२०८३ कार्तिक ९

सुशासन र जवाफदेहिता सुनिश्चित गर्न सरकारलाई सुशीला कार्कीको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा सुशासन, जवाफदेहिता, पारदर्शिता र विधिको शासन सुनिश्चित गर्न सरकारलाई आग्रह गरेकी छन्। परिवर्तनको माग गर्दै युवाहरू फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सरकारले नागरिकका अपेक्षा र आवाजलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा उनले जोड दिएकी छन्।

जेन–जी आन्दोलनको पहिलो वार्षिकोत्सवका अवसरमा सन्देश जारी गर्दै कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।

सुशासन, जवाफदेहिता र उज्ज्वल भविष्यको माग गर्दै आन्दोलनमा उत्रिएका युवाहरूका माग दबाउने प्रयास हुँदा निर्दोष युवाहरूले ज्यान गुमाउनुपरेको उनले बताएकी छन्। आन्दोलनका क्रममा धेरै युवा गम्भीर घाइते भएको र उनीहरूले जीवनभर अपांगताको सामना गर्नुपरेको पनि कार्कीले उल्लेख गरेकी छन्।

कार्कीले जेन–जी आन्दोलनलाई नेपालको इतिहासमा गहिरो घाउका रूपमा चित्रण गर्दै आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिका साथै राष्ट्रिय सम्पदामा समेत ठूलो क्षति पुगेको बताएकी छन्।

यस्ता घटना पुनः दोहोरिन नदिन सबै सरोकारवालाले इमानदारी, जिम्मेवारी र सतर्कतापूर्वक आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा उनले जोड दिएकी छन्।

जेन–जी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको उल्लेख गर्दै कार्कीले संसद्मा दुई तिहाइ बहुमत हुँदैमा मात्र राजनीतिक स्थायित्व सुनिश्चित नहुने बताएकी छन्।

उनले भनेकी छन्, “सुशासनको अभावमा संसद्मा दुई तिहाइ बहुमत भए पनि स्थायित्व सुनिश्चित हुन सक्दैन। राजनीतिक स्थायित्व संसद्को अंकगणितले होइन, सत्तामा रहेकाहरूको चरित्र र कार्यशैलीले निर्धारण गर्छ।”

सरकारले सुशासन सुदृढ गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, विधिको शासन कायम गर्न तथा नागरिकको सम्मान र अधिकार सुनिश्चित गर्न प्रभावकारी कदम चाल्नुपर्ने कार्कीले बताएकी छन्।

जेन–जी आन्दोलन र त्यसबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै मुलुकले भोटेकोशी बाढीका रूपमा अर्को ठूलो संकट सामना गरिरहेको पनि कार्कीले उल्लेख गरेकी छन्।

विपद्को सामना गर्न राष्ट्रिय एकताको आह्वान गर्दै उनले भनेकी छन्, “एकअर्काको साथ दिऔँ, एकअर्काको पीडा कम गरौँ र एकताबद्ध भएर विपत्तिको सामना गरौँ।”

Read More

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक मंगलबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।

उनका अनुसार बैठकमा पार्टीको आन्तरिक निर्वाचनसँग सम्बन्धित आगामी रणनीति, आवश्यक तयारी तथा निर्वाचन प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउने विषयमा छलफल हुनेछ। पछिल्लो समय पार्टीका विभिन्न तहका अधिवेशन तथा निर्वाचनसम्बन्धी कार्यतालिकामा देखिएको परिवर्तनका विषयमा समेत बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले भदौ २४ गतेका लागि तय गरिएको वडा अधिवेशन असोजको पहिलो साता गर्ने निर्णय गरेको थियो। वडा अधिवेशनको नयाँ कार्यतालिका र त्यसअनुसार गर्नुपर्ने तयारीबारे पनि निर्वाचन समितिको बैठकमा छलफल हुने बताइएको छ।

Read More

जेन्जी सहिद दिवस

काठमाडौं । आज देशभर ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ। गत भदौ २३ गते भएको ‘जेन्जी’ आन्दोलनले नेपालको राजनीतिक घटनाक्रममा ठूलो परिवर्तन ल्याएको थियो। आन्दोलन चर्किएपछि तत्कालीन सरकार विघटन भएको थियो भने त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन गरिएको थियो।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको योगदान, साहस र बलिदानको स्मरण तथा सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। आन्दोलनमा जीवन गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न कार्यक्रम आयोजना गरिने भएका छन्।

सरकारले यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकमार्फत आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सरकारले ‘जेन्जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्मान र स्मृतिलाई संस्थागत गर्ने उद्देश्यले सहिद दिवसका रूपमा यो दिन मनाउने निर्णय गरेको हो।

