काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना बर्डफ्लु संक्रमणका कारण २७ दिन बन्द हुँदा करिब तीन करोड रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको छ। संक्रमण पुष्टि भएपछि गत ५ असारदेखि सर्वसाधारणका लागि बन्द गरिएको चिडियाखाना संक्रमण नियन्त्रणमा आएपछि साउन १ गतेदेखि पुनः सञ्चालनमा ल्याइएको हो।
राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत रहेको चिडियाखानाले संक्रमण अवधिमा नियमित सरसफाइ, जैविक सुरक्षा तथा संक्रमित जीवजन्तुको उपचारलगायतका आवश्यक उपाय अपनाएको जनाएको छ। पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरूको संयुक्त मूल्यांकनपछि चिडियाखाना पुनः खोल्ने निर्णय गरिएको थियो।
चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार सामान्य अवस्थामा दैनिक करिब एक हजार ७०० देखि एक हजार ८०० जनासम्म आगन्तुक आउने गरेका थिए। बिदाका दिनमा भने शनिबार पाँच हजारदेखि सात हजार र आइतबार तीन हजार ५०० देखि पाँच हजारसम्म दर्शक पुग्ने गरेका थिए।
पुनः सञ्चालन भएको पहिलो दिन साउन १ गते भने करिब ८ सय जनाले मात्रै चिडियाखाना अवलोकन गरेका थिए। हाल चिडियाखानाले बालबालिका तथा ज्येष्ठ नागरिकका लागि १०० रुपैयाँ, विद्यार्थीका लागि १५० रुपैयाँ र अन्य आगन्तुकका लागि २५० रुपैयाँ प्रवेश शुल्क लिँदै आएको छ।
गत आर्थिक वर्षमा चिडियाखानाले करिब १८ करोड रुपैयाँ आम्दानी गरेको थियो। चालु आर्थिक वर्षमा २१ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको भए पनि बर्डफ्लुका कारण लामो समय बन्द हुँदा लक्ष्य हासिल गर्न चुनौती थपिएको चिडियाखाना प्रशासनले जनाएको छ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा उल्लेख्य सुधार देखिएको छ। नेप्से ७९.७४ अंकले उकालो लाग्दै २६७७.५४ विन्दुमा बन्द भएको हो।
शुक्रबार कुल ३३५ कम्पनीका १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर किनबेच भएका छन्। दिनभरमा ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७२३ रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन बिहीबारको तुलनामा कारोबार रकम केही बढेको हो। बिहीबार बजारमा ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यसअघि बुधबार पनि नेप्से सकारात्मक दिशामा बन्द भएको थियो।
कारोबार भएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य बढेको छ। शुक्रबार २५९ कम्पनीको मूल्य वृद्धि हुँदा १३ कम्पनीको घटेको छ भने दुई कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी सबैभन्दा अगाडि रह्यो। उक्त कम्पनीको २२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको १७ करोड रुपैयाँ बराबरको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्स र रिडी पावरको क्रमशः १५/१५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। नगदी ग्रुप पावरको पनि १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
शुक्रबारको बजारमा म्युचुअल फन्डबाहेक सबै समूहका उपसूचक सकारात्मक देखिएका छन्। म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूहको उपसूचक ४.६० प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह ४.५८ प्रतिशत र इन्भेस्टमेन्ट समूह ४.१२ प्रतिशतले उकालो लागेको छ।
कम्पनीगत रूपमा श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर मूल्य सकारात्मक सर्किट तहमा पुगेको छ। अर्कोतर्फ आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी नोक्सानी व्यहोरेका छन्। उक्त कम्पनीको सेयर मूल्य १५ प्रतिशतले घटेको छ।
काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको सुनको मूल्य बुधबार ८ सय रुपैयाँले बढेको हो ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले वृद्धि भएको छ । मंगलबार प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ हजार ४१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार सुनको मूल्य १० ग्रामको २ लाख ४४ हजार १७० रुपैयाँ र चाँदीको मूल्य १० ग्रामको ३ हजार ७८५ रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाडौं। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण प्रभावित भएको छ। आयोजनाको बाँध (इन्टेक) क्षेत्रमा बाढी पसेर क्षति पुगेपछि असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ।
आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार बाढीका कारण बाँधमा क्षति पुगेको छ भने बाँधसम्म पुग्ने सडकसमेत पहिरोले अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा मर्मत तथा निरीक्षणका काममा समेत समस्या भएको बताइएको छ।
विद्युत् उत्पादन बन्द हुँदा आयोजनाले आर्थिक क्षति व्यहोर्नुपरेको छ। गत वर्ष मात्रै निर्माण सम्पन्न भएको उक्त आयोजना दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो।
आयोजना सञ्चालनमा ल्याउन क्षतिको मूल्याङ्कन तथा आवश्यक मर्मत कार्य अघि बढाउने तयारी भइरहेको जनाइएको छ।
काठमाडौं : नेपाली बजारमा पछिल्लो कारोबार दिन सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ।
सोमबार प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार घटेर २ लाख ८४ हजार रुपैयाँमा झरेको हो। अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय माग–आपूर्तिका कारण सुनको मूल्यमा दैनिक परिवर्तन देखिँदै आएको व्यवसायीहरू बताउँछन्।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला ४ हजार ३७५ रुपैयाँ रहेको चाँदी मंगलबार १५ रुपैयाँले घटेर ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार बजारमा सुनचाँदीको मूल्य निर्धारण अन्तर्राष्ट्रिय बजार मूल्य, विदेशी मुद्रा विनिमय दर तथा स्थानीय बजारको अवस्थाका आधारमा हुँदै आएको छ।
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार प्रतितोला सुनको मूल्य २ हजार ८ सय रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ रहेको थियो।
यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर ४ हजार ३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौं । ल्हेन्दे खोलामा पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अस्थायी रूपमा बन्द गरिएको छ।
रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित क्षति रोक्न आइतबार साँझदेखि विद्युत् उत्पादन रोकिएको हो। खोलाको बहाव र अवस्था सामान्य भएमा सोमबारदेखि पुनः उत्पादन सुरु गर्ने तयारी रहेको उनले बताए।
यसअघि गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले आयोजनाको बाँधलगायत विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको थियो। त्यसपछि मर्मत तथा पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको आयोजना फेरि जोखिममा पर्न सक्ने अनुमान गर्दै सुरुङतर्फ पानी पठाउने गेट बन्द गरिएको प्राविधिकहरूले बताएका छन्।
रसुवागढी हाइड्रोपावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाका अनुसार खोलाको बहाव र अवस्थाको निरन्तर निगरानी भइरहेको छ। अवस्था सुरक्षित देखिएमा छिट्टै विद्युत् उत्पादन पुनः सुरु गरिने उनले जानकारी दिए।
दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म आफ्नो कुल बजेटको दुई तिहाइभन्दा बढी रकम खर्च गरेको जनाएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रारम्भिक विवरणअनुसार हालसम्म ६७.१८ प्रतिशत बजेट कार्यान्वयन भएको छ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि छुट्याएको ३८ अर्ब ९१ करोड रुपैयाँमध्ये २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ खर्च गरेको छ।
प्रदेश बजेट खर्चको समग्र अवस्था
शीर्षक
विनियोजन
खर्च
प्रगति
कुल बजेट
३८ अर्ब ९१ करोड रुपैयाँ
२६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ
६७.१८%
चालु खर्च
१५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार रुपैयाँ
१० अर्ब ४६ करोड २३ लाख १४ हजार रुपैयाँ
६७.७६%
पुँजीगत खर्च
२३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ
१५ अर्ब ६७ करोड ७९ लाख ६४ हजार रुपैयाँ
६६.८०%
स्थानीय तह हस्तान्तरण
