२०८३ कार्तिक ९

शरद् ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौं । सन् २०२६ को शरद् ऋतुमा नेपालका २० वटा हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार उनीहरू ७१ वटा आरोहण समूहमा आबद्ध छन् ।

अनुमति पाउनेमा ४८५ पुरुष र १६३ महिला रहेका छन् । आरोहण अनुमतिबाट विभागले १५ लाख ७१ हजार ६५९ अमेरिकी डलर अर्थात् रु २३ करोड ८९ लाख ६४ हजार २९८ रोयल्टी संकलन गरेको छ ।

देशअनुसार आरोहीको विवरण

देशआरोही संख्या
चीन११८
रसिया५७
फ्रान्स५१
अमेरिका४१
बेलायत३८
जर्मनी३४
जापान२१
नेपाल२०
पोल्याण्ड१९
भारत१८
अष्ट्रेलिया१७
क्यानडा१६
चेक रिपब्लिक१६
स्पेन१५
स्वीजरल्याण्ड१३
बेल्जियम७
अर्जेन्टिना७
बुल्गेरिया५
अन्य देशबाँकी

मनास्लुमा सबैभन्दा धेरै आरोही

विभागका अनुसार यस सिजन सबैभन्दा बढी आरोहण अनुमति मनास्लु हिमालका लागि जारी भएको छ । ८ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन् । उनीहरूबाट मात्रै रु २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी संकलन भएको छ ।

अन्य प्रमुख हिमालमा धौलागिरि–१ का लागि चार टोलीका ३४ जना, पुथा हिउँचुलीका लागि दुई टोलीका २० जना, डाङ्गा हिउँचुलीका लागि दुई टोलीका १६ जना तथा बरुणत्सेका लागि एक टोलीका १० जनाले अनुमति पाएका छन् ।

हिमालटोलीआरोही
मनास्लु४३५००
धौलागिरि–१४३४
पुथा हिउँचुली२२०
डाङ्गा हिउँचुली२१६
बरुणत्से११०

यसैगरी मकालु, गङ्गापूर्णा पश्चिम (लाङ्चेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायत हिमालका लागि पनि आरोहण अनुमति जारी गरिएको विभागले जनाएको छ ।

आरोहण अनुमतिबाट २३ करोड ८९ लाखभन्दा बढी रोयल्टी

पर्यटन विभागले शरद् ऋतुका लागि जारी गरेको आरोहण अनुमतिबाट कुल रु २३ करोड ८९ लाख ६४ हजार २९८ रोयल्टी प्राप्त गरेको छ । अमेरिकी डलरमा यो रकम १५ लाख ७१ हजार ६५९ बराबर रहेको विभागले जनाएको छ ।

नेपालका हिमालमा शरद् ऋतुको आरोहण गतिविधि बढेसँगै विभागको रोयल्टी आम्दानीसमेत उल्लेख्य रहेको देखिएको छ ।

Read More

नेपाली बजारमा सुनको मूल्य पाँच हजार रुपैयाँले घट्यो

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकै दिन सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँले घटेको हो।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार आइतबार प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ९४ हजार ३ सय रुपैयाँमा झरेको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। आइतबार प्रतितोला ४ हजार ६ सय ५५ रुपैयाँ रहेको चाँदीको भाउ सोमबार १४५ रुपैयाँ घटेर ४ हजार ५ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Read More

कालीगण्डकी ‘ए’ को १४४ मेगावाट विद्युत् उत्पादन बन्द, सबै ढोका खोलियो

स्याङ्जा । कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढेपछि स्याङ्जास्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द गरिएको छ ।

अविरल वर्षाका कारण नदीको बहाव उच्च भएपछि आयोजनाबाट उत्पादन हुने १४४ मेगावाट विद्युत् उत्पादन शनिबार रातिदेखि रोकिएको केन्द्रका प्रमुख आत्मेस पौडेलले जानकारी दिए ।

पानीको बहाव निरन्तर बढ्दै गएपछि मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका विद्युत् उत्पादनसँग सम्बन्धित सबै ढोका खोलिएको जनाइएको छ ।