Read More

संसद् बैठक चलिरहेका बेला सांसद भरत खड्का ढले

काठमाडौँ। संसद् बैठक चलिरहेका बेला नेपाली कांग्रेसका सांसद भरत खड्का अचानक ढलेका छन्।

बिहीबार जारी प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले बोलिरहेका बेला खड्का आफू बसिरहेको कुर्सीमै ढलेका हुन्। खड्का ढलेपछि सभामुख डोलप्रसाद अर्यालले शर्मालाई केही समय बोल्न रोकेका थिए।

संसद् बैठकको प्रत्यक्ष प्रसारणमा कांग्रेसका सांसदहरू हतारिँदै खड्कातर्फ आएको देखिएको थियो।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार ब्लड प्रेसरका कारण खड्का बसिरहेकै अवस्थामा ढलेका हुन्।

लेखा समितिका सभापतिसमेत रहेका खड्कालाई उपचारका लागि वीर अस्पताल लगिएको छ।

Read More

बाढीपहिरो पीडितका लागि छुट्टै संयन्त्र नबनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढीपहिरो पीडितको उद्धार तथा राहत वितरणका लागि छुट्टै संयन्त्र नबनाउने निर्णय गरेको छ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समसामयिक परिस्थिति, विपद् व्यवस्थापन तथा राहत वितरणका विषयमा छलफल गर्दै सरकारको कामलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने निष्कर्ष निकालेको हो।

सचिवालय सदस्य लिमा अधिकारीका अनुसार बैठकमा करिब एकदेखि डेढ घण्टासम्म विपद् व्यवस्थापन र राहत वितरणकै विषयमा छलफल भएको थियो।

उद्धार तथा तत्कालीन राहत वितरणको काम सकिएपछि पार्टीका जनप्रतिनिधि तथा केन्द्रीय सदस्यहरू सबै गुमाएका पीडितको घरदैलोमै पुग्ने योजना रहेको उनले जानकारी दिइन्।

सर्वदलीय बैठकमा भएको सहमतिअनुसार प्रदेश तथा स्थानीय सरकारको समन्वयमा राहत वितरण गरिने र त्यसमा रास्वपाले सरकारलाई नै सहयोग गर्ने अधिकारीले स्पष्ट पारिन्।

Read More

सडक सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकता दिन कुलमान घिसिङको सुझाव

काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवाको स्याफ्रुबेँसीसम्म सडक सम्पर्क पुनःस्थापना तथा बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन्।

प्रभावित क्षेत्रको स्थलगत भ्रमणपछि बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहलाई उद्धार, राहत तथा पुनर्स्थापनासम्बन्धी लिखित र मौखिक सुझाव प्रस्तुत गर्दै घिसिङले हेलिकप्टरमा मात्र निर्भर नभई स्याफ्रुबेँसीसम्म सडक सम्पर्क तत्काल सञ्चालनमा ल्याउन र बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन आग्रह गरेका हुन्।

बाढीका कारण सडक सम्पर्क विच्छेद हुँदा आवश्यक उपकरण तथा राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन ढिलाइ भएको र हेलिकप्टरमार्फत सामग्री ढुवानी गर्दा थप कठिनाइ भएको उनले बताए।

घिसिङका अनुसार प्रभावित क्षेत्रका बालबालिका, महिला तथा ज्येष्ठ नागरिकको स्वास्थ्य र सामाजिक सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको छ। बालबालिकालाई काठमाडौं ल्याएर आवश्यक व्यवस्थापन गर्ने विषयमा समेत छलफल भएको उनले जानकारी दिए।

त्यस्तै, नदी किनारमा मात्र नभई जोखिम मूल्याङ्कन गरी सुरक्षित स्थानमा सडक तथा अन्य पूर्वाधार निर्माण गर्नुपर्नेमा उनले जोड दिए। क्षतिग्रस्त तथा निर्माणाधीन आयोजनालाई शीघ्र सञ्चालनमा ल्याउन र निजी क्षेत्रका समस्या समाधान गर्न सरकारले विशेष राहत प्याकेज घोषणा गर्नुपर्ने सुझावसमेत दिइएको उनले बताए।

मुलुक संकटमा परेको अवस्थामा राजनीतिक मतभेदभन्दा माथि उठेर सरकारलाई पूर्ण रूपमा सहयोग गर्न आफूहरू तयार रहेको प्रतिबद्धता पनि जनाइएको घिसिङले बताए।

