काठमाडौं । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काभ्रेको बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
चाडपर्वका बेला बजारमा हुनसक्ने मूल्यवृद्धिलाई ध्यानमा राख्दै उपभोक्तालाई दैनिक उपभोग्य सामग्री सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गरिएको हो । पसलमा चाडपर्वका लागि आवश्यक खाद्यान्न तथा घरायसी सामग्री खरिद गर्ने उपभोक्ताको चाप बढेको कर्पोरेशनले जनाएको छ ।
बनेपाको तीनदोबाटोस्थित साल्ट ट्रेडिङको वितरण केन्द्रमा रहेको सुपथ मूल्य पसल छठ पर्वसम्म सञ्चालन हुनेछ । शनिबारसहित सातै दिन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म पसल खुला रहनेछ ।
साल्ट ट्रेडिङ कर्पोरेशन बनेपा शाखाका कार्यालय प्रमुख सुरेन्द्र अवालेका अनुसार उपभोक्ताका लागि विभिन्न सामग्रीमा विशेष मूल्य निर्धारण गरिएको छ ।
| सामग्री | मूल्य |
|---|---|
| नुन (प्रतिकेजी) | रु २४ |
| चिनी (प्रतिकेजी) | रु १०० |
| भान्साघर स्टिम जिरा मसिनो चामल (२५ केजी) | रु २,५८० |
| मुसुरो दाल (प्रतिकेजी) | रु १४० |
| रहर दाल (प्रतिकेजी) | रु २१० |
| मास दाल (प्रतिकेजी) | रु २०५ |
| चना दाल (प्रतिकेजी) | रु १५५ |
| डिडीसी घ्यु | रु १,१४० |
| शान्ति तोरीको तेल | रु ३८० |
| तृप्ति तोरीको तेल | रु २७० |
| एसटिसी ग्यास सिलिन्डर | रु २,१६५ |
| लुनार २,००० वाट इन्डक्सन कुकटप | रु ४,९६० |
| किनमेल गर्ने झोला | रु ३५ |
विभिन्न ब्रान्डका चामल, मुग दाल, सिमी तथा अन्य गेडागुडीसमेत छुट मूल्यमा उपलब्ध रहेको कर्पोरेशनले जनाएको छ । मनश्री र सिवालिक ब्रान्डका आटा तथा मैदा, कोदो र फापरको पिठो तथा मकै र जौको च्याख्ला पनि पसलमा राखिएको छ ।
त्यस्तै, सनबिम सूर्यमुखी तेल, अर्गानिक लसुन, अदुवा, दालचिनी, खुर्सानी, बेसारलगायत मसला तथा विभिन्न ब्रान्डका चिया पनि बिक्रीका लागि उपलब्ध छन् ।
खुला बजारको तुलनामा सुपथ मूल्य पसलमा केही खाद्यान्न तथा घरायसी सामग्री सस्तो दरमा पाइएपछि उपभोक्ताले राहत महसुस गरेको बताएका छन् ।
बनेपाकी उपभोक्ता रमिता नेपालीले चाडपर्वको समयमा नुन, तेल, चामल र दालजस्ता दैनिक आवश्यक सामग्री सहुलियत मूल्यमा पाउँदा घरखर्च व्यवस्थापनमा सहज भएको बताइन् ।
साल्ट ट्रेडिङले असोज १ गतेदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको हो । कर्पोरेशनले बनेपा र धुलिखेलबाहेक विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा समेत सुपथ मूल्य पसल सञ्चालन गरेको जनाएको छ ।




