२०८३ भाद्र ११

बाढी प्रभावितको स्वास्थ्य अवस्था बुझ्न सञ्चारमन्त्री तिमिल्सिना उद्धारस्थलमा

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीबाट घाइते तथा उद्धार गरिएका व्यक्तिको स्वास्थ्य अवस्था र बेपत्ता व्यक्तिका परिवारजनसँग आज भेटघाट गरेका छन् ।

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकलाई उद्धार गरी नेपाली सेना, श्री नं. १ तालिम केन्द्र त्रिशूलीमा ल्याइएको छ । उद्धारस्थलमा पुगेर मन्त्री डा. तिमिल्सिनाले घाइते तथा प्रभावितको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै बेपत्ता व्यक्तिका परिवारजनसँग भेट गरेका हुन् ।

सो अवसरमा मन्त्री तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । उनले प्रभावित नागरिकको उद्धार, उपचार तथा आवश्यक सहयोगका लागि सम्बन्धित निकायलाई प्रभावकारी रूपमा परिचालन गरिएको जानकारी दिए ।