२०८३ कार्तिक ९

भ्याट र प्यान बिल लिने ग्राहकलाई लखपति बनाउने सरकारको योजना

काठमाडौं । सरकारले कर प्रणालीमा आबद्ध नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यले बिल लिने ग्राहकलाई लक्षित गर्दै लखपति योजना सञ्चालन गर्ने भएको छ। मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध कारोबारमा सहभागी नागरिकलाई योजनामा समेटिने अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १०० रुपैयाँभन्दा बढीको खरिद वा सेवा कारोबार गर्दा अनलाइन वा नगद भुक्तानी गरी आधिकारिक बिल लिने ग्राहकहरू यस योजनामा सहभागी हुन सक्नेछन्। ग्राहकले सामान खरिद गर्दा वा होटल तथा रेस्टुरेन्टमा सेवा लिएपछि अनिवार्य रूपमा सक्कली बिल लिनुपर्ने मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयका अनुसार ग्राहकले प्राप्त गरेको बिल नम्बर नै लखपति योजनाका लागि छनोट हुने आधार हुनेछ। यसमार्फत उपभोक्तालाई बिल लिने बानीको विकास गराउँदै कर प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउने सरकारको उद्देश्य रहेको छ।

योजना कार्यान्वयनअन्तर्गत हाललाई प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन गरी दुई पटक लखपति योजनाका विजेता घोषणा गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले उपभोक्तालाई कारोबार गर्दा अनिवार्य रूपमा आधिकारिक बिल लिन र कर प्रणालीमा सहयोग गर्न आग्रह गरेको छ।

Read More

ऊर्जा क्षेत्रमा तीव्र विस्तार, ३ हजार २११ मेगावाटका जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

काठमाडौं । विद्युत् विकास विभागले गत आर्थिक वर्ष २०८२/८३ मा जलविद्युत्, सौर्य ऊर्जा तथा प्रसारण लाइन निर्माणका क्षेत्रमा उल्लेख्य प्रगति गरेको जनाएको छ। विभागका अनुसार सो अवधिमा जलविद्युत् क्षेत्रका ३ हजार २११ मेगावाट क्षमताका ९९ वटा आयोजनाले सर्वेक्षण अनुमतिपत्र (सर्भे लाइसेन्स) पाएका छन्।

त्यस्तै, सौर्य ऊर्जा क्षेत्रतर्फ ३११ मेगावाट क्षमताका सात वटा आयोजनालाई सर्वेक्षण अनुमति प्रदान गरिएको विभागले जनाएको छ। बढ्दो विद्युत् उत्पादन र प्रसारण क्षमतालाई ध्यानमा राख्दै राष्ट्रिय विद्युत् प्रणाली विस्तारका लागि प्रसारण लाइन निर्माणका आयोजनालाई समेत प्राथमिकता दिइएको छ।

विभागका अनुसार गत आर्थिक वर्षमा २२० केभी क्षमताका १७९ सर्किट किलोमिटर, १३२ केभी क्षमताका २७० सर्किट किलोमिटर र ३३ केभी क्षमताका १३२ सर्किट किलोमिटर बराबरका प्रसारण लाइन आयोजनालाई सर्वेक्षण अनुमतिपत्र दिइएको छ।

सर्वेक्षण अनुमतिसँगै निर्माणको चरणमा प्रवेश गरेका आयोजनाको संख्या पनि बढेको छ। विभागले जलविद्युत्तर्फ १ हजार ८५७ मेगावाट क्षमताका २९ वटा आयोजनालाई उत्पादन अनुमतिपत्र (कन्स्ट्रक्सन लाइसेन्स) प्रदान गरेको छ। यस्तै, सौर्य ऊर्जातर्फ ३१ मेगावाट क्षमताका तीन वटा आयोजनाले उत्पादन अनुमतिपत्र पाएका छन्।

विद्युत् विकास विभागले ऊर्जा क्षेत्रबाट राजस्व संकलनमा समेत महत्वपूर्ण योगदान गर्दै आएको जनाएको छ। विभागले वार्षिक रूपमा करिब साढे तीन अर्ब रुपैयाँ रोयल्टी संकलन गर्ने गरेको छ। कानुनी व्यवस्थाअनुसार उक्त रोयल्टी रकम सम्बन्धित प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने भएकाले यसले स्थानीय पूर्वाधार विकास तथा आर्थिक गतिविधि विस्तारमा सहयोग पुर्‍याउने विभागको भनाइ छ।

विभागको तथ्यांकअनुसार हालसम्म जलविद्युत्तर्फ १२ हजार ३३६ मेगावाट क्षमताका २६४ वटा आयोजना र सौर्य ऊर्जातर्फ ७४.६ मेगावाट क्षमताका १० वटा आयोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेका छन्।

