काठमाडौँ । भरतपुर महानगर क्षेत्रमा निर्माण सम्पन्न भएको ११ केभी क्षमताको भूमिगत तथा ओभरहेड विद्युत् प्रसारण लाइनमा पहिलोपटक विद्युत् प्रवाह (चार्ज) सुरु गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले परीक्षण तथा सञ्चालनका लागि आज बिहानदेखि उक्त लाइनमा चार्ज सुरु गरेको हो।
आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार आँपटारी सब–स्टेसनबाट सुरु हुने प्रसारण लाइन आँपटारी चोक, पोखरा बसपार्क, लिला चोक, पुलचोक, न्युरोड हुँदै नारायणी नदी किनारसम्मको क्षेत्रमा विस्तार गरिएको छ। सो क्षेत्रमा निर्माण सम्पन्न भएका ११ केभी क्षमताका भूमिगत तथा ओभरहेड प्रसारण लाइनमा क्रमिक रूपमा विद्युत् प्रवाह गरिने उनले जानकारी दिए।
पहिलोपटक विद्युत् प्रवाह गरिँदा सुरक्षा जोखिम हुन सक्ने भएकाले आयोजनाले स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। आयोजनाले उक्त क्षेत्रमा रहेका विद्युतीय पोल, ट्रान्सफर्मर, फिडर पिलर बक्स तथा अन्य विद्युतीय संरचना वा उपकरण नछुन र सुरक्षित दूरी कायम गर्न अनुरोध गरेको छ।
त्यसैगरी, भूमिगत केवल बिछ्याइएको मार्गमा पैदल यात्रा वा सवारीसाधन सञ्चालन गर्दा सावधानी अपनाउन तथा बालबालिकालाई विद्युतीय संरचनाको नजिक जान वा खेल्न नदिन अभिभावकलाई आग्रह गरिएको छ।
प्रमुख सुवेदीले चार्ज गरिएको क्षेत्रमा सम्बन्धित निकायको अनुमति बिना कुनै पनि प्रकारको उत्खनन, खाल्डो खन्ने वा भूमिगत केवलमा क्षति पुग्ने गतिविधि नगर्न आग्रह गरेका छन्।
आयोजनाका अनुसार भूमिगत विद्युत् लाइन बिछ्याउने काम सम्पन्न भएसँगै परीक्षण तथा नियमित सञ्चालनको तयारीस्वरूप विद्युत् प्रवाह सुरु गरिएको हो।




