२०८३ श्रावण १३

किभमा रुसी मिसाइल र ड्रोन आक्रमण : ८ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं । युक्रेनको राजधानी किभमा रुसी मिसाइल र ड्रोन आक्रमण हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

किभ सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोका अनुसार बिहीबार रातिदेखि बिहानसम्म भएको आक्रमणले सहरका करिब तीन दर्जन स्थानलाई निशाना बनाएको थियो। आक्रमणमा आवासीय भवनहरू, उच्च अपार्टमेन्ट कम्प्लेक्स र विभिन्न संरचनामा ठूलो क्षति पुगेको बताइएको छ।

किभका मेयर भित्ताली क्लिच्कोले टेलिग्राममार्फत घाइतेहरूको संख्या ३४ पुगेको जानकारी दिएका छन्। उनका अनुसार एक ९ तले आवासीय भवनमा मानिसहरू फसेका थिए भने एउटा अग्लो भवनको ठूलो भाग क्षतिग्रस्त भएको थियो।

स्थानीय पत्रकारहरूले किभको मध्य र पूर्वी क्षेत्रमा लगातार विस्फोटका आवाज सुनेको बताएका छन्। युक्रेनी वायुसेनाले आक्रमणका क्रममा ब्यालिस्टिक मिसाइलहरू किभतर्फ आइरहेको चेतावनी समेत जारी गरेको थियो।

आक्रमणको समयमा सार्वजनिक भएका तस्बिरहरूमा सर्वसाधारणले भूमिगत मेट्रो स्टेशन तथा अन्य आश्रयस्थलमा शरण लिएको देखिएको छ।

घातक आक्रमणअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ठूलो स्तरको सैन्य आक्रमण गर्ने तयारी गरिरहेको चेतावनी दिएका थिए। उनले अन्तर्राष्ट्रिय भ्रमण छोट्याएर स्वदेश फर्कने घोषणा गर्दै नागरिकहरूलाई हवाई साइरन बज्दा सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका थिए।

जेलेन्स्कीले रुसले लामो समयदेखि युक्रेनमाथि ठूलो आक्रमणको योजना बनाइरहेको दाबी गर्दै शान्ति वार्ताका प्रयासहरू असफल भएको आरोप पनि लगाएका छन्।

यसैबीच, आक्रमणको प्रभाव क्षेत्रका कारण छिमेकी देश पोल्यान्डले सुरक्षाका लागि केही समय लडाकु विमानहरू परिचालन गरेको थियो। पछि कुनै हवाई उल्लंघन नभएको पुष्टि भएपछि ती विमानहरू फिर्ता बोलाइएको जनाइएको छ।

Read More

नेप्से परिसूचक ४४ अंकले उकालो, कारोबार रकम ३ अर्ब ८६ करोड पुग्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजारमा उच्च वृद्धि देखिएको छ। निरन्तर गिरावटपछि बजारमा पुनः सुधार देखिँदै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेखनीय अंकले बढेर बन्द भएको हो।

नेप्से परिसूचक आज ४४.59 अंकले बढेर २६५२.93 विन्दुमा पुगेको छ, जुन १.70 प्रतिशतको वृद्धि हो। अघिल्लो कारोबार दिन मंगलबार परिसूचक २४.63 अंकले घटेर २६०८.33 विन्दुमा झरेको थियो भने सोमबार पनि १६.54 अंकले गिरावट आएको थियो।

यस दिन कारोबार रकम पनि बढेको छ। मंगलबार ३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएकोमा बढेर ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आज ३६२ वटा कम्पनीका ९५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भए। बजारमा अधिकांश स्टकहरूमा हरियाली देखिँदा २५२ कम्पनीको मूल्य बढेको छ भने १७ वटाको घटेको छ। ६ वटा समूहको उपसूचक स्थिर रह्यो। सबै १३ वटै समूहका उपसूचक सकारात्मक देखिएका छन्, जसमा हाइड्रोपावर र ट्रेडिङ समूह करिब २ प्रतिशतले बढेका छन्।

