति सरकारको ध्यान नपुगेको भन्दै प्रतिनिधिसभामा गम्भीर ध्यानाकर्षण गराएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले चिया पिएको भिडियो सार्वजनिक भए पनि चिया उत्पादन गर्ने किसान र उद्योगहरूको समस्यामा भने सरकारको चासो नदेखिएको टिप्पणी गरे।

सांसद राईका अनुसार छिमेकी देश भारतले नेपाली चिया निर्यातमा अवरोध सिर्जना गर्दा पूर्वी जिल्लाका चिया उद्योगहरू प्रभावित भएका छन्। उनले इलाममा मात्र ८३ वटा चिया उद्योग बन्द अवस्थामा रहेको उल्लेख गर्दै किसानहरू आफ्नै उत्पादन नष्ट गर्न बाध्य भएको बताए।

उनले चिया निर्यात रोकिँदा किसान, उद्योगी र बैंक ऋणमा निर्भर व्यवसायीहरू गम्भीर आर्थिक संकटमा परेको बताए। चिया उद्योगमा आश्रित परिवारहरूको रोजीरोटी, बालबालिकाको शिक्षा र समग्र जीवनयापनसमेत प्रभावित भएको उनको भनाइ थियो।

सांसद राईले प्रधानमन्त्री र कृषिमन्त्रीलाई पटक–पटक समस्या बारे जानकारी गराइसकेको भए पनि अहिलेसम्म समाधानका लागि ठोस पहल नभएको गुनासो गरे।

प्रधानमन्त्रीले चिया पसलमा चिया पिउने समय निकाल्न सक्ने तर देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको चिया क्षेत्रको समस्याप्रति बेवास्ता गरेको भन्दै उनले व्यङ्ग्यसमेत गरेका थिए।