काठमाडौं । कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने आग्रह गरेपछि उत्तर कोरियाले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को कडा आलोचना गरेको छ। उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी तथा प्रभावशाली अधिकारी किम यो जोङले आसियानको धारणालाई ‘मूर्खतापूर्ण’ र ‘वास्तविकताविहीन’ भन्दै अस्वीकार गरेकी छन्।
गत साता सम्पन्न आसियान क्षेत्रीय फोरमले उत्तर कोरियाको निरन्तर आणविक हतियार विकासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने उद्देश्यसहित संवादलाई पुनः अघि बढाउनुपर्नेमा जोड दिएको थियो।
सरकारी समाचार संस्था केसीएनएमार्फत जारी वक्तव्यमा किम यो जोङले उत्तर कोरियाको संविधानले देशलाई स्पष्ट रूपमा आणविक शक्ति राष्ट्रका रूपमा मान्यता दिइसकेको अवस्थामा पनि ‘आणविक निशस्त्रीकरण’ को माग गर्नु रणनीतिक सोचको अभाव भएको टिप्पणी गरिन्। उनले कोरियाली प्रायद्वीपको आणविक निशस्त्रीकरणको अवधारणा अब व्यावहारिक र राजनीतिक दुवै दृष्टिले अर्थहीन भइसकेको दाबी गरिन्।
किमले आसियानलाई अमेरिकाको ‘मुखपत्र’ जस्तो भूमिका निर्वाह नगर्न चेतावनी दिँदै उत्तर कोरियाको आणविक नीति कुनै पनि परिस्थितिमा परिवर्तन नहुने स्पष्ट पारिन्। उनका अनुसार देशको आणविक क्षमता राष्ट्रिय सुरक्षाको अपरिवर्तनीय आधार हो।
संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रतिबन्धका बाबजुद उत्तर कोरियाले लामो समयदेखि आफ्नो आणविक हतियार तथा ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। सन् २०२३ मा प्योङयाङले संविधान संशोधन गरी आफूलाई औपचारिक रूपमा आणविक शक्ति राष्ट्रका रूपमा समावेश गरेको थियो।
सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ–उनबीच सम्पन्न शिखर वार्ता निशस्त्रीकरण र प्रतिबन्ध हटाउने विषयमा सहमति जुट्न नसकेपछि विफल भएको थियो। त्यसयता उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय आणविक शक्ति’ भएको अडान दोहोर्याउँदै आएको छ।




