काठमाडौं । मध्य अफ्रिकी गणतन्त्र (सीएआर) को पश्चिमी क्षेत्रमा क्यामरुन सीमाना नजिकै सुनखानी भासिँदा १०० भन्दा बढी मानिसको मृत्यु भएको छ। दुर्घटनामा अझै धेरै मानिस बेपत्ता रहेकाले मृतकको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरूले बताएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबार दिउँसो बाबुआ शहरबाट करिब ५० किलोमिटर टाढा जाम्बोए गाउँमा दुर्घटना भएको हो। गारुआ–बुलाई शहरका मेयर अदमो अब्दोनले घटनाको पुष्टि गर्दै उद्धार तथा खोजी कार्य जारी रहेको बताएका छन्।
उद्धारमा संलग्न रेडक्रसका स्वयंसेवक गेर्भिस गानागोरोह, स्थानीय खानी संघका अधिकारी तथा अन्य स्थानीय स्रोतका अनुसार हालसम्म १०० भन्दा बढी शव निकालिएको छ। मृतकमध्ये कम्तीमा तीन जना क्यामरुनका नागरिक रहेको र उनीहरूको शव अन्तिम संस्कारका लागि स्वदेश पठाइएको जनाइएको छ।
स्थानीय अधिकारी बर्ट्रान्ड बी याङ्गका अनुसार केही व्यक्ति अझै बेपत्ता छन् भने कतिपय भग्नावशेषमुनि पुरिएको आशंका गरिएको छ। त्यसैले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। घाइते तथा उद्धार गरिएका श्रमिकलाई उपचारका लागि बाबुआ शहरको अस्पताल लगिएको छ।
दुर्घटनाबाट बाँच्न सफल श्रमिक सेड्रिक म्बाङ्गोले जमिन अचानक भासिएपछि ठूलो संख्यामा श्रमिक माटो र भग्नावशेषमुनि पुरिएको बताएका छन्। बाबुआका सरकारी वकिलका अनुसार खानीभित्र रहेका धेरै भूमिगत सुरुङ एकैपटक धसिँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ। घटनाको वास्तविक कारण पत्ता लगाउन न्यायिक छानबिन सुरु गरिएको छ।
मध्य अफ्रिकी गणतन्त्रमा साना तथा परम्परागत खानी उत्खनन धेरै परिवारको जीविकोपार्जनको प्रमुख आधार भए पनि सरकारी निगरानी र सुरक्षा मापदण्ड कमजोर रहेका खानीमा यस्ता दुर्घटना दोहोरिँदै आएका छन्। पर्याप्त सुरक्षा उपकरण र सुरक्षित उत्खनन प्रणालीको अभावका कारण श्रमिकहरू जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य हुने गरेका छन्।



