२०८३ कार्तिक १०

सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर बनाउन सरकारको नीति : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने नीति लिएको बताएका छन्।

राष्ट्रियसभाको सोमबारको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सुरक्षण मुद्रण केन्द्रका लागि रु २२ करोड बजेट विनियोजन गरिएको जानकारी दिए। उक्त बजेट स्वदेशमै सुरक्षण कागजात उत्पादन बढाएर विदेशी मुद्रणमा निर्भरता घटाउने उद्देश्यले प्रयोग गरिने उनले बताए।

सांसद रोश्नी मेचेले दुर्गम क्षेत्रमा शैक्षिक सामग्रीको अभाव भइरहेका बेला ‘मोबाइल फ्रिक्वेन्सी मनिटरिङ भ्यान’ र सुरक्षण मुद्रण प्रेसका लागि ठूलो बजेट विनियोजन गरिएको विषयमा प्रश्न उठाएकी थिइन्।

त्यसको जवाफमा मन्त्री तिमिल्सिनाले शैक्षिक सामग्री र सञ्चार पूर्वाधार फरक प्रकृतिका विषय भएकाले एकअर्काको विकल्प नहुने स्पष्ट पारे। उनले राज्यको कर रकम दुरुपयोग नहुने र बजेट पारदर्शिता, मितव्ययिता तथा उत्तरदायित्वका आधारमा खर्च गरिने बताए।

उनका अनुसार सुरक्षण मुद्रण केन्द्रको बजेट उपभोग खर्च नभई कानुनी दायित्व पूरा गर्न गरिएको पुँजीगत लगानी हो। हाल केन्द्रले २४ लाख स्मार्ट चालक अनुमति पत्र र ३५ लाख हुलाक टिकट उत्पादन गरिसकेको र आगामी दिनमा नागरिकता, अन्तःशुल्क टिकट र राष्ट्रिय परिचयपत्रसमेत उत्पादन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

मन्त्री तिमिल्सिनाले स्वदेशमै सुरक्षण दस्तावेज उत्पादन विस्तार गर्दा विदेशी मुद्रा बचत हुनुका साथै राजस्व वृद्धि हुने र दीर्घकालीन रूपमा राज्यको वित्तीय क्षमता सुदृढ हुने विश्वास व्यक्त गरे।

Read More

मध्यपूर्व तनाव घटेसँगै ओपेक प्लसको उत्पादन बढ्न सक्ने विश्लेषण

काठमाडौं। मध्यपूर्वमा भू–राजनीतिक तनाव क्रमशः कम हुँदै गएसँगै पेट्रोलियम निर्यातक देशहरूको संगठन ओपेक प्लसले आगामी महिनामा तेल उत्पादन कोटा बढाउन सक्ने बजार विश्लेषणहरूले संकेत गरेका छन्।

साउदी अरब र रुससहितका प्रमुख सदस्य राष्ट्रहरू आगामी अगस्ट महिनाको उत्पादन परिमाणबारे भर्चुअल बैठकमार्फत छलफल गर्ने तयारीमा छन्। स्विस बैंक यूबीएसका वस्तु विश्लेषक जियोभानी स्टोनोभोका अनुसार ओपेक प्लसले अघिल्ला महिनामा लागू गरिएको उत्पादन कटौतीलाई क्रमशः फिर्ता गर्दै दैनिक करिब १ लाख ८८ हजार ब्यारेलसम्म उत्पादन बढाउन सक्ने सम्भावना देखिएको छ।

विश्लेषकहरूका अनुसार मध्यपूर्व द्वन्द्वका क्रममा स्ट्रेट अफ होर्मुजमा देखिएको अवरोधले आपूर्ति शृंखलामा दबाब सिर्जना गरेको थियो। तर पछिल्ला कूटनीतिक विकासपछि समुद्री मार्गमा आवागमन सहज बन्दै गएको र आपूर्ति स्थिति क्रमशः सामान्य हुँदै गएको देखिन्छ।

Read More

समयमै काम नभएपछि सुर्खेतमा ४ निर्माण ठेक्का रद्द

काठमाडौं। पटकपटक ताकेता र म्याद थप गर्दा पनि काम पूरा नभएपछि सडक डिभिजन सुर्खेतले चार निर्माण ठेक्का सम्झौता अन्त्य गरेको छ।

