२०८३ कार्तिक १०

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत नाघ्यो, स्थानीय तहमा सबैभन्दा बढी प्रगति

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म आफ्नो कुल बजेटको दुई तिहाइभन्दा बढी रकम खर्च गरेको जनाएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रारम्भिक विवरणअनुसार हालसम्म ६७.१८ प्रतिशत बजेट कार्यान्वयन भएको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि छुट्याएको ३८ अर्ब ९१ करोड रुपैयाँमध्ये २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ खर्च गरेको छ।

प्रदेश बजेट खर्चको समग्र अवस्था

शीर्षकविनियोजनखर्चप्रगति
कुल बजेट३८ अर्ब ९१ करोड रुपैयाँ२६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ६७.१८%
चालु खर्च१५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार रुपैयाँ१० अर्ब ४६ करोड २३ लाख १४ हजार रुपैयाँ६७.७६%
पुँजीगत खर्च२३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ१५ अर्ब ६७ करोड ७९ लाख ६४ हजार रुपैयाँ६६.८०%
स्थानीय तह हस्तान्तरण३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार रुपैयाँ२ अर्ब ९० करोड ५८ लाख १५ हजार रुपैयाँ८४.८७%

विवरणअनुसार चालुतर्फ छुट्याइएको बजेटमध्ये १० अर्ब ४६ करोड २३ लाख १४ हजार रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फ १५ अर्ब ६७ करोड ७९ लाख ६४ हजार रुपैयाँ कार्यान्वयन भएको छ।

स्वास्थ्य मन्त्रालयको खर्च प्रगति सबैभन्दा उच्च

मन्त्रालयगत रूपमा हेर्दा स्वास्थ्य मन्त्रालयले सबैभन्दा राम्रो वित्तीय प्रगति देखाएको छ। उक्त मन्त्रालयले ४ अर्ब ९५ करोड २९ लाख ७३ हजार रुपैयाँको कुल बजेटमध्ये ३ अर्ब ९३ करोड १५ लाख ६६ हजार रुपैयाँ खर्च गर्दै ७९.३८ प्रतिशत प्रगति हासिल गरेको छ।

त्यसपछि वन तथा वातावरण मन्त्रालयले ७१.३२ प्रतिशत र ठूलो बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले ७०.८८ प्रतिशत खर्च प्रगति हासिल गरेका छन्।

मन्त्रालय/निकायबजेटखर्चप्रगति
स्वास्थ्य मन्त्रालय४ अर्ब ९५ करोड २९ लाख ७३ हजार रुपैयाँ३ अर्ब ९३ करोड १५ लाख ६६ हजार रुपैयाँ७९.३८%
वन तथा वातावरण मन्त्रालय२ अर्ब ५४ करोड ७४ लाख ५० हजार रुपैयाँ१ अर्ब ८१ करोड ६८ लाख ४० हजार रुपैयाँ७१.३२%
भौतिक पूर्वाधार विकास मन्त्रालय९ अर्ब ९२ करोड ४५ लाख रुपैयाँ७ अर्ब ३ करोड ४४ लाख २० हजार रुपैयाँ७०.८८%
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय२ अर्ब ६८ करोड ६० लाख रुपैयाँ१ अर्ब ८९ करोड ९४ लाख ७७ हजार रुपैयाँ७०.७२%
प्रदेश लोक सेवा आयोग१० करोड रुपैयाँ६ करोड ६१ लाख ५७ हजार रुपैयाँ६६.१५%
सहरी विकास तथा खानेपानी मन्त्रालय५ अर्ब ६२ करोड ३ लाख ८० हजार रुपैयाँ३ अर्ब ६३ करोड १९ लाख ९३ हजार रुपैयाँ६४.६२%
उद्योग, पर्यटन तथा यातायात मन्त्रालय१ अर्ब ९० करोड ४२ लाख ११ हजार रुपैयाँ१ अर्ब १६ करोड ४९ लाख ७९ हजार रुपैयाँ६१.१८%
प्रदेश सभा२६ करोड २० लाख रुपैयाँ१५ करोड ८५ लाख ३६ हजार रुपैयाँ६०.५१%
सामाजिक विकास मन्त्रालय३ अर्ब ६१ करोड ७५ लाख ३७ हजार रुपैयाँ२ अर्ब ७ करोड २५ लाख ६२ हजार रुपैयाँ५७.२९%
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय१ अर्ब ५० करोड ४७ लाख ५० हजार रुपैयाँ८५ करोड ९२ लाख ५० हजार रुपैयाँ५७.१०%
युवा तथा खेलकुद मन्त्रालय३७ करोड २४ लाख ५० हजार रुपैयाँ१६ करोड ६८ लाख ९४ हजार रुपैयाँ४४.८१%
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय५० करोड १८ लाख रुपैयाँ२२ करोड ३३ लाख १४ हजार रुपैयाँ४४.५०%
प्रदेश योजना आयोग३ करोड ५ लाख रुपैयाँ११ लाख ७२ हजार रुपैयाँ३८.४४%
आर्थिक मामिला तथा योजना मन्त्रालय१६ करोड ४० लाख रुपैयाँ६ करोड २५ लाख १९ हजार रुपैयाँ३८.१२%
आन्तरिक मामिला तथा कानून मन्त्रालय३६ करोड ६९ लाख ९६ हजार रुपैयाँ१३ करोड ४२ लाख २७ हजार रुपैयाँ३६.५७%