निरन्तरको वर्षाका कारण बाँध क्षेत्र तथा आसपासका बस्तीमा जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै विद्युत् उत्पादन बन्द गरिएको केन्द्रले जनाएको छ । नदीमा पानीको बहाव उच्च रहेकाले बाँध तथा आसपासको क्षेत्रमा सतर्कता अपनाइएको छ ।

Read More

पोखरा–दुबई उडानमा यात्रुको उत्साहजनक उपस्थिति

काठमाडौं । गत बुधबारदेखि सुरु भएको फ्लाइ दुबईको दुबई–पोखरा–दुबई नियमित उडानले सुरुआती दिनमै राम्रो यात्रु पाएको छ। शनिबार चौथो दिन १५६ यात्रुसहित पोखरा आएको विमानले ८३ यात्रु लिएर दुबई फर्किएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए।

यसअघि बिहीबार १२२ यात्रु दुबईबाट पोखरा आएका थिए भने १४३ यात्रु पोखराबाट दुबई गएका थिए। शुक्रबार खराब मौसमका कारण उडान रद्द भएको थियो। बुधबार पहिलो उडानमा ११३ यात्रु पोखरा आएका थिए भने फर्कँदा १५२ यात्रु दुबई गएका थिए।

पर्यटन व्यवसायी उत्साहित

उडानको सुरुआती यात्रु सङ्ख्याले पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन्। पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बुकिङ राम्रो रहेको र होटल तथा रेस्टुराँले पोखरा आउने यात्रुलाई लक्षित गरी छुट योजना ल्याएको बताए।

फ्लाइ दुबईले १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ विमानमार्फत दैनिक उडान गरिरहेको छ। विमान साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे दुबई प्रस्थान गर्ने तालिका रहेको छ।

अन्तर्राष्ट्रिय कनेक्टिभिटी बढ्ने अपेक्षा

फ्लाइ दुबईको नियमित उडानसँगै दुबईलाई ट्रान्जिट बनाएर विभिन्न मुलुकबाट पोखरा आउन सहज हुने अपेक्षा गरिएको छ। यसले पर्यटनसँगै व्यापार, रोजगारी र स्थानीय आर्थिक गतिविधिमा समेत योगदान पुग्ने व्यवसायीहरूको विश्वास छ।

सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। फ्लाइ दुबई यहाँबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्ने पहिलो वायुसेवा कम्पनी बनेको छ।

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न सरकारले विमानस्थलको पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क विसं २०८५ भदौ मसान्तसम्म पूर्ण रूपमा छुट गरेको छ। ग्राउन्ड ह्यान्डलिङ शुल्कमा भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

Read More

डेढ दशकपछि राहुघाट जलविद्युत् आयोजना परीक्षण उत्पादनमा

काठमाडौँ । निर्माण सुरु भएको करिब १५ वर्षपछि म्याग्दीको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना परीक्षण उत्पादनमा पुगेको छ। आयोजनाका दुवै २० मेगावाटका युनिट परीक्षण गरी केन्द्रीय प्रसारण प्रणालीमा विद्युत् जोड्न थालिएको रघुगङ्गा हाइड्रोपावर लिमिटेडले जनाएको छ।

प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार दुवै युनिट पूर्ण क्षमतामा परीक्षण गरिएको छ। सम्झौताअनुसार १५ दिन परीक्षण उत्पादन गरेपछि आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु हुनेछ।

आयोजना निर्माणमा लामो समय लाग्नुका कारणमा ठेकेदार परिवर्तन, ठेक्का रद्द, आयोजना पुनःसंरचना, कोरोना महामारी, बाढीपहिरो तथा निर्माण सामग्रीको अभाव प्रमुख छन्। सुरुमा ३२ मेगावाट क्षमतामा अघि बढाइएको आयोजनालाई पछि ४० मेगावाटमा विस्तार गरिएको थियो।

