२०८३ श्रावण १४

सुनसरीको अवस्था सामान्य बन्दै, तर कर्फ्यु आदेश भने कायमै

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपपछि तनावग्रस्त बनेको जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। बुधबार बेलुकादेखि बजार खुल्न थालेका छन् भने स्थानीय जनजीवन पनि सामान्यतर्फ फर्किन थालेको छ। यद्यपि, सम्भावित अप्रिय घटना रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको कर्फ्यु आदेश भने अझै कायमै राखेको छ।

गत आइतबार राति दुई समुदायबीच भएको विवाद र झडपपछि उत्पन्न तनावलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले साउन १२ गते बेलुका ८ः०० बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जारी गरेको आदेशअनुसार जिल्लाको सुरक्षा अवस्था र सम्भावित जोखिमको निरन्तर मूल्याङ्कन भइरहेको छ। अवस्था पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म कर्फ्यु तत्काल हटाउने निर्णय नगरिएको प्रशासनले जनाएको छ।

कर्फ्यु लागू भएका क्षेत्रमा सर्वसाधारणको हिँडडुल, सभा, जुलुस, प्रदर्शन, भेला, बैठक तथा अन्य सार्वजनिक गतिविधिमा प्रतिबन्ध लगाइएको छ। प्रशासनले कर्फ्यु आदेश उल्लङ्घन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको पकलीदेखि कोशी ब्यारेजसम्मको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ वडा तथा इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा कर्फ्यु लागू गरिएको छ।

यसैबीच, आन्दोलनका कारण पकलीदेखि कोशी ब्यारेजसम्म रोकिएका पूर्व–पश्चिम राजमार्गका सवारीसाधनलाई नेपाल प्रहरीले सुरक्षा स्कर्टिङसहित गन्तव्यतर्फ पठाउन थालेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई परिचालन गरी सुरक्षा व्यवस्था थप मजबुत बनाइएको छ।

प्रशासनले जिल्लावासीलाई कुनै पनि किसिमका अफवाहमा नलाग्न, सामाजिक सद्भाव कायम राख्न र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ। अवस्था सामान्य बन्दै गए पनि पूर्ण शान्ति र सुरक्षा सुनिश्चित भएपछि मात्र कर्फ्यु आदेशबारे थप निर्णय गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।