डिभिजनका सूचना अधिकारी रुपेश केसीका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ तथा ठेक्का सम्झौताका शर्तअनुसार समयमै काम सम्पन्न नगरेपछि ठेक्का रद्द गरिएको हो। सम्बन्धित निर्माण व्यवसायीलाई पटकपटक लिखित तथा मौखिक निर्देशन दिइए पनि सन्तोषजनक प्रगति नभएपछि यस्तो निर्णय गरिएको डिभिजनले जनाएको छ।

ठेक्का रद्द गरिएका आयोजनामा गोचे खोलामाथि सहारे स्वास्थ्यचौकी–बेतेनी सडकअन्तर्गत प्रि–स्ट्रेस्ड आरसिसी मोटरेबल पुल, गुमी–पातिहाल्ना सडकअन्तर्गत भलुकुने खोलामा पुल निर्माण, सुर्खेत–जुम्ला सडकअन्तर्गत खुर्रा खोलामा आरसिसी पुल निर्माण तथा रत्न राजमार्गअन्तर्गत हर्रे–बाङ्गेसिमल खण्डको सडक पुनःस्थापना र संरक्षण कार्य रहेका छन्।

डिभिजनले सार्वजनिक खरिद ऐनको दफा ५९(७) तथा ठेक्का सम्झौताको जीसीसी प्रावधानअनुसार सम्झौता अन्त्य गरिएको जनाएको छ। साथै, पोस्ट टर्मिनेसन मूल्यांकनपछि कानुनी प्रक्रिया अघि बढाइने र सरकारलाई भएको आर्थिक क्षति सम्बन्धित निर्माण व्यवसायीबाट असुलउपर गरिने उल्लेख गरिएको छ।

डिभिजनले सूचना प्रकाशित भएको १५ दिनभित्र सम्बन्धित व्यवसायीलाई कार्यालयमा सम्पर्क गरी वित्तीय फरफारक गर्न पनि आग्रह गरेको छ। पछिल्लो समय निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगर्दा आयोजना ढिलाइ हुने समस्या बढ्दै गएपछि सरकारले रुग्ण ठेक्कामाथि कडाइ गर्दै आएको छ।

Read More

पोखरा–दुबई उडान दिगो बनाउन फ्लाइ दुबई र पर्यटन व्यवसायीबीच छलफल

काठमाडौं। आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई नियमित हवाई उडानलाई दीर्घकालीन र प्रभावकारी बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच छलफल भएको छ।

पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखरासँग आइतबार भएको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले स्थानीय समुदाय र सरोकारवालाको सहयोगले उडानलाई दिगो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार यो उडानमार्फत गण्डकी प्रदेशका यात्रुले दुबई हुँदै विश्वका २५० भन्दा बढी गन्तव्यमा सहज पहुँच पाउनेछन्।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले अन्तरराष्ट्रिय उडानलाई सफल बनाउन निजी क्षेत्रबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए। फ्लाइ इमिरेट्सका नेपाल महाप्रबन्धक रमेश लामिछानेले पनि उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने तयारी पूरा भएको बताए।

छलफलमा पर्यटन प्रवर्द्धन, अन्तरराष्ट्रिय पर्यटक आगमन वृद्धि तथा निजी क्षेत्रबीच सहकार्य विस्तार गर्ने विषयमा समेत जोड दिइएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत महिना फ्लाइ दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडानको अनुमति दिएको थियो। कम्पनीले उडान तालिका सार्वजनिक गर्दै सन् २०२७ मार्च २६ सम्मका लागि बुकिङ खुला गरिसकेको छ।

झन्डै २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल हालसम्म नियमित अन्तरराष्ट्रिय उडानविहीन रहेको अवस्थामा फ्लाइ दुबईको सेवा सुरु हुन लागेकाले यसले पोखराको पर्यटन प्रवर्द्धन र अन्तरराष्ट्रिय हवाई पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Read More

२४ घण्टामा २,००० भन्दा बढी चालक कारबाहीमा, ट्राफिक नियम उल्लङ्घनमा कडाइ

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने २,०४२ सवारीचालक कारबाहीमा परेका छन्। ट्राफिक नियम उल्लङ्घन नियन्त्रण अभियान अन्तर्गत गरिएको कारबाहीबाट राज्यकोषमा १३ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ५६ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १२१ जना तथा ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने ८७ जनालाई कारबाही गरिएको छ। त्यस्तै, तीव्र गतिमा सवारी चलाउने १७३ चालक पनि नियन्त्रणमा परेका छन्।