आयोजनाको बाँध रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं. ५ झीँको फेदी क्षेत्रमा तथा विद्युत्गृह वडा नं. ३ तिल्केनीचौरमा रहेको छ। आयोजनामा ६.२७ किलोमिटर लामो मुख्य सुरुङ र करिब ११ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ। उत्पादित विद्युत् २२० केभी दाना–कुश्मा प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ।

राहुघाटले वार्षिक करिब २४ करोड पाँच लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। आयोजनाका लागि २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता गरिएको थियो।

राहुघाटको निर्माण यात्रा भने सहज थिएन। प्राधिकरणले सुरुमा भारतीय कम्पनी आइभिआरसीएलसँग २०६७ मा ठेक्का सम्झौता गरेको थियो। काम अपेक्षित रूपमा अघि नबढेपछि २०७२ मा ठेक्का रद्द गरिएको थियो। त्यसबेला आयोजनाको भौतिक प्रगति करिब १२ प्रतिशत मात्रै थियो।

पछि नेपाल विद्युत् प्राधिकरणले रघुगङ्गा हाइड्रोपावर लिमिटेड स्थापना गरी नयाँ संरचनाबाट आयोजना अघि बढाएको हो। भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋण तथा नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा आयोजना निर्माण गरिएको हो।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले राहुघाटलाई जिल्लाको जलविद्युत् विकासको आधारका रूपमा लिइएको बताए। उनका अनुसार राहुघाट अघि बढेपछि जिल्लामा अन्य जलविद्युत् आयोजनाहरू पनि विकास भएका छन्।

Read More

तनहुँमा ११ हजारभन्दा बढी उद्योग दर्ता, साना तथा घरेलु उद्यमको हिस्सा ठूलो

काठमाडौँ । तनहुँमा हालसम्म ११ हजार १३४ उद्योग दर्ता भएका छन्। एकीकृत सेवा कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ सम्म जिल्लामा दर्ता भएका उद्योगमध्ये गत आर्थिक वर्षमा मात्रै ३४३ नयाँ उद्योग थपिएका हुन्।

कार्यालयका सहायक प्रशासकीय अधिकृत सूर्यबहादुर थापाका अनुसार तनहुँमा घरेलु तथा साना उद्योगको संख्या सबैभन्दा धेरै छ। हाल जिल्लामा सात हजार ३२९ घरेलु, तीन हजार ६५० साना, १४९ लघु र एउटा मझौला उद्योग सञ्चालनमा रहेका छन्।

नयाँ उद्योग स्थापना हुने क्रमसँगै जिल्लामा सञ्चालित केही उद्योग तथा व्यवसाय बन्द हुने क्रम पनि देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा उद्योगतर्फ २५० र वाणिज्यतर्फ २३४ गरी कुल ४८४ फर्म तथा उद्योग खारेज भएका छन्।

एकीकृत सेवा कार्यालयका अनुसार नयाँ उद्योग दर्ता र पुराना उद्योग खारेजी दुवै जिल्लाको औद्योगिक तथा व्यावसायिक गतिविधिको नियमित प्रक्रियाका रूपमा देखिएका छन्। नयाँ उद्यमी थपिँदै गए पनि विभिन्न कारणले केही उद्योग तथा व्यवसाय सञ्चालनबाट बाहिरिने गरेका छन्।

कार्यालयबाट उद्योग दर्ता, नवीकरण, नामसारी तथा खारेजीलगायतका सेवा प्रदान हुँदै आएको सहायक प्रशासकीय अधिकृत थापाले बताए। पछिल्लो तथ्याङ्कले तनहुँको औद्योगिक गतिविधिमा साना तथा घरेलु उद्यमको हिस्सा उल्लेख्य रहेको देखाएको छ।

गत आर्थिक वर्षमा मात्रै ३४३ नयाँ उद्योग थपिनुले जिल्लामा ठूलो लगानीका उद्योगभन्दा तुलनात्मक रूपमा सानो पुँजीमा सञ्चालन गर्न सकिने उद्यमप्रति आकर्षण रहेको देखिन्छ। यस्ता उद्योगले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै वस्तु तथा सेवा उत्पादनमा समेत योगदान पुर्‍याउँदै आएको थापाको भनाइ छ।

