२०८३ भाद्र ११

रसुवाको बाढीमा नेपाली सेनाद्वारा १२३ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेकामध्ये नेपाली सेनाले आज बिहान १२३ जनाको हवाई उद्धार गरेको छ।

सेनाका अनुसार टिमुरे क्षेत्रबाट ९५ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये आठ जना विदेशी नागरिक छन्। विदेशी नागरिकलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ भने अन्यलाई धुन्चे ल्याउने तयारी गरिएको छ।

त्यस्तै, रसुवाको हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका सात जनाको जीवितै उद्धार गरिएको सेनाले जनाएको छ। अन्य तीन वटा टनेलमा पनि उद्धार कार्य जारी छ।

टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको समेत जीवितै उद्धार गरी काठमाडौँ ल्याउने क्रम जारी रहेको सेनाले जनाएको छ।

सरकारले प्रभावित तथा नदी तटीय क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ। सेनाले जोखिममा परेका नागरिकका लागि खाद्यसामग्री, टेन्ट र औषधिलगायत राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइसकेको जनाएको छ।

उद्धार तथा खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित निजी क्षेत्रका हेलिकप्टर र टोलीसमेत परिचालन भएका छन्। बुधबार बाढी आएलगत्तै सुरक्षा निकाय तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरी उद्धार सुरु गरिएको थियो भने सेनाको टोलीले रातभर स्थलमार्गबाट समेत उद्धार कार्य जारी राखेको थियो।

आज बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा हेलिकप्टर तथा पैदल टोलीलाई थप सक्रिय बनाउँदै फसेकाहरूको उद्धार र बेपत्ताहरूको खोजी तीव्र पारिएको छ।

सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सम्पूर्ण सरकारी संयन्त्रलाई राहत तथा उद्धारमा केन्द्रित गरेको जनाएको छ।