स्थानीय तहको बजेट कार्यान्वयन उत्साहजनक

प्रदेश सरकारबाट स्थानीय तहका लागि पठाइएको बजेट खर्च अवस्था भने तुलनात्मक रूपमा राम्रो देखिएको छ। स्थानीय तहका लागि छुट्याइएको ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार रुपैयाँमध्ये २ अर्ब ९० करोड ५८ लाख १५ हजार रुपैयाँ खर्च भइसकेको छ।

यस आधारमा स्थानीय तहको बजेट कार्यान्वयन प्रगति ८४.८७ प्रतिशत पुगेको छ, जुन प्रदेश सरकारको औसत खर्चभन्दा उच्च हो।

प्रदेश लोक सेवा आयोगको विवरणमा कुल खर्च प्रगति ६६.१५ प्रतिशत देखिए पनि पुँजीगत खर्च भने १७४.५४ प्रतिशत पुगेको उल्लेख गरिएको छ।

Read More

नेपाली बजारमा सुनको मूल्य तोलामा २७ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन तोलामा २ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो।

महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर २ लाख ८७ हजार ४ सय रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। बिहीबार प्रतितोला ४ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १७० रुपैयाँले बढेर ४ हजार ५ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरको अवस्था तथा विश्व बजारको माग–आपूर्तिले नेपाली बजारमा पनि बहुमूल्य धातुको मूल्य प्रभावित हुँदै आएको छ।

Read More

भुक्तानीको अन्तिम दिन सरकारले एकै दिन गर्‍यो १७ अर्ब बढी खर्च

काठमाडौं । आर्थिक वर्षको भुक्तानी गर्ने अन्तिम दिन सरकारले एकै दिन १७ अर्ब ९ करोड रुपैयाँ बराबरको भुक्तानी गरेको छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार बुधबारसम्म सरकारले गर्ने भुक्तानीका लागि सबै चेक काटिसक्नुपर्ने व्यवस्था रहेको छ।

स्थानीय तहले प्रयोग गर्ने सूत्र प्रणालीमा देशभर समस्या देखिँदा भुक्तानी प्रक्रियामा असर परेको छ। अन्तिम दिन यस्ता समस्या अझ बढी देखिने गरेको कार्यालयले जनाएको छ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार बुधबारसम्म सरकारको कुल बजेट खर्च १५ खर्ब ३१ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। मंगलबारसम्म यस्तो खर्च १५ खर्ब १४ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो।

यस वर्ष पूँजीगत खर्च भने अपेक्षाकृत कमजोर देखिएको छ। बुधबारसम्म कुल पूँजीगत खर्च १ खर्ब ६३ अर्ब १७ करोड रुपैयाँ पुगेको छ, जुन लक्ष्यको करिब ४० प्रतिशत मात्रै हो।