३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार रुपैयाँ
२ अर्ब ९० करोड ५८ लाख १५ हजार रुपैयाँ
८४.८७%
विवरणअनुसार चालुतर्फ छुट्याइएको बजेटमध्ये १० अर्ब ४६ करोड २३ लाख १४ हजार रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फ १५ अर्ब ६७ करोड ७९ लाख ६४ हजार रुपैयाँ कार्यान्वयन भएको छ।
स्वास्थ्य मन्त्रालयको खर्च प्रगति सबैभन्दा उच्च
मन्त्रालयगत रूपमा हेर्दा स्वास्थ्य मन्त्रालयले सबैभन्दा राम्रो वित्तीय प्रगति देखाएको छ। उक्त मन्त्रालयले ४ अर्ब ९५ करोड २९ लाख ७३ हजार रुपैयाँको कुल बजेटमध्ये ३ अर्ब ९३ करोड १५ लाख ६६ हजार रुपैयाँ खर्च गर्दै ७९.३८ प्रतिशत प्रगति हासिल गरेको छ।
त्यसपछि वन तथा वातावरण मन्त्रालयले ७१.३२ प्रतिशत र ठूलो बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले ७०.८८ प्रतिशत खर्च प्रगति हासिल गरेका छन्।
मन्त्रालय/निकाय
बजेट
खर्च
प्रगति
स्वास्थ्य मन्त्रालय
४ अर्ब ९५ करोड २९ लाख ७३ हजार रुपैयाँ
३ अर्ब ९३ करोड १५ लाख ६६ हजार रुपैयाँ
७९.३८%
वन तथा वातावरण मन्त्रालय
२ अर्ब ५४ करोड ७४ लाख ५० हजार रुपैयाँ
१ अर्ब ८१ करोड ६८ लाख ४० हजार रुपैयाँ
७१.३२%
भौतिक पूर्वाधार विकास मन्त्रालय
९ अर्ब ९२ करोड ४५ लाख रुपैयाँ
७ अर्ब ३ करोड ४४ लाख २० हजार रुपैयाँ
७०.८८%
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
२ अर्ब ६८ करोड ६० लाख रुपैयाँ
१ अर्ब ८९ करोड ९४ लाख ७७ हजार रुपैयाँ
७०.७२%
प्रदेश लोक सेवा आयोग
१० करोड रुपैयाँ
६ करोड ६१ लाख ५७ हजार रुपैयाँ
६६.१५%
सहरी विकास तथा खानेपानी मन्त्रालय
५ अर्ब ६२ करोड ३ लाख ८० हजार रुपैयाँ
३ अर्ब ६३ करोड १९ लाख ९३ हजार रुपैयाँ
६४.६२%
उद्योग, पर्यटन तथा यातायात मन्त्रालय
१ अर्ब ९० करोड ४२ लाख ११ हजार रुपैयाँ
१ अर्ब १६ करोड ४९ लाख ७९ हजार रुपैयाँ
६१.१८%
प्रदेश सभा
२६ करोड २० लाख रुपैयाँ
१५ करोड ८५ लाख ३६ हजार रुपैयाँ
६०.५१%
सामाजिक विकास मन्त्रालय
३ अर्ब ६१ करोड ७५ लाख ३७ हजार रुपैयाँ
२ अर्ब ७ करोड २५ लाख ६२ हजार रुपैयाँ
५७.२९%
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
१ अर्ब ५० करोड ४७ लाख ५० हजार रुपैयाँ
८५ करोड ९२ लाख ५० हजार रुपैयाँ
५७.१०%
युवा तथा खेलकुद मन्त्रालय
३७ करोड २४ लाख ५० हजार रुपैयाँ
१६ करोड ६८ लाख ९४ हजार रुपैयाँ
४४.८१%
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
५० करोड १८ लाख रुपैयाँ
२२ करोड ३३ लाख १४ हजार रुपैयाँ
४४.५०%
प्रदेश योजना आयोग
३ करोड ५ लाख रुपैयाँ
११ लाख ७२ हजार रुपैयाँ
३८.४४%
आर्थिक मामिला तथा योजना मन्त्रालय
१६ करोड ४० लाख रुपैयाँ
६ करोड २५ लाख १९ हजार रुपैयाँ
३८.१२%
आन्तरिक मामिला तथा कानून मन्त्रालय
३६ करोड ६९ लाख ९६ हजार रुपैयाँ
१३ करोड ४२ लाख २७ हजार रुपैयाँ
३६.५७%
स्थानीय तहको बजेट कार्यान्वयन उत्साहजनक
प्रदेश सरकारबाट स्थानीय तहका लागि पठाइएको बजेट खर्च अवस्था भने तुलनात्मक रूपमा राम्रो देखिएको छ। स्थानीय तहका लागि छुट्याइएको ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार रुपैयाँमध्ये २ अर्ब ९० करोड ५८ लाख १५ हजार रुपैयाँ खर्च भइसकेको छ।
यस आधारमा स्थानीय तहको बजेट कार्यान्वयन प्रगति ८४.८७ प्रतिशत पुगेको छ, जुन प्रदेश सरकारको औसत खर्चभन्दा उच्च हो।
प्रदेश लोक सेवा आयोगको विवरणमा कुल खर्च प्रगति ६६.१५ प्रतिशत देखिए पनि पुँजीगत खर्च भने १७४.५४ प्रतिशत पुगेको उल्लेख गरिएको छ।
काठमाडौं। नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन तोलामा २ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो।
महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर २ लाख ८७ हजार ४ सय रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। बिहीबार प्रतितोला ४ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १७० रुपैयाँले बढेर ४ हजार ५ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरको अवस्था तथा विश्व बजारको माग–आपूर्तिले नेपाली बजारमा पनि बहुमूल्य धातुको मूल्य प्रभावित हुँदै आएको छ।