भेटका क्रममा प्रधानमन्त्री शाहले नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताएका थिए। प्रधानमन्त्रीसँग अन्य राजनीतिक लगायतका विषयमा पनि सकारात्मक छलफल भएको घिसिङले जानकारी दिए।

Read More

रास्वपाको सचिवालय बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय घण्टीघर, बनस्थलीमा बस्नेछ ।

सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल हुने प्रवक्ता खरेलले जानकारी दिए ।

Read More

भोटेकोशी विपत्तिमा सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपत्तिको अवस्थामा सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा दलीय आधारमा मन्तव्य राख्दै प्रचण्डले संकटका बेला सरकार जनताको साथमा उभिनुपर्ने बताए। उनले भोटेकोशी बाढीबाट उत्पन्न विपत्तिको सामना गर्न तीनै तहका सरकार, जनप्रतिनिधि, नागरिक समाज तथा आमनागरिकलाई विश्वासमा लिएर परिचालन गर्नुपर्नेमा जोड दिए।

“भोटेकोशी महाविपत्तिको सामना गर्न सबै तहको सरकार, जनप्रतिनिधि, नागरिक समाज र आमनागरिकलाई विश्वासमा लिएर परिचालन गर्नुपर्छ,” उनले भने, “सुरक्षाकर्मी परिचालनले मात्रै पुग्दैन, सँगसँगै जनपरिचालन पनि गर्नुपर्छ।”

प्रचण्डले संघ, प्रदेश र स्थानीय सरकारसँगै जनप्रतिनिधिलाई समेत विपद्का बेला थप सक्रिय बनाउनुपर्ने बताए।

२०७२ सालको भूकम्पलगायत राष्ट्रिय संकटका बेला आफूहरूले विपक्षीका रूपमा सरकारलाई साथ दिएको स्मरण गर्दै उनले बाढीपछि खोज, उद्धार र राहत वितरणमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए।

“बाढीपछिको उद्धारमा कमी–कमजोरी देखिए त्यसलाई सच्याएर जानुपर्छ। राहत, तत्काल पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणमा सरकार गम्भीर बन्नुपर्छ,” प्रचण्डले भने।

राष्ट्रिय एकता, समन्वय र सहकार्यको नेतृत्व गर्ने अवसर सरकारसँग रहेको भन्दै उनले यसतर्फ सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी गम्भीर हुनुपर्ने बताए।

प्रचण्डले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा जोखिम बढ्दै गएको उल्लेख गर्दै नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको विषयलाई थप सशक्त रूपमा उठाउनुपर्नेमा समेत जोड दिए।

Read More

रवि लामिछाने र चिनियाँ राजदूत माओ मिङबीच भेट, विपद् व्यवस्थापनमा सहकार्यबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच भेटवार्ता भएको छ।

लामिछानेको बूढानीलकण्ठस्थित निवासमा बुधबार दिउँसो भएको भेटमा राजदूत माओले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

भेटमा उनले खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्मका काममा चीन नेपालसँगै रहेको बताए। नेपाललाई आवश्यक जुनसुकै सहयोग उपलब्ध गराउन चीन तयार रहेको जानकारी पनि उनले गराएको लामिछानेको सचिवालयले जनाएको छ।

राजदूत माओले विपद् लगत्तैदेखि चीनले उद्धारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक जनशक्ति तथा सहयोग नेपाल पठाउँदै आएको र आवश्यकता रहेसम्म सहयोग जारी राख्ने बताएका थिए।

भेटमा लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा थप सहकार्यका लागि आग्रह गरे।

भेटमा नेपालमा विपद् जोखिम न्यूनीकरण, उद्धार, राहत तथा पुनर्निर्माणका क्षेत्रमा नेपाल–चीन सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको बताइएको छ।

Read More

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दैछ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठकमा समसामयिक तथा महत्वपूर्ण विषयमा छलफल हुने कार्यसूची रहेको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान साढे ९ बजे बस्नेछ। बैठकमा रसुवामा आएको बाढी तथा पहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावका विषयमा छलफल गरिने कार्यसूची रहेको छ। बाढीपहिरोका कारण पर्यटन पूर्वाधार, पर्यटकीय गन्तव्य तथा पर्यटन व्यवसायमा परेको असरका विषयमा समितिले छलफल गर्नेछ।

विधायन व्यवस्थापन समितिको बैठक मध्याह्न सवा १२ बजे बस्नेछ। बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ। समितिले विधेयकका विभिन्न प्रावधानमाथि छलफल गरी आवश्यक सुझाव तथा संशोधनका विषयमा समेत विचार गर्नेछ।

Read More