Read More

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको छ।

बुधबार प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ४०० रुपैयाँले घटेको हो। महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ४४ हजार ८५ रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँ कायम भएको छ। बुधबार प्रतितोला ४ हजार ५०० रुपैयाँ रहेको चाँदीको मूल्य आज १६० रुपैयाँले घटेको हो।

आज चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ७२० रुपैयाँ ५० पैसा कायम भएको महासंघले जनाएको छ।

Read More

एडीबीले नेपाललाई थप २ अर्ब ४० करोड डलर सहयोग गर्ने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र विकासका क्षेत्रमा सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गर्दै नेपाल–एडीबी साझेदारीलाई थप मजबुत बनाउने बताएका हुन्।

एडीबीले सन् २०२९ सम्म नेपाललाई थप २ अर्ब ४० करोड अमेरिकी डलर अर्थात् करिब ३ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। चालु वर्षमा मात्रै एडीबीको सहयोग करिब ६६ करोड डलर पुग्ने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा नेपाल र एडीबीबीच १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहयोग सम्झौता भएको छ। सम्झौताअनुसार ११ करोड ५० लाख डलर खानेपानी तथा ढल निकास परियोजनामा र ५ करोड डलर भन्सार सुधार तथा डिजिटल व्यापार प्रवर्द्धनका लागि परिचालन गरिनेछ।

खानेपानी परियोजनाबाट ८ लाख ५० हजारभन्दा बढी नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ भने डिजिटल व्यापार र भन्सार आधुनिकीकरणले व्यापार सहजीकरणमा सहयोग पुर्‍याउने बताइएको छ।

अध्यक्ष कान्दाले काठमाडौंका दुई विद्युत् सबस्टेसनको भर्चुअल उद्घाटन गर्नुका साथै एडीबीको सहयोगमा पुनर्निर्माण गरिएको विश्व निकेतन विद्यालयको अवलोकन गरेका छन्। उनले एआई साक्षरता कार्यक्रमको समेत सुरुवात गरेका थिए।

अर्थमन्त्रीसँगको भेटमा लगानी वातावरण सुधार, निजी क्षेत्रका चुनौती र आर्थिक सहकार्य विस्तारका विषयमा छलफल भएको जनाइएको छ।

सन् १९६६ मा स्थापना भएको एडीबीको नेपाल संस्थापक सदस्य हो। नेपालले सन् १९६९ देखि एडीबीबाट वित्तीय सहयोग लिन थालेको हो। हाल नेपालमा एडीबीका करिब ४ अर्ब अमेरिकी डलर बराबरका परियोजना सञ्चालनमा छन्। आगामी सहयोग रोजगारी सिर्जना, दिगो पूर्वाधार निर्माण र डिजिटल रूपान्तरणमा केन्द्रित हुने बताइएको छ।

Read More

धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए, ३५ करोड लगानीसँगै ३५० जनाले रोजगारी पाउने

काठमाडौं । धरान औद्योगिक क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका उद्योगहरूको लिज सम्झौता रद्द गरेर पाँच नयाँ उद्योग भित्र्याइएको छ। नयाँ उद्योग थपिएसँगै करिब ३५ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी भित्रिएको छ भने उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ।

धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख जीवनारायण बञ्जाडेका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कानुनी प्रक्रिया पूरा गरी लामो समयदेखि उत्पादन नगरी जग्गा ओगटेर बसेका उद्योगहरूको लिज सम्झौता रद्द गरेको हो। त्यसपछि सार्वजनिक प्रस्ताव आह्वान तथा लिज हस्तान्तरण प्रक्रिया पूरा गर्दै नयाँ उद्योगसँग सम्झौता गरिएको उनले जानकारी दिए।

नयाँ उद्योगमा प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज, जिडी स्टिल इन्डस्ट्रिज, सिद्धि विनायक घरेलु उद्योग, जेआर भेन्चर्स र सूर्य डायमन्ड इन्डस्ट्रिज रहेका छन्। सूर्य डायमन्ड इन्डस्ट्रिजको लिज सम्झौता भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको केन्द्रीय कार्यालयबाट अन्तिम स्वीकृतिको प्रक्रियामा रहेको जनाइएको छ।

यसअघि नेपाल न्यून नेटवर्क, शुभम् वाटर इन्डस्ट्रिज, जानकी प्रोडक्ट्स, फेमिली युटेन्सिल इन्डस्ट्रिज र कामना मल्टिफोर्ड इन्डस्ट्रिजको लिज सम्झौता रद्द गरिएको थियो।

सञ्चालनको तयारीमा रहेका उद्योगहरूले पानीका मिटर तथा फिटिङ सामग्री, निर्माण सामग्री, खाद्यान्न, पशु आहार तथा विभिन्न प्रकारका भाँडावर्तन उत्पादन गर्नेछन्। उत्पादनमुखी उद्योगलाई प्राथमिकता दिँदै आयात प्रतिस्थापन, राजस्व वृद्धि र स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउने उद्देश्यले नयाँ उद्योगसँग सम्झौता गरिएको प्रमुख बञ्जाडेको भनाइ छ। उनका अनुसार उद्योग सञ्चालनमा आएपछि स्वदेशी बजारको माग पूर्ति गर्नुका साथै केही उत्पादन निर्यात गर्ने सम्भावना पनि रहेको छ।

धरान औद्योगिक क्षेत्रमा हाल प्लास्टिकजन्य पाइप, खाद्यान्न, धातुजन्य सामग्री, होजियारी तथा डेरीजन्य वस्तु उत्पादन गर्ने उद्योग सञ्चालनमा छन्। विसं २०३२ देखि सञ्चालनमा रहेको यस औद्योगिक क्षेत्रमा अहिले ३५ उद्योगमध्ये ३० उद्योग सञ्चालनमा छन् भने पाँच उद्योग निर्माणको अन्तिम चरणमा रहेका छन्। सञ्चालनमा रहेका उद्योगमार्फत हाल करिब एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

Read More

नेपालमा एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब डलर पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको “एसियाली विकास बैंक (एडिबी)” ले नेपालमा आफ्नो वित्तीय सहयोग विस्तार गर्ने जनाएको छ। एडिबीले सन् २०२९ सम्म नेपालका लागि उपलब्ध गराउने सहयोग रकम २.४ अर्ब अमेरिकी डलर पुग्ने अपेक्षा गरेको हो।

नेपाल भ्रमणमा रहेका एडिबीका अध्यक्ष मासातो कान्डाले नेपालका विकास प्राथमिकतालाई केन्द्रमा राख्दै बैंकले आफ्नो साझेदारी थप विस्तार गरिरहेको बताए। उनले नेपालको आर्थिक विकास, रोजगारी सिर्जना र दिगो पूर्वाधार निर्माणमा एडिबीको सहयोग निरन्तर रहने उल्लेख गरे।

नेपालका लागि एडिबीको देशीय साझेदारी रणनीति २०२५–२०२९ अन्तर्गत उक्त सहयोग परिचालन गरिनेछ। रणनीतिले रोजगारी विस्तार, निजी क्षेत्रको विकास, सार्वजनिक सेवा सुधार, दिगो पूर्वाधार, डिजिटल रूपान्तरण तथा महिला, पिछडिएका र जोखिममा रहेका समुदायको सशक्तीकरणलाई प्राथमिकतामा राखेको छ।

एडिबीले सह–वित्तीय व्यवस्था, हरित वित्त तथा स्थानीय मुद्रामा जारी गरिने बन्डजस्ता नयाँ वित्तीय उपकरणमार्फत थप स्रोत परिचालन गर्ने योजना समेत अघि सारेको छ।

अध्यक्ष कान्डाको नेपाल भ्रमणका क्रममा एडिबीले वार्षिक प्रतिबद्धताको हिस्साका रूपमा नेपालसँग कुल १६५ मिलियन अमेरिकी डलर बराबरका दुईवटा ऋण सम्झौता गरेको जनाएको छ।

पहिलो सम्झौताअन्तर्गत ११५ मिलियन अमेरिकी डलर बराबरको सहयोग खानेपानी तथा सरसफाइ क्षेत्रमा परिचालन गरिनेछ। यसबाट ८ लाख ५० हजारभन्दा बढी नागरिकलाई सुरक्षित र भरपर्दो खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

त्यस्तै, ५० मिलियन अमेरिकी डलर बराबरको नीतिगत ऋणमार्फत नेपालको सीमा नाकामा वस्तु आवागमन प्रणालीलाई आधुनिक बनाउने योजना रहेको छ। यसले व्यापार प्रक्रियालाई सहज बनाउने, व्यवसाय सञ्चालन लागत घटाउने तथा डिजिटल प्रणालीमार्फत प्रतिस्पर्धात्मक क्षमता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एडिबी सहयोगसम्बन्धी मुख्य तथ्य

  • सन् २०२९ सम्म नेपालका लागि प्रस्तावित सहयोग: २.४ अर्ब अमेरिकी डलर
  • भ्रमणका क्रममा भएको नयाँ ऋण सम्झौता: १६५ मिलियन अमेरिकी डलर
  • खानेपानी तथा सरसफाइ परियोजना: ११५ मिलियन अमेरिकी डलर
  • सीमा नाका आधुनिकीकरणका लागि नीतिगत ऋण: ५० मिलियन अमेरिकी डलर
  • चालु वर्षको अनुमानित वार्षिक ऋण सहयोग: ६६० मिलियन अमेरिकी डलर

एडिबी अध्यक्ष कान्डाले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेटवार्ता गरेका थिए। भेटमा नेपाल–एडिबी साझेदारीको ६० वर्ष पूरा भएको अवसरमा नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनका क्षेत्रमा सहकार्य थप मजबुत बनाउने विषयमा छलफल भएको जनाइएको छ।

एसियाली विकास बैंक एसिया तथा प्रशान्त क्षेत्रमा दिगो, समावेशी र उत्थानशील आर्थिक विकासलाई सहयोग गर्ने प्रमुख बहुपक्षीय विकास संस्था हो। सन् १९६६ मा स्थापना भएको एडिबीमा हाल ६९ सदस्य राष्ट्र रहेका छन्, जसमध्ये ५० राष्ट्र एसिया तथा प्रशान्त क्षेत्रका छन्।

Read More

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १ हजार ४ सय रुपैयाँ सस्तो

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा छापावाल सुन प्रतितोला १ हजार ४ सय रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँ ले सस्तो भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम गरिएको छ। यस्तै, चाँदी प्रतितोला ४ हजार ५५५ रुपैयाँ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

सोमबार छापावाल सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ५८५ रुपैयाँ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव तथा विनिमय दरको प्रभावका आधारमा स्थानीय बजारमा दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण हुने गरेको छ।

Read More

साउन २६ देखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’, ४९ अटो ब्रान्ड एउटै छानामुनि

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप मा सञ्चालन हुने एक्स्पोमा चारपांग्रे, दुईपांग्रे तथा व्यावसायिक सवारीसाधनका ४९ ब्रान्ड सहभागी हुने आयोजकले जनाएको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा नाइमा अध्यक्ष रीतु सिंह वैद्य ले एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै यसलाई नेपालको सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताइन्। उनका अनुसार एक्स्पोले सवारीसाधनको प्रदर्शनीमा मात्र सीमित नभई आधुनिक, दिगो र सर्वसुलभ यातायात प्रणालीको प्रवर्द्धन गर्ने साझा प्लेटफर्मका रूपमा भूमिका खेल्नेछ।

आयोजकका अनुसार प्रदर्शनीका लागि ४९ वटा स्टल पारदर्शी चिठ्ठा प्रक्रियामार्फत बाँडफाँट गरिएको छ। तीमध्ये २६ वटा स्टल चारपांग्रे सवारी ब्रान्ड र २३ वटा स्टल दुईपांग्रे तथा व्यावसायिक सवारी ब्रान्ड का लागि छुट्याइएको छ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो योजना समितिका अध्यक्ष गौरव शारदा का अनुसार टाटा, किया, डेन्जा, आमोडा, एमजी लगायतका चर्चित अटोमोबाइल ब्रान्डहरूले प्रदर्शनीमा आफ्ना नवीनतम उत्पादन र प्रविधि प्रदर्शन गर्नेछन्।

प्रदर्शनीमा अत्याधुनिक सवारीसाधन, विद्युतीय तथा स्मार्ट मोबिलिटी समाधान, नयाँ प्रविधि र नवप्रवर्तन प्रस्तुत गरिनेछ। साथै विभिन्न कम्पनीहरूले नयाँ उत्पादन सार्वजनिक गर्ने, अत्याधुनिक प्रविधिको प्रत्यक्ष प्रदर्शन गर्ने तथा अटोमोबाइल र मोबिलिटी क्षेत्रसँग सम्बन्धित ज्ञानमूलक सत्र सञ्चालन गर्ने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ।

नाइमाका अनुसार एक्स्पोले नेपालमा आधुनिक मोबिलिटी प्रविधिको विस्तार, अटोमोबाइल उद्योगको प्रवर्द्धन र उपभोक्तालाई नवीनतम प्रविधिसँग प्रत्यक्ष रूपमा परिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Read More

कस्टमर एक्सपेरियन्स जोन सहित शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो बिक्रीपछिको सेवालाई थप विस्तार गर्दै धरान, इटहरी र नारायणगढमा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

कम्पनीले ग्राहकलाई छिटो, सहज र गुणस्तरीय प्राविधिक सेवा उपलब्ध गराउने उद्देश्यले यी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाएको हो।

नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, स्मार्टवाच, फिटनेस ब्यान्ड, इयरफोन, हेडफोन तथा विभिन्न आइओटी (IoT) उपकरणहरूको मर्मत, प्राविधिक परीक्षण र बिक्रीपछिको सेवा उपलब्ध हुनेछ। साथै, सबै मर्मत कार्यमा कम्पनीका आधिकारिक (जेनुइन) स्पेयर पार्ट्स प्रयोग गरिने भएकाले ग्राहकले भरपर्दो सेवा पाउने कम्पनीको दाबी छ।

यी सर्भिस सेन्टरहरूको सञ्चालन टेलिडाइरेक्ट प्रा.लि.ले गर्नेछ। रमेश कर्पअन्तर्गत रहेको टेलिडाइरेक्ट नेपालमा शाओमीको आधिकारिक बिक्रीपछिको सेवा प्रदायक कम्पनीका रूपमा कार्यरत छ।

इटहरीमा सञ्चालनमा आएको सर्भिस सेन्टरमा विशेष ‘कस्टमर एक्सपेरियन्स जोन’ समेत स्थापना गरिएको छ। यस क्षेत्रमा ग्राहकहरूले शाओमीका नयाँ–नयाँ उत्पादन प्रत्यक्ष रूपमा अवलोकन गर्न, प्रयोग गर्न र अनुभव लिन सक्नेछन्। कम्पनीका अनुसार आधुनिक पूर्वाधारसहित तयार गरिएको यो सुविधा ग्राहक अनुभवलाई अझ प्रभावकारी बनाउने लक्ष्यका साथ तयार गरिएको हो।

टेलिडाइरेक्ट प्रा.लि.का महाप्रबन्धक दीपक श्रेष्ठले धरान, इटहरी र नारायणगढमा आधिकारिक सर्भिस सेन्टर विस्तार हुनु ग्राहकलाई गुणस्तरीय र सहज बिक्रीपछिको सेवा उपलब्ध गराउने दिशामा महत्वपूर्ण उपलब्धि भएको बताए। उनले आगामी दिनमा देशभर शाओमीको सेवा सञ्जाल अझ विस्तार गर्दै ग्राहकको विश्वासलाई थप मजबुत बनाइने प्रतिबद्धता व्यक्त गरे।

कम्पनीका अनुसार नयाँ सर्भिस सेन्टरमा दक्ष प्राविधिकहरूको टोली रहनेछ, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्या समाधानसम्मका सेवा आधिकारिक मापदण्डअनुसार प्रदान गर्नेछ।

यसैबीच, नयाँ सर्भिस सेन्टर सञ्चालनको अवसरमा ग्राहकलाई लक्षित गरी आकर्षक छुट योजना समेत सार्वजनिक गरिने कम्पनीले जनाएको छ। यसबारे विस्तृत जानकारी शाओमी नेपालको आधिकारिक सामाजिक सञ्जालमार्फत उपलब्ध गराइने बताइएको छ।

Read More