काठमाडौं । दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सेवा खोज्न र सेवाप्रदायकसम्म पुग्न अब फरक–फरक ठाउँ धाउनुपर्ने बाध्यता कम हुने भएको छ।
घरायसी कामदेखि प्राविधिक, विशेषज्ञ तथा व्यावसायिक सेवासम्म एउटै डिजिटल प्लेटफर्मबाट उपलब्ध गराउने उद्देश्यसहित ‘डेली सेवा’ सञ्चालनमा आएसगै यस्तो बाध्यता कम हुने भएको हो । डेली सेवा प्रालिले सञ्चालनमा ल्याएको यो डिजिटल सर्भिस मार्केटप्लेसले सेवाग्राही र सेवाप्रदायकलाई प्रविधिमार्फत एउटै प्लेटफर्ममा जोड्ने अवधारणा अघि सारेको छ ।
कम्पनीका अनुसार डेली सेवालाई ‘नेपालकै आफ्नै डिजिटल मार्केटप्लेस’ का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। सेवाग्राहीले आफूलाई आवश्यक परेको सेवा आफ्नो स्थानबाटै खोज्न सक्नेछन् भने सेवा प्रदान गर्ने व्यक्ति तथा कम्पनीले पनि आफ्नो सीप, सेवा र व्यवसायलाई डिजिटल माध्यमबाट थप ग्राहकसम्म पुर्याउन सक्नेछन्।
एउटै एपमा १० विधाका १०० भन्दा बढी सेवा
डेली सेवामा हाल १० विधाअन्तर्गत १०० भन्दा बढी सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
घर निर्माण तथा मर्मत, विद्युतीय उपकरण मर्मत, सीप तथा तालिम, विशेषज्ञ सेवा, ग्याजेट तथा टेक्निकल सपोर्ट, अनकल सेवा, लजिस्टिक्स तथा ढुवानी, किचन तथा क्लिनिङलगायत विभिन्न क्षेत्रका सेवाहरू प्लेटफर्ममा समेटिएका छन्।
सेवाग्राहीले वेबसाइट वा मोबाइल एपमार्फत आफूलाई आवश्यक सेवा खोज्न सक्नेछन्। सेवा उपलब्ध गराउने व्यक्ति वा कम्पनीले पनि आफ्नो विवरण तथा आफूले प्रदान गर्ने सेवाको जानकारी राखेर प्लेटफर्ममा आबद्ध हुन सक्ने व्यवस्था गरिएको छ।
सेवाप्रदायकलाई पनि डिजिटल बजार
डेली सेवाले उपभोक्तालाई सेवा उपलब्ध गराउनेसँगै सीप भएका जनशक्तिलाई आफ्नो सेवा र व्यवसाय विस्तार गर्ने डिजिटल अवसर उपलब्ध गराउने लक्ष्य राखेको छ।
दक्ष, अर्धदक्ष तथा अदक्ष जनशक्तिलाई समेत प्लेटफर्ममा जोडेर उनीहरूको सेवा सम्भावित ग्राहकसम्म पुर्याउने कम्पनीको योजना छ।
डेली सेवा प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रकाश न्यौपाने एउटै डिजिटल प्लेटफर्ममार्फत दैनिक जीवन, घर, व्यवसाय र विशेषज्ञ आवश्यकतासँग सम्बन्धित सेवाहरू जोड्ने प्रयास गरिएको बताउँछन्। “कुनै पनि व्यक्तिले आफूलाई आवश्यक परेको सेवा घरमै बसेर लिन सक्ने भएकाले समय र श्रमको बचत हुने अपेक्षा गरेका छौं,” न्यौपानेले भने।
उनका अनुसार प्लेटफर्ममा आबद्ध सेवाप्रदायकले डिजिटल माध्यमबाट आफ्नो सेवा प्रवर्धन गर्दै थप सेवाग्राहीसम्म पुग्ने अवसर पाउनेछन्।
सेवाको गुणस्तरमा मूल्यांकन प्रणाली
अनलाइन मार्फत सेवा लिँदा सेवाप्रदायकप्रतिको विश्वास र सेवाको गुणस्तर महत्वपूर्ण हुने भएकाले डेली सेवाले सेवाप्रदायक छनोट तथा व्यवस्थापनमा विश्वास, गुणस्तर र व्यावसायिकतालाई प्राथमिकता दिएको जनाएको छ।
सेवा लिएपछि सेवाग्राहीले आफ्नो अनुभवका आधारमा सेवाप्रदायकको मूल्यांकन गर्न सक्ने प्रणालीसमेत प्लेटफर्ममा राखिएको छ। यसले सेवा छनोटमा सेवाग्राहीलाई सहजता हुने तथा सेवाप्रदायकलाई आफ्नो सेवा सुधार गर्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।
काठमाडौं उपत्यकाबाट सुरुवात, देशभर विस्तारको तयारी
नेपालमा डिजिटल अर्थतन्त्र र प्रविधिमा आधारित व्यवसायको विस्तारसँगै अनलाइनमार्फत सेवा खोज्ने प्रवृत्ति बढिरहेको छ। यही परिवर्तित आवश्यकता र उपभोक्ताको व्यवहारलाई ध्यानमा राखेर डेली सेवा सुरु गरिएको कम्पनीको भनाइ छ।
हाल काठमाडौं उपत्यकाबाट सेवा सुरु गरेको डेली सेवाले आगामी दिनमा देशका अन्य क्षेत्रमा समेत विस्तार गर्ने लक्ष्य लिएको छ।
डेली सेवा प्रयोग गर्न वेबसाइट तथा मोबाइल एप उपलब्ध छन्। प्लेटफर्ममा उपलब्ध सेवा र थप जानकारीका लागि dailysewa.com हेर्न सकिनेछ। मोबाइल एप प्लेस्टोर तथा एपस्टोरबाट समेत डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ।
Read More