यसैगरी लेन अनुशासन पालना नगर्ने १२८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ८७ जना र सडक पेटीमा पार्किङ गर्ने ८५ चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ। एकतर्फी सडकमा सवारी चलाउने ५६ जनासहित अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १,२४९ जनामाथि समेत कारबाही गरिएको छ।

ट्राफिक प्रहरीले सवारी अनुशासन पालना गर्न सबैलाई आग्रह गर्दै नियम उल्लङ्घनले दुर्घटनाको जोखिम बढाउने भएकाले जिम्मेवार रूपमा सवारी सञ्चालन गर्न अनुरोध गरेको छ।

Read More

नेपालको पदयात्रा पर्यटनमा एआई ट्रयाकिङ प्रणाली लागू गर्न टान–कोरियाली कम्पनीबीच समझदारी

काठमाडौँ । नेपालमा पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित, पूर्वानुमान योग्य र जोखिम न्यूनीकरण गर्न कृत्रिम बुद्धिमत्ता (एआई) आधारित ट्रयाकिङ तथा मूल्याङ्कन प्रणाली प्रयोग गर्ने उद्देश्यसहित सम्झौता भएको छ।

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) र दक्षिण कोरियाको आइबिएल कम्पनी लिमिटेडबीच एजट्रेक डिजिटल सेफ्टी सिस्टम प्रयोग गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार एआईमा आधारित स्मार्ट सफ्टवेयर प्रविधि प्रयोग गरी पदयात्री, पथप्रदर्शक तथा सहयोगी श्रमिकहरूको जोखिम पूर्वानुमान, वास्तविक समय (रियल टाइम) लोकेशन पहिचान तथा उद्धार कार्यलाई सहज बनाइनेछ।

यस प्रणालीलाई प्रारम्भमा कुनै एक पदयात्रा मार्गमा परीक्षणका रूपमा लागू गरिनेछ। परीक्षणका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, स्थानीय सरकार तथा निजी क्षेत्रसँग समन्वय गरिनेछ। सफल परीक्षणपछि सरकारी अनुमति लिएर प्रणालीलाई व्यापक रूपमा विस्तार गर्ने योजना छ।

सम्झौतामा टानका महासचिव सोनाम ग्याल्जेन शेर्पा र आइबिएल कम्पनीका प्रमुख कार्यकारी अधिकृत सु डो किमले हस्ताक्षर गरेका हुन्।

परियोजनाअन्तर्गत पर्यटकहरूको रियल टाइम डाटाबेस तयार गर्ने, जोखिमबारे पूर्वसूचना दिने तथा डिजिटल ट्रयाकिङ प्रणाली स्थापना गर्ने काममा कोरियाली प्राविधिक पक्षले सहयोग गर्नेछ।

कार्यक्रम संयोजक तथा टानका सह–कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाका अनुसार प्रविधि स्थापना, प्राविधिक तालिम तथा एआई आधारित सूचना प्रणाली विकासमा कम्पनीले प्राविधिक सहयोग उपलब्ध गराउनेछ।

टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईंले सम्बन्धित सरकारी निकाय, स्थानीय तह, व्यवसायी र प्राविधिक विज्ञहरूसँग समन्वय गरी यो प्रणालीले पर्यटन क्षेत्रलाई अझ सुरक्षित र विश्वसनीय बनाउन सक्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा कोरियाली संस्थाका प्रतिनिधिहरू, विश्वविद्यालयका प्राध्यापक तथा सुरक्षा प्रविधि विज्ञहरूको समेत उपस्थिति रहेको थियो।

Read More

नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो, सुन तोलामा ६ हजारभन्दा बढीले बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि देखिएको छ। सुनको मूल्य एकै दिनमा उल्लेख्य रूपमा बढ्दै प्रतितोला ६ हजार २०० रुपैयाँले उकालो लागेको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार सुनको मूल्य २ लाख ७७ हजार ३०० रुपैयाँ थियो, जसमा सो दिन ६०० रुपैयाँको गिरावट आएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार चाँदी ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।

