काठमाडौं। रसुवा र नुवाकोटका बाढी प्रभावित बस्तीमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरीले विशेष तालिमप्राप्त सीएसएसआर टोली परिचालन गरेको छ ।
भत्किएका संरचनाभित्र थुनिएका व्यक्तिको खोजी तथा उद्धारमा विशेष तालिम लिएका सुरक्षाकर्मीले पर्खाल तथा फलाम काटेर उद्धार गर्ने सशस्त्र प्रहरीले जनाएको छ । हाइड्रोपावर तथा नदी तटीय संरचनामा फसेका व्यक्तिको उद्धारका लागि सीएसएसआर टोली परिचालन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार काठमाडौंमा रहेको एउटा टोली गएराति नै नुवाकोटतर्फ प्रस्थान गरी नदी तटीय क्षेत्रका बस्तीमा खोजी कार्य सुरु गरिसकेको छ । भत्किएका संरचनामा खोज तथा उद्धारका लागि तालिमप्राप्त चारवटा टोली परिचालन गरिएको छ भने एउटा टोलीलाई हेलिकप्टरमार्फत रसुवा पठाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको छ ।
उद्धार तथा खोजी कार्यमा गोताखोरसमेत परिचालन गरिएको छ । भोटेकोशीमा आएको बाढीबाट रसुवा र नुवाकोटमा मानवीय क्षति भएपछि सशस्त्र प्रहरीले तालिमप्राप्त कुकुर र ड्रोनको प्रयोग गरी प्रभावित क्षेत्रमा खोज तथा उद्धार गरिरहेको छ ।
खोज तथा उद्धार कार्यको समन्वयका लागि सशस्त्र प्रहरी बल नम्बर ३ बाहिनीका प्रमुख डीआईजी किरण बस्नेत नुवाकोट पुगेका छन् । उनले नुवाकोटस्थित नम्बर १९ गुल्ममा विपद् प्रतिकार्य बेस स्थापना गरी खोज तथा उद्धारमा समन्वय गरिरहेका छन् । शव व्यवस्थापनका लागि पनि छुट्टै टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले धुन्चे, रसुवागढी, नुवाकोट र चितवनमा विपद् प्रतिकार्य बेस स्थापना गरी खोज तथा उद्धारको काम गरिरहेको छ । कुरिनटारस्थित विपद् तालिम शिक्षालयका अधिकारीहरूले पनि उद्धार कार्यमा समन्वय गरिरहेका छन् ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार हालसम्म १२ स्थानबाट ९८ वटा शव सङ्कलन गरिएको छ भने ३० जना घाइतेसहित ७३ जनाको सकुशल उद्धार गरिएको छ ।