विशेषगरी स्नो रिभर्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर १४.22 प्रतिशत, भुजुङ्ग हाइड्रोपावरको १३.90 प्रतिशत र कुथेली बुखारी स्माल हाइड्रोपावरको ९.73 प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ, जसको २८ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सले १७ करोड ५१ लाख, आँखु खोला जलविद्युतले १७ करोड २६ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले करिब १६ करोड रुपैयाँको कारोबार गरेका छन्।

Read More

मूल्य घटेपछि देशभर इन्धन संकट: पेट्रोल पम्प बन्द, काठमाडौँमा उपभोक्ता घण्टौँ लाइनमा

काठमाडौँ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको केही घण्टामै काठमाडौँ उपत्यकासहित देशभर पेट्रोल पम्पहरूमा गम्भीर इन्धन अभाव देखिएको छ, जसले उपभोक्तामा ठूलो असन्तुष्टि र आक्रोश पैदा गरेको छ।

निगमले मङ्गलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाएको घोषणा गरेपछि बजारमा ठूलो हलचल देखिएको हो। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आएको भन्दै उपभोक्तालाई राहत दिने निर्णय गरिए पनि त्यसको ठीक उल्टो प्रभाव देखिएको छ।

मूल्य घट्ने पूर्वअनुमानमै घाटा हुने डरले धेरै पेट्रोल पम्प सञ्चालकहरूले डिपोबाट तेल नउठाएको आरोप लागेको छ। सोही कारण काठमाडौँसहित देशका विभिन्न सहरमा निजी पेट्रोल पम्पहरूले “पेट्रोल छैन” भन्दै साइनबोर्ड टाँसेर सेवा बन्द गरेका छन्।

अचानक पम्पहरू बन्द भएपछि इन्धन भर्न पुगेका सर्वसाधारण सवारी चालकहरू सरकारी पम्पहरूमा घण्टौँ लामो लाइन बस्न बाध्य भएका छन्। राजधानीका विभिन्न क्षेत्रमा बिहानैदेखि लामो लाइन देखिएपछि यातायात सञ्चालनमै असर परेको छ।

निगम स्रोतका अनुसार बजारमा मूल्य घट्ने हल्ला फैलिएसँगै केही व्यवसायीले नोक्सानीको डरले तेल उठाउन बन्द गरेका हुन्, जसका कारण कृत्रिम अभाव सिर्जना भएको हो।

यसैबीच, नेपाल आयल निगमले उपभोक्तालाई सास्ती दिने गरी इन्धन लुकाउने वा पम्प बन्द गर्ने कार्य सह्य नहुने चेतावनी दिएको छ। निगमले यस्ता गतिविधिमा संलग्न पम्पहरूलाई कडा कारबाही गरिने जनाएको छ।

इन्धन संकट र कालोबजारीको गुनासो बढेपछि निगमले काठमाडौँ उपत्यकामा मात्रै तीनवटा विशेष अनुगमन टोली परिचालन गरी आकस्मिक छानबिन सुरु गरेको छ। अनुगमनका क्रममा नियतवश पम्प बन्द गरेको वा तेल लुकाएको पाइएमा पेट्रोलियम पदार्थ बिक्रेता नियमावलीअनुसार कडा कारबाही गरिने निगमले स्पष्ट पारेको छ।

Read More

बैंक सीईओको पारिश्रमिकमा राष्ट्र बैंकको कडाइ, कार्यसम्पादनसँग जोडेर नयाँ सीमा लागू

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको उच्च पारिश्रमिकलाई लिएर उठ्दै आएको आलोचना र लगानीकर्तालाई अपेक्षित लाभ नदेखिएको गुनासोपछि नेपाल राष्ट्र बैंकले नयाँ कडाइपूर्ण व्यवस्था लागू गरेको छ।

केन्द्रीय बैंकले अब सीईओको तलब तथा सुविधा सञ्चालक समितिको स्वतन्त्र निर्णयमा मात्र आधारित नराखी संस्थाको वित्तीय अवस्था, जोखिम व्यवस्थापन, सुशासन र समग्र कार्यसम्पादनसँग अनिवार्य रूपमा जोड्नुपर्ने व्यवस्था गरेको छ।