Read More

मूल्य घटेपछि देशभर इन्धन संकट: पेट्रोल पम्प बन्द, काठमाडौँमा उपभोक्ता घण्टौँ लाइनमा

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको केही घण्टामै काठमाडौँ उपत्यकासहित देशभर पेट्रोल पम्पहरूमा गम्भीर इन्धन अभाव देखिएको छ, जसले उपभोक्तामा ठूलो असन्तुष्टि र आक्रोश पैदा गरेको छ।

निगमले मङ्गलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाएको घोषणा गरेपछि बजारमा ठूलो हलचल देखिएको हो। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आएको भन्दै उपभोक्तालाई राहत दिने निर्णय गरिए पनि त्यसको ठीक उल्टो प्रभाव देखिएको छ।

मूल्य घट्ने पूर्वअनुमानमै घाटा हुने डरले धेरै पेट्रोल पम्प सञ्चालकहरूले डिपोबाट तेल नउठाएको आरोप लागेको छ। सोही कारण काठमाडौँसहित देशका विभिन्न सहरमा निजी पेट्रोल पम्पहरूले “पेट्रोल छैन” भन्दै साइनबोर्ड टाँसेर सेवा बन्द गरेका छन्।

अचानक पम्पहरू बन्द भएपछि इन्धन भर्न पुगेका सर्वसाधारण सवारी चालकहरू सरकारी पम्पहरूमा घण्टौँ लामो लाइन बस्न बाध्य भएका छन्। राजधानीका विभिन्न क्षेत्रमा बिहानैदेखि लामो लाइन देखिएपछि यातायात सञ्चालनमै असर परेको छ।

निगम स्रोतका अनुसार बजारमा मूल्य घट्ने हल्ला फैलिएसँगै केही व्यवसायीले नोक्सानीको डरले तेल उठाउन बन्द गरेका हुन्, जसका कारण कृत्रिम अभाव सिर्जना भएको हो।

यसैबीच, नेपाल आयल निगमले उपभोक्तालाई सास्ती दिने गरी इन्धन लुकाउने वा पम्प बन्द गर्ने कार्य सह्य नहुने चेतावनी दिएको छ। निगमले यस्ता गतिविधिमा संलग्न पम्पहरूलाई कडा कारबाही गरिने जनाएको छ।

इन्धन संकट र कालोबजारीको गुनासो बढेपछि निगमले काठमाडौँ उपत्यकामा मात्रै तीनवटा विशेष अनुगमन टोली परिचालन गरी आकस्मिक छानबिन सुरु गरेको छ। अनुगमनका क्रममा नियतवश पम्प बन्द गरेको वा तेल लुकाएको पाइएमा पेट्रोलियम पदार्थ बिक्रेता नियमावलीअनुसार कडा कारबाही गरिने निगमले स्पष्ट पारेको छ।

Read More

२४ घण्टामा २,१५७ चालक कारबाहीमा, २१ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं। बितेको २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा दुई हजार १५७ सवारीचालक कारबाहीमा परेका छन्। सो कारबाहीबाट राज्यकोषमा रु २१ लाख ४० हजार ५४६ राजस्व संकलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ८२ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १०१ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १०५ जना र तीव्र गतिमा सवारी चलाउने ११७ जनालाई कारबाही गरिएको हो।

त्यसैगरी लेन अनुशासन पालना नगर्ने ७७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६१ जना, कालो सिसा प्रयोग गरेका २२ सवारी, एकतर्फी सडकमा सवारी चलाउने ५४ जना तथा अन्य सवारी नियम उल्लङ्घन गर्ने एक हजार ५३८ जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

Read More

इन्धनको मूल्यमा भारी कटौती, पेट्रोल २० र डिजेल ३० रुपैयाँ सस्तो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको मूल्यमा उल्लेख्य कटौती गरेको छ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाइएको छ। यससँगै काठमाडौं, पोखरा र दिपायललगायत तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम भएको छ।

त्यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ। अब उपभोक्ताले एक सिलिन्डर एलपी ग्यास २,०६० रुपैयाँमा खरिद गर्न सक्नेछन्।

यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ४० रुपैयाँले घटाइएको नेपाल आयल निगमले जनाएको छ।

Read More