Read More

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर ३ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More

सुनको मूल्यमा २ हजार ३ सय रुपैयाँ गिरावट

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ हजार ३ सय रुपैयाँ घटेको हो। बुधबार प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

Read More

सहकारी ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौँ । सहकारी संस्थाले सदस्यलाई दिने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम गरिएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी सन्दर्भ ब्याजदर पुनरावलोकन गर्दै नयाँ दर निर्धारण गरेको हो।

यसअघि ऋणको अधिकतम ब्याजदर १६ प्रतिशत थियो। नयाँ व्यवस्थाअनुसार सहकारीले १३ प्रतिशतभन्दा कम ब्याजदर पनि निर्धारण गर्न सक्नेछन् भने बचत र ऋणको ब्याजदरबीचको अन्तर ६ प्रतिशतभन्दा बढी हुन पाउने छैन।

कार्यालयले ऋणको ब्याजलाई मूलधनमा जोडेर पुनः ब्याज लगाउन तथा प्रशासनिक, सेवा वा अन्य शीर्षकमा थप शुल्क लिन रोक लगाएको छ। हर्जाना लिनुपरेमा बाँकी ब्याजको ५ प्रतिशतभन्दा बढी लिन नपाइने व्यवस्था गरिएको छ।

सहकारीले लागू गरेको ब्याजदर सार्वजनिक गर्नुपर्ने र समान प्रकृतिका बचत तथा ऋणमा सदस्य, सञ्चालक तथा कर्मचारीबीच ब्याजदरमा विभेद गर्न नपाइने कार्यालयले जनाएको छ।

Read More

सरकारको आम्दानी बढ्दै, विकास बजेट खर्च अझै सुस्त

काठमाडौं । आर्थिक वर्ष सुरु भएको दुई महिनामै सरकारको आम्दानीतर्फ केही सुधार देखिए पनि विकास बजेट खर्च गर्ने गति अपेक्षाकृत कमजोर रहेको छ। महालेखा नियन्त्रक कार्यालयको भदौ ३० गतेसम्मको विवरणले राजस्व तथा वैदेशिक अनुदान प्राप्ति अघिल्लो वर्षको सोही अवधिभन्दा बढेको देखाएको छ।

सरकारले चालू आर्थिक वर्षमा विभिन्न स्रोतबाट आम्दानी गर्ने लक्ष्यअनुसार सुरुवाती दुई महिनामा संकलन गरेको रकम वार्षिक लक्ष्यको ११.२ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा स्रोत संकलन १ खर्च ५५ अर्ब मात्रै थियो।

आम्दानीतर्फको प्रगति

वैदेशिक अनुदान प्राप्तिमा यस वर्ष उल्लेख्य सुधार देखिएको छ। सरकारले वर्षभरिमा ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ अनुदान ल्याउने लक्ष्य राखेको छ। भदौ ३० सम्म त्यसको पाँच अर्ब २५ करोड २६ लाख रुपैयाँ प्राप्त भइसकेको छ।

राजस्वतर्फ पनि लक्ष्यको दोहोरो अंकको प्रतिशत संकलन भएको छ। चालू आर्थिक वर्षमा १५ खर्ब ८० लाख ३१ करोड ८३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा दुई महिनामा एक खर्ब ७७ अर्ब ६६ करोड ४६ लाख रुपैयाँ संकलन भएको छ।

विवरणवार्षिक लक्ष्यभदौ ३० सम्म प्राप्ति/खर्चलक्ष्यको प्रगति
कुल स्रोत संकलन—रु. १ खर्ब ८४ अर्ब ४२ करोड ६७ लाख११.२%
वैदेशिक अनुदानरु. ६१ अर्ब ७४ करोड ५४ लाखरु. ५ अर्ब २५ करोड २६ लाख८.५१%
कुल राजस्वरु. १५ खर्ब ८० लाख ३१ करोड ८३ लाखरु. १ खर्ब ७७ अर्ब ६६ करोड ४६ लाख११.२४%
पुँजीगत खर्चरु. ४ खर्ब ३१ अर्ब ११ करोड ६३ लाखरु. ७ अर्ब २६ करोड ६४ लाख१.६८%
गत आवको पुँजीगत खर्च—रु. ५ अर्ब २१ करोड ७९ लाख—
चालू खर्चरु. १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाखरु. १ खर्ब १४ अर्ब ६५ करोड ६३ लाख९.०२%