कार्यसम्पादन आधारित पारिश्रमिक

नयाँ मार्गदर्शनअनुसार सीईओको पारिश्रमिक निर्धारण गर्दा योग्यता, अनुभव, संस्थाको पुँजी प्रतिफल, नाफा, व्यवसायको आकार, सञ्चालन प्रदर्शन, जोखिम स्तर तथा संस्थाभित्र तल्लो र उच्च तहबीचको तलब अन्तरसमेत मूल्यांकन गर्नुपर्नेछ।

कार्यसम्पादनमा आधारित अतिरिक्त पारिश्रमिक अब निश्चित तलब र भत्ताको अधिकतम २० प्रतिशतसम्म मात्र सीमित गरिएको छ। तोकिएका लक्ष्य पूरा नभए यस्तो बोनस नपाइने व्यवस्था पनि स्पष्ट गरिएको छ।

पारदर्शिताका लागि स्वतन्त्र समिति अनिवार्य

सीईओको पारिश्रमिक सिफारिस गर्न स्वतन्त्र सञ्चालकको नेतृत्वमा तीन सदस्यीय समिति गठन गर्नुपर्नेछ। सञ्चालक समितिले उक्त सिफारिसका आधारमा मात्र अन्तिम निर्णय गर्न पाउनेछ, जसले प्रक्रिया बढी पारदर्शी र निष्पक्ष हुने अपेक्षा गरिएको छ।

बैंकको वर्गअनुसार पारिश्रमिक सीमा

राष्ट्र बैंकले बैंकको वर्गअनुसार अधिकतम सीमा पनि निर्धारण गरेको छ।

  • ‘क’ वर्ग वाणिज्य बैंक: कर्मचारी खर्च वा कुल सम्पत्तिको निश्चित प्रतिशतमध्ये कम हुने आधार
  • ‘ख’ वर्ग विकास बैंक: कर्मचारी खर्चको ३% वा कुल सम्पत्तिको ०.०२%
  • ‘ग’ वर्ग वित्त कम्पनी: कुल सम्पत्तिको ०.१०%
  • ‘घ’ वर्ग लघुवित्त: कुल सम्पत्तिको ०.०५%

यी सीमाले संस्थाको क्षमता र आकारभन्दा अस्वाभाविक रूपमा बढी पारिश्रमिक निर्धारण गर्ने प्रवृत्ति रोक्ने अपेक्षा गरिएको छ।

सुविधा तथा खर्चमा नियन्त्रण

नयाँ नियमअनुसार सीईओले सीमित सुविधा मात्र पाउनेछन्। एक मोबाइल र एक ल्यापटप मात्र उपलब्ध हुनेछ भने सेवा अवधिभर एक सवारी साधन, इन्धन र चालक सुविधा मात्र दिन पाइनेछ।

टेलिफोन, इन्टरनेट र अन्य प्रशासनिक खर्चका लागि पनि निश्चित तलबको अधिकतम ०.५ प्रतिशतसम्म मात्र अनुमति दिइएको छ। सीमा नाघिएमा अतिरिक्त रकम सम्बन्धित व्यक्तिबाट असुल गरिनेछ।

रिपोर्टिङ र कार्यान्वयनमा कडाइ

बैंकहरूले सीईओको सम्पूर्ण पारिश्रमिक विवरण वार्षिक प्रतिवेदनमा अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ। नयाँ नियम नयाँ नियुक्तिमा तत्काल लागू हुने भए पनि पुराना सम्झौतामा केही छुट रहनेछ।

राष्ट्र बैंकका अनुसार यस व्यवस्थाले बैंकिङ क्षेत्रमा सुशासन, पारदर्शिता र जवाफदेहिता बढाउने तथा पारिश्रमिक र कार्यसम्पादनबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने लक्ष्य राखिएको छ।

Read More

तीन संसदीय समितिको बैठक आज, विविध विधेयक र नीतिगत विषयमा छलफल

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका तीन संसदीय समितिको बैठक आज (बुधबार) बस्ने भएका छन्। बैठकमा पर्यटन, श्रम तथा उपभोक्ता हित र शिक्षा–स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने कार्यसूची छ।

बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२७ लाई ‘आरोग्य वर्ष’का रूपमा मनाउने तयारीबारे छलफल हुनेछ। साथै नेपाल नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयलाई दिइएका निर्देशनको कार्यान्वयन अवस्था र प्राप्त उपलब्धिहरूको समीक्षा पनि गरिनेछ।

यस्तै, बिहान ९ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि र विविध विषयमा छलफल हुने बताइएको छ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।

Read More

नासाको प्रारम्भिक विश्लेषण : भेनेजुएलाको भूकम्पबाट ५८ हजारभन्दा बढी भवनमा क्षति

काठमाडौं अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले सार्वजनिक गरेको प्रारम्भिक उपग्रह विश्लेषणले गत साता भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पबाट ५८ हजारभन्दा बढी भवनमा क्षति पुगेको देखाएको छ।

नासाका अनुसार भूकम्पपछिको अवस्थाको अध्ययन गर्न सङ्कलन गरिएको उपग्रह राडार तथ्याङ्कको विश्लेषणबाट प्रभावित क्षेत्रमा करिब ५८ हजार ८७० भवन क्षतिग्रस्त भएको अनुमान गरिएको हो।

ओरेगन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ता कोरी शेर र जामोन भान डेन होकले भूकम्पको भोलिपल्ट अर्थात् जुन २५ मा सङ्कलन गरिएको तथ्याङ्कको अध्ययन गरेका हुन्। उक्त विश्लेषण युरोपेली अन्तरिक्ष एजेन्सीको उच्च–रिजोल्युसन राडार इमेजरी उपग्रह ‘सेन्टिनेल–१’ बाट प्राप्त विवरणमा आधारित रहेको जनाइएको छ।

गत साता भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएको थियो। त्यस घटनामा हालसम्म एक हजार ७०० जनाको मृत्यु भएको पुष्टि भएको छ भने हजारौँ व्यक्ति अझै बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन्।

अनुसन्धानकर्ताहरूका अनुसार यो द्रुत प्रारम्भिक मूल्याङ्कन भएकाले यसले सम्भावित क्षतिको अवस्था देखाएको मात्र हो। वास्तविक क्षतिको विस्तृत प्रमाणीकरण प्रक्रिया अझै जारी रहेको उनीहरूको भनाइ छ।

नासाले उपग्रहबाट प्राप्त तथ्याङ्कले प्रभावित क्षेत्रमा खटिएका उद्धार टोलीलाई क्षतिको अवस्था छिटो मूल्याङ्कन गर्न तथा उद्धार र राहत कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न महत्वपूर्ण सहयोग पुग्ने जनाएको छ।

Read More

चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरियो, पाराग्वे पेनाल्टीमा विजयी हुँदै अन्तिम १६ मा

काठमाडौं । चार पटकको विश्वविजेता जर्मनीको फिफा विश्वकप २०२६ यात्रा अप्रत्याशित रूपमा अन्तिम ३२ मै टुंगिएको छ। जर्मनीले १९५४, १९७४, १९९० र २०१४ मा विश्वकप उपाधि जितेको थियो। तर त्यसयता टोलीले लगातार निराशाजनक प्रदर्शन गर्दै २०१८ र २०२२ मा समूह चरणबाट तथा २०२६ मा अन्तिम ३२ बाटै बाहिरिन पुगेको छ।

अमेरिकाको बोस्टनमा आज बिहान सम्पन्न खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो। यस जितसँगै पाराग्वे अन्तिम १६ मा प्रवेश गरेको छ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट तय गरिएको थियो। जारी विश्वकपमा पेनाल्टी सुटआउटबाट निर्णय भएको यो पहिलो खेल पनि बनेको छ।

सुरुआती पाँच–पाँच पेनाल्टीमा दुवै टोलीले दुई–दुई प्रहार गुमाउँदा स्कोर ३–३ को बराबरीमा पुगेको थियो। त्यसपछि जर्मनीका जोनाथन टाहको छैटौं प्रहार बारमाथिबाट बाहिरिएपछि पाराग्वेका जोसे कानालेले निर्णायक पेनाल्टी गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।

त्यसअघि ४२औँ मिनेटमा जुलियो इनसिसोले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए। जर्मनीका काई हाभार्ट्जले ५४औँ मिनेटमा बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसक्दा विजेता पेनाल्टी सुटआउटबाट टुंगिएको हो।

पाराग्वेले अब अन्तिम १६ मा फ्रान्स र स्वीडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

Read More

अमेरिका र इरानबीच आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने

काठमाडौँ । अमेरिका र इरानबीच एकअर्कामाथि आक्रमण नगर्ने सहमति भएको छ र मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यले वार्ता निरन्तर अघि बढाइने एक अमेरिकी अधिकारीले आइतबार राति जानकारी दिएका छन् ।

जुन १७ मा भएको संवेदनशील समझदारीपत्रका बाबजुद पछिल्ला दिनमा दुवै देशका सेनाबीच फेरि आक्रमणहरू भएका थिए । फेब्रुअरीको अन्त्यतिर सुरु भएको यो द्वन्द्वले रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलडमरुमा ढुवानी प्रभावित गरेको थियो ।

उक्त समझदारीअनुसार तेहरानले व्यावसायिक जहाजहरूलाई जलडमरुबाट सुरक्षित आवतजावत गर्न दिने प्रतिबद्धता जनाएको थियो भने वाशिङटनले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने सहमति गरेको थियो ।

एक अमेरिकी अधिकारीका अनुसार “समझदारीका सबै विषयमा प्राविधिक वार्ता जारी रहनेछ, दुवै पक्षले अहिलेका लागि आक्रमण रोक्ने सहमति गरेका छन् र जहाजहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन् ।”

वार्ता कहिले र कहाँ हुने भन्ने औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन । तर अमेरिकी सञ्चारमाध्यम एक्सिओसका अनुसार दुई अमेरिकी अधिकारी र एक जानकार स्रोतले वार्ता मंगलबार कतारमा पुनः सुरु हुने बताएका छन् । सीएनएनले पनि ट्रम्प प्रशासनका एक अधिकारीलाई उद्धृत गर्दै यस्तै विवरण रिपोर्ट गरेको छ, जसअनुसार मंगलबार दोहामा थप वार्ता हुने अपेक्षा गरिएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आक्रमण जारी राखेमा सैन्य कारबाही गर्ने आफ्नो पुरानो चेतावनी दोहोर्‍याएका छन् । उनले शनिबार अमेरिका युद्धमा फर्किन बाध्य भए इरान “अस्तित्वमै नरहने” चेतावनी दिएका थिए ।

पाकिस्तानको मध्यस्थतामा युद्ध अन्त्य गर्ने समझदारी भएपछि पनि दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै बदलामा आक्रमण गरेका थिए ।

आइतबार बिहानको पछिल्लो झडपमा अमेरिकी सेनाले इरानका १० सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी गरेको थियो, जसलाई उसले व्यावसायिक जहाजमाथि इरानी आक्रमणको जवाफ भनेको छ । त्यसैगरी इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य शिविरहरूमा आक्रमण गरेको जनाएको छ ।

Read More

नेप्से परिसूचक सामान्य अंकले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौँ। साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यस दिन परिसूचक २ अंकले घट्दै २६४९.५१ विन्दुमा झरेको हो। कारोबारको क्रममा परिसूचक ८.५० अंकसम्म घटेर २६५१.५२ विन्दुमा पुगेको थियो। सो दिन कुल कारोबार रकम २ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो। यद्यपि नेप्से घटे पनि बिहीबारको तुलनामा कारोबार रकम भने वृद्धि भएको छ। यस दिन ३५९ वटा कम्पनीका ७७ लाख २७ हजार ६४९ कित्ता सेयर ३ अर्ब ९४ करोड ५८ लाख ४ हजार ५५२ रुपैयाँमा खरिद–बिक्री भएका छन्।

यस दिन स्नो रिभर्स, तस्कर पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो भने कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्, जसको सेयर मूल्य १०.७६ प्रतिशतले घटेको छ। कारोबारमा आएका ३५९ कम्पनीमध्ये ८५ वटाको मूल्य बढ्दा १७० वटाको घट्यो भने २० वटाको मूल्य स्थिर रह्यो। उपसमूहगत रूपमा होटल तथा पर्यटन, हाइड्रोपावर, म्युचुअल फण्ड, नन–लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक बढ्दा बाँकी समूहहरू नकारात्मक देखिएका छन्।

Read More

भेनेजुएला भूकम्प : २३५ जनाको मृत्यु, ठूलो क्षति

काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएला शक्तिशाली भूकम्पको श्रृंखलापछि गहिरो संकटमा परेको छ। प्रारम्भिक विवरणअनुसार कम्तीमा २३५ जनाको ज्यान गएको पुष्टि भएको छ भने हजारौँ घाइते भएका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार पहिले ७.२ म्याग्निच्युडको भूकम्प गएको केही क्षणमै ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली झड्का महसुस गरिएको थियो। सतहको नजिक (करिब १० देखि २० किलोमिटर गहिराइ) केन्द्रित यी भूकम्पले ठूलो स्तरको विनाश निम्त्याएको हो। सार्वजनिक बिदाको दिन साँझ करिब ६ बजे भूकम्प गएको हुँदा धेरै मानिस घरभित्रै रहेका थिए, जसले क्षतिलाई अझ गम्भीर बनाएको बताइएको छ।

भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजका अनुसार घाइतेको संख्या १,५०० नाघेको छ भने करिब ४० हजारभन्दा बढी व्यक्ति अझै सम्पर्कबाहिर रहेका छन्। उद्धारकर्ताहरूले भग्नावशेषमा फसेकाहरूको खोजी जारी राखेका छन्।

क्षतिको विवरणअनुसार तटीय सहर ला गुएरा सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ १० तले होटलसहित झण्डै २५० संरचना ध्वस्त भएका छन्। राजधानी काराकासस्थित माईक्वेटिया अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ठूलो क्षति पुगेपछि हवाई सेवा पूर्ण रूपमा स्थगित गरिएको छ।

लगातार पराकम्पन (३० भन्दा बढी) पछि सरकारले देशभर आपतकाल घोषणा गर्दै राहत तथा उद्धार कार्यलाई प्राथमिकतामा राखेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले प्रभावित क्षेत्रमा सबै स्रोत परिचालन गरिएको जानकारी दिएका छन्। विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा उद्धार कार्य थप जटिल बनेको छ भने सर्वसाधारण त्रासका कारण रातभर सडक तथा खुला स्थानमा बस्न बाध्य छन्।

यस संकटमा अमेरिका, मेक्सिको, कतार, अल साल्भाडोर र डोमिनिकन रिपब्लिकले उद्धार टोली र राहत सामग्री पठाउने घोषणा गरेका छन्। अमेरिकाले १५ करोड डलर बराबरको सहायता प्याकेजसहित विशेष उद्धार टोली र सैन्य सहयोग समेत परिचालन गर्ने जनाएको छ।

विशेषज्ञहरूका अनुसार यो भूकम्प सन् १९०० पछिकै भेनेजुएलामा सबैभन्दा विनाशकारी घटनामध्ये एक हो। प्रारम्भिक अनुमानहरूले क्षतिको दायरा अझै बढ्न सक्ने संकेत दिएका छन्, जसअनुसार मृतक संख्या उल्लेखनीय रूपमा वृद्धि हुन सक्ने जोखिम पनि रहेको बताइएको छ। उद्धार कार्य अझै जारी छ र अवस्था क्रमशः जटिल बन्दै गएको छ।

Read More