त्यस्तै, प्रसारण लाइन पूर्वाधारतर्फ ४०० केभी क्षमताका १ हजार ९७ सर्किट किलोमिटर, २२० केभी क्षमताका ६५६ सर्किट किलोमिटर र १३२ केभी क्षमताका १ हजार ६०८ सर्किट किलोमिटर बराबरका आयोजनाले निर्माण अनुमति पाइसकेका छन्। यसैगरी ३३ केभी क्षमताका ३३७ सर्किट किलोमिटर प्रसारण लाइन आयोजनाले पनि निर्माण अनुमति प्राप्त गरिसकेको विद्युत् विकास विभागकी महानिर्देशक मनदेवी श्रेष्ठले जानकारी दिएकी छन्।

ऊर्जा पूर्वाधार विस्तारसँगै उत्पादन क्षमता वृद्धि, प्रसारण प्रणाली सुदृढीकरण र विद्युत् पहुँच विस्तारमा पछिल्ला वर्षहरूमा लगानी तथा आयोजना स्वीकृतिको गति बढ्दै गएको विभागले जनाएको छ।

Read More

बर्डफ्लुका कारण २७ दिन बन्द चिडियाखाना, तीन करोडको आम्दानी प्रभावित

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना बर्डफ्लु संक्रमणका कारण २७ दिन बन्द हुँदा करिब तीन करोड रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको छ। संक्रमण पुष्टि भएपछि गत ५ असारदेखि सर्वसाधारणका लागि बन्द गरिएको चिडियाखाना संक्रमण नियन्त्रणमा आएपछि साउन १ गतेदेखि पुनः सञ्चालनमा ल्याइएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत रहेको चिडियाखानाले संक्रमण अवधिमा नियमित सरसफाइ, जैविक सुरक्षा तथा संक्रमित जीवजन्तुको उपचारलगायतका आवश्यक उपाय अपनाएको जनाएको छ। पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरूको संयुक्त मूल्यांकनपछि चिडियाखाना पुनः खोल्ने निर्णय गरिएको थियो।

चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार सामान्य अवस्थामा दैनिक करिब एक हजार ७०० देखि एक हजार ८०० जनासम्म आगन्तुक आउने गरेका थिए। बिदाका दिनमा भने शनिबार पाँच हजारदेखि सात हजार र आइतबार तीन हजार ५०० देखि पाँच हजारसम्म दर्शक पुग्ने गरेका थिए।

पुनः सञ्चालन भएको पहिलो दिन साउन १ गते भने करिब ८ सय जनाले मात्रै चिडियाखाना अवलोकन गरेका थिए। हाल चिडियाखानाले बालबालिका तथा ज्येष्ठ नागरिकका लागि १०० रुपैयाँ, विद्यार्थीका लागि १५० रुपैयाँ र अन्य आगन्तुकका लागि २५० रुपैयाँ प्रवेश शुल्क लिँदै आएको छ।

गत आर्थिक वर्षमा चिडियाखानाले करिब १८ करोड रुपैयाँ आम्दानी गरेको थियो। चालु आर्थिक वर्षमा २१ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको भए पनि बर्डफ्लुका कारण लामो समय बन्द हुँदा लक्ष्य हासिल गर्न चुनौती थपिएको चिडियाखाना प्रशासनले जनाएको छ।

Read More

नेप्सेमा दोहोरो अंकको वृद्धि, आँखु खोला जलविद्युतको कारोबार उच्च

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा उल्लेख्य सुधार देखिएको छ। नेप्से ७९.७४ अंकले उकालो लाग्दै २६७७.५४ विन्दुमा बन्द भएको हो।

शुक्रबार कुल ३३५ कम्पनीका १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर किनबेच भएका छन्। दिनभरमा ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७२३ रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन बिहीबारको तुलनामा कारोबार रकम केही बढेको हो। बिहीबार बजारमा ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यसअघि बुधबार पनि नेप्से सकारात्मक दिशामा बन्द भएको थियो।

कारोबार भएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य बढेको छ। शुक्रबार २५९ कम्पनीको मूल्य वृद्धि हुँदा १३ कम्पनीको घटेको छ भने दुई कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी सबैभन्दा अगाडि रह्यो। उक्त कम्पनीको २२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको १७ करोड रुपैयाँ बराबरको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्स र रिडी पावरको क्रमशः १५/१५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। नगदी ग्रुप पावरको पनि १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

शुक्रबारको बजारमा म्युचुअल फन्डबाहेक सबै समूहका उपसूचक सकारात्मक देखिएका छन्। म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूहको उपसूचक ४.६० प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह ४.५८ प्रतिशत र इन्भेस्टमेन्ट समूह ४.१२ प्रतिशतले उकालो लागेको छ।

कम्पनीगत रूपमा श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर मूल्य सकारात्मक सर्किट तहमा पुगेको छ। अर्कोतर्फ आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी नोक्सानी व्यहोरेका छन्। उक्त कम्पनीको सेयर मूल्य १५ प्रतिशतले घटेको छ।

Read More

सुनको मूल्य बढ्यो, चाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार ४०० रुपैयाँले बढेर २ लाख ८५ हजार २०० रुपैयाँ पुगेको छ।

यता, चाँदीको मूल्य भने घटेको छ। बुधबार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ९० रुपैयाँले घटेर ४ हजार ३२५ रुपैयाँमा झरेको हो।

Read More

सुन र चाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ कायम

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको सुनको मूल्य बुधबार ८ सय रुपैयाँले बढेको हो ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले वृद्धि भएको छ । मंगलबार प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ हजार ४१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार सुनको मूल्य १० ग्रामको २ लाख ४४ हजार १७० रुपैयाँ र चाँदीको मूल्य १० ग्रामको ३ हजार ७८५ रुपैयाँ निर्धारण गरिएको छ ।

Read More

बाढीले रेलेखोला जलविद्युत् आयोजना प्रभावित, विद्युत् उत्पादन बन्द

काठमाडौं। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण प्रभावित भएको छ। आयोजनाको बाँध (इन्टेक) क्षेत्रमा बाढी पसेर क्षति पुगेपछि असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ।

आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार बाढीका कारण बाँधमा क्षति पुगेको छ भने बाँधसम्म पुग्ने सडकसमेत पहिरोले अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा मर्मत तथा निरीक्षणका काममा समेत समस्या भएको बताइएको छ।

विद्युत् उत्पादन बन्द हुँदा आयोजनाले आर्थिक क्षति व्यहोर्नुपरेको छ। गत वर्ष मात्रै निर्माण सम्पन्न भएको उक्त आयोजना दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो।

आयोजना सञ्चालनमा ल्याउन क्षतिको मूल्याङ्कन तथा आवश्यक मर्मत कार्य अघि बढाउने तयारी भइरहेको जनाइएको छ।

Read More

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १,२०० रुपैयाँ सस्तियो

काठमाडौं : नेपाली बजारमा पछिल्लो कारोबार दिन सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ।

सोमबार प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार घटेर २ लाख ८४ हजार रुपैयाँमा झरेको हो। अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय माग–आपूर्तिका कारण सुनको मूल्यमा दैनिक परिवर्तन देखिँदै आएको व्यवसायीहरू बताउँछन्।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला ४ हजार ३७५ रुपैयाँ रहेको चाँदी मंगलबार १५ रुपैयाँले घटेर ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार बजारमा सुनचाँदीको मूल्य निर्धारण अन्तर्राष्ट्रिय बजार मूल्य, विदेशी मुद्रा विनिमय दर तथा स्थानीय बजारको अवस्थाका आधारमा हुँदै आएको छ।

Read More

नेपाली बजारमा सुनको मूल्य २८ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार प्रतितोला सुनको मूल्य २ हजार ८ सय रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर ४ हजार ३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

Read More

ल्हेन्दे खोलामा बाढीको जोखिम बढेपछि रसुवागढी जलविद्युत् आयोजनाको उत्पादन रोकियो

काठमाडौं । ल्हेन्दे खोलामा पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अस्थायी रूपमा बन्द गरिएको छ।

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित क्षति रोक्न आइतबार साँझदेखि विद्युत् उत्पादन रोकिएको हो। खोलाको बहाव र अवस्था सामान्य भएमा सोमबारदेखि पुनः उत्पादन सुरु गर्ने तयारी रहेको उनले बताए।

यसअघि गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले आयोजनाको बाँधलगायत विभिन्न संरचनामा ठूलो क्षति पुर्‍याएको थियो। त्यसपछि मर्मत तथा पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको आयोजना फेरि जोखिममा पर्न सक्ने अनुमान गर्दै सुरुङतर्फ पानी पठाउने गेट बन्द गरिएको प्राविधिकहरूले बताएका छन्।

रसुवागढी हाइड्रोपावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाका अनुसार खोलाको बहाव र अवस्थाको निरन्तर निगरानी भइरहेको छ। अवस्था सुरक्षित देखिएमा छिट्टै विद्युत् उत्पादन पुनः सुरु गरिने उनले जानकारी दिए।

Read More