विकास बजेट खर्चमा सुस्तता

सरकारको आम्दानी बढे पनि त्यसअनुसार विकासतर्फको खर्च अघि बढ्न सकेको छैन। चालू आवमा पुँजीगत खर्चका लागि चार खर्ब ३१ अर्ब ११ करोड ६३ लाख रुपैयाँ छुट्याइएको छ। तर भदौ ३० सम्म सात अर्ब २६ करोड ६४ लाख रुपैयाँ मात्र खर्च भएको छ।

यद्यपि, यो रकम गत आर्थिक वर्षको सोही अवधिमा भएको खर्चभन्दा बढी हो। गत आवको भदौ ३० सम्म पुँजीगत खर्च पाँच अर्ब २१ करोड ७९ लाख रुपैयाँ थियो।

अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार आर्थिक वर्षको प्रारम्भिक चरणमा टेन्डर प्रक्रिया अघि बढ्ने भएकाले खर्च स्वाभाविक रूपमा कम देखिन्छ। ई–बिडिङ प्रणालीमा आएका प्राविधिक समस्याले पनि कार्यान्वयनमा असर पारेको उनको भनाइ छ।

विश्लेषकहरूले भने आयोजना सुरु गर्नुअघि आवश्यक तयारी पूरा नहुने, सार्वजनिक खरिद प्रक्रियामा रहेका जटिलता तथा बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिले पनि विकास खर्च प्रभावित भएको बताएका छन्।

चालू खर्चमा बढी प्रगति

पुँजीगत खर्चको तुलनामा प्रशासनिक तथा नियमित प्रकृतिको चालू खर्च भने तीव्र देखिएको छ। नीति अनुसन्धान प्रतिष्ठानको अध्ययनले सरकारी खर्चको उल्लेख्य हिस्सा कर्मचारीको तलब, सामाजिक सुरक्षा र ऋण भुक्तानीमा जाने गरेको देखाएको छ।

प्रतिष्ठानले आयोजना तोकिएको समय र लागतमा सम्पन्न हुन नसक्ने समस्या पनि औँल्याएको छ। सार्वजनिक खर्च व्यवस्थापनलाई प्रक्रिया पूरा गर्नेभन्दा त्यसबाट प्राप्त हुने परिणाम र उपलब्धितर्फ केन्द्रित गर्नुपर्ने सुझाव प्रतिवेदनमा छ।

बजेट कार्यान्वयनमा संरचनागत सुधारको माग

अर्थविद् डा. रामकुमार फुयाँलले सरकारले खर्चको क्यालेन्डर बनाए पनि त्यसअनुसार काम हुन नसकेको बताएका छन्। आर्थिक वर्षको सुरुवातमा खर्च न्यून हुने र अन्तिम महिनामा ठूलो रकम खर्च गर्ने प्रवृत्तिले निरन्तरता पाएको उनको भनाइ छ।

उनले राष्ट्रिय गौरव तथा रूपान्तरणकारी आयोजनाका साथै सशर्त र समपूरक अनुदानबाट प्रदेश तथा स्थानीय तहमा सञ्चालन हुने योजनाको कार्यान्वयनमा गति दिनुपर्ने बताएका छन्।

विकास खर्च बढाउन नीतिगत र संरचनागत सुधारसँगै सार्वजनिक खरिद प्रक्रियालाई पनि छरितो बनाउनुपर्ने उनको सुझाव छ। ईबिडिङ रोक्नुको सट्टा छिटो प्रक्रियाबाट काम अघि बढाउनुपर्ने तथा सार्वजनिक खरिद ऐनमा रहेको ३५ दिने म्यादलाई दुई हप्तामा झार्नुपर्ने उनले बताएका